विजयपुर । सहकारी विभागले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र लेखापरीक्षण अनिवार्य गर्न सहकारी संस्थाहरूलाई निर्देशन गरेको छ । 

बिहीबार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले मार्गदर्शन जारी गर्दै आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । विभागले सहकारीको साधारणसभा मितव्ययी बनाउन पनि निर्देशन गरेको छ । साधारणसभा भड्किलो र खर्चिलो नहुने गरी मितव्ययी ढङ्गबाट सञ्चालन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

विभागले साधारणसभाको सूचना प्रकाशन गर्दा तीस दिनअगावै प्रस्तावसहितको सार्वजनिक सूचना जारी गर्न सहकारी संस्थाहरूलाई निर्देशन जारी गरेको छ । सहकारी संस्थाहरूले साधारणसभाको आयोजना गर्दा सबै सदस्यहरूलाई जानकारीमूलक तथा संस्थाको गतिविधि अवगत हुने गरी आयोजना गर्न विभागले नयाँ निर्देशन जारी गरेको हो । 

साधारणसभा सम्पन्न भएको १५ दिनभित्र साधारणसभाका निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, लामो फाराम प्रतिवेदनसहित नियामक निकायमा अनिवार्य पेश गर्न भनिएको छ । सबै सङ्घ–संस्थालाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न पनि निर्देशन गरेको छ । कार्यक्षेत्र फराकिलो भएका सहकारी धेरै सदस्यको सहभागिता हुने गरी ७ वटासम्म इकाई गठन गरी सभा सम्पन्न गर्नुपर्ने भन्ने उल्लेख छ ।