भोजपुर ।  भोजपुरमा करदाताको सख्या ६ हजार चार जना पुगेको छ । जिल्लामा कार्यालय स्थापना हुँदा तीन हजार ८ सय ९३ करदाता रहेकोमा अहिले थपिएर ६ हजार ४ जना पुगेको हो । कार्यालय स्थापना भए पछि भोजपुरका सेवाग्राहीलाई सेवा लिन तिन दिन लगाएर धरान धनकुटा जानुु पर्ने बाध्यता हटेको छ ।

कर कार्यालय रहेको स्थान नजिकै राजस्व जम्मा गर्नका लागि बैङ्कको शाखा नहुँदा भने केही समस्या हुने गरेको सेवाग्राहीको गुुनासो छ । कार्यालय रहेको पानीट्याङकीबाट जिरोप्वाइन्टमा रहेको बैक सम्म पुुग्न आधा घण्टा बढी समय लाग्नुुका साथै उकालो ओरालो गर्दा हैरानी बेहोर्नु परेको रामप्रसादराइ गाउपालिलका ७ बासिखोराकी सन्चामाया राईले बताईन ।

यस्तै भोजपुरमा गत आर्थिक बर्ष २० करोड बढी राजस्व संकलन भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७८÷७९ मा २० करोड बढी राजस्व सकलन भएको हो । वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायत करबाट २० करोड, १० लाख, ७४ हजार राजस्व सकलन भएको करदाता सेवा भोजपुरका कर अधिकृत संगम गुरुङले बताए ।

करदाता सेवा कार्यालयमा अनलाइन सेवा समेत सञ्चालन भएकाले २० लाख सम्मको कारोबार गर्ने निजी फर्म तथा उद्यमीहरूले अनलाइन सेवा मार्फत घरबाटै कर तिर्न सक्ने ब्यावस्था मिलाइएको छ । जिल्लामा कर कार्यालय स्थापना भए पछि करदाताहरूको सङ्ख्या वृद्धि भई राजश्व सकलन समेत बढेको हो ।

करदाताको सङ्ख्यामा वृद्धि भई राजश्व संकलन बढे पनि दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवाग्राहीको चाप धेरै भएको बेला कार्यालय समय पछि पनि सेवा दिई रहेको अधिकृत गुरुङले जानकारी दिए ।

अधिकृत गुरुङका अनुसार कार्यालयमा एक जना अधिकृत, दुई जना नायव सुब्बा, एक जना कम्प्युटर अपरेटर, एक जना सवारी चालक, र एक जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । नासु, कम्प्युटर अपरेटर दरबन्दी खाली रहेकाले करार तथा काजमा ल्याएर काम गर्नुु पर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ ।