सुनसरी । सुनसरीको कोसी गाउँपालिका वडानम्बर ७ स्थित हरिपुरमा किसानको खेतमा सिंचाइ पु¥याउने उद्देश्यले बनाएको नहरमा पानी नआएको वर्षौं भयो । लाखौं रुपैयाँ खर्च गर्दै बनाएको नहरमा वर्षौंदेखि पानी नआउने गरेकाले आकाशे पानीको भरमा खेती गर्नुपरेको किसानहरूले गुनासो गरेका छन् । सप्तकोसी नजिकै भए पनि नहरमा पानी नआउने हुँदा बोरिङबाट धान बालीमा सिंचाइ गर्ने गरेको स्थानीय किसान बताउँछन् ।

कोसी क्षेत्रका किसानहरूलाई सिंचाइ समस्यासँगै मल पनि नेपाली बजारमा पर्याप्त मात्रामा नपाएपछि भारतीय बजारबाट ल्याएर खेतीपाती गर्दै आएको किसान सकलदेव यादवले जानकारी दिए । आकाशे पानीको भरमा धान खेती गरेका कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्जसहितका स्थानीय तहका किसानहरू अहिले स्वदेशमै पर्याप्त मात्रामा नपाइने भएपछि धानमा हाल्ने मलका लागि भारतीय बजार धाउने गरेका छन् ।

धान र गहुँ बालीको लागि उर्वरभूमि मानिने क्षेत्रका किसानको लागि यो नौलो समस्या भने होइन । समयमा बिउ, मल नपाउनु र सप्तकोसी नजिकै भए पनि सिंचाइको सुविधा नहुँदा यस क्षेत्रका किसान बोरिङ वा आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । ‘सधैँ भारतबाटै बिउ र मल ल्याएर खेती गरेका छौं’–कोसी गाउँपालिका–६ श्रीपुरका किसान रामदेव यादवले भने । मल र बिउ भारतीय बजारबाट ल्याएर खेती गर्दै आए पनि सिंचाइ सुविधासमेत नहुँदा सोचेअनुसार उत्पादन नभएको उनको कथन छ् ।

‘धान र गहुँ खेतीको उर्वरभूमिका किसानले सिंचाइ सुविधा पाउँदैनन्, सरकारले अनुदानमा दिने मल र बिउ हुनेखाने तथा पहुँचवालाले पाउँछन्’–यादवले भने । साविकका चारवटा गाविस मिलेर बनेको कोसी गाउँपालिकामा ५ सय हेक्टरमा धान र गहुँ खेती हुने गरेको कृषि सेवा केन्द्र लौकहीले जनाएको छ । ८ वटा वडा भए पनि ५ वडामा मात्र उत्पादन हुने गरेको छ ।

२०६५ साल भदौ २ गते आएको बाढीले साविकको श्रीपुर र पश्चिम कुसाहा गाविस अर्थात् कोसी गाउँपालिका वडा नम्बर ४ र ३ मा धान उत्पादन भएको छैन भने वडानम्बर ५ मा केही हेक्टरमा मात्र उत्पादन हुने गरेको कृषि सेवा केन्द्र लौकहीका सुनिल साहले बताए । 

स्थानीय सरकारले कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखे पनि खेती लगाएको समयमा किसानहरूले मलका लागि हैरानी खेप्नुपरेको छ । भारतीय बजारबाट बिउ र मल भिœयाउँदा कमसल भएकोले उत्पादनमा समेत कमी आउने गरेको किसान बताउँछन् । पर्याप्त सिंचाइ सुविधा नहुँदा यो वर्ष कस्तो प्रतिफल आउनेबारे किसान चिन्तित छन् ।

वास्तविक किसानलाई अनुदानमा वितरण गर्नुपर्नेमा सहकारी संस्थाहरूले त्यसो नगर्ने र भनसुनका आधारमा वितरण गरेकोले सीमावर्ती क्षेत्रका किसानले स्वदेशमै मल पाउन नसकेको अर्का किसान रहसुल मन्सुरीको बुझाइ छ । केही किसानले अनुदानमार्फत् आएको बिउ र मल पाए पनि केहीले निजी उत्पादन कम्पनी र अधिकांशले भारतीय बजारबाट भिœयाउने गरेका छन् । पैसा तिरेर सजिलोसँग पाउने र सीमावर्ती क्षेत्रमा तैनाथ प्रहरीले सहज रूपमा मल ल्याउन दिने गरेकोले भारतीय बजारबाटै किसानले मल ल्याउने गरेको उनले जानकारी दिए । सीमावर्ती क्षेत्रबाट एक किसानलाई २५ केजी मल ल्याउन सुरक्षाकर्मीले छुट दिने गरेको उनको भनाइ छ । 

नेपाली बजारभन्दा भारतमा सस्तोमा पाइने गरेकोले उतैबाट मल ल्याउने गरिएको किसानको भनाइ छ । भारतीय बजारबाट १२ सय भारुमा ल्याउने ५० केजी डिएपीलाई नेपालमा २३ सयदेखि २५ सयसम्म पर्ने गरेको किसान बताउँछन् । त्यस्तै भारतमा ३ सयदेखि ३ सय ५० भारुमा पाइने युरिया नेपालमा ८ सयदेखि ९ सयसम्म पर्ने गरेको  बताइएको छ  ।

केही किसानले आफै भारतीय बजारबाट मल ल्याउने गरे पनि अधिकांश अवैध रूपमा भारतबाट भित्रिने गरेको छ । खुल्ला सीमाको फाइदा उठाएर किसानका नाममा दैनिक मल भिœयाउने गिरोह नै सक्रिय रहेको स्थानीय बताउँछन् । किसानलाई भारतबाट मल ल्याउन छुट दिए पनि किसानका नाममा दैनिक अवैधरूपमा मल भिœयाउनेलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने गरिएको प्रहरीले जनाएको छ ।