विजयपुर । वराह सहकारी पीडित सङ्घर्ष समितिले भदौ १६ गतेदेखि पीडितहरूले हुलहुज्जत गालीगलौज झै–झगडा तोडफोड गरेमा जिम्मेवारी नलिने बताएको छ ।

मङ्गलबार समितिले वराहकै हलमा पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार वराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले भदौ १६ गते नगद वितरण गर्न नसक्ने भन्दै हुलहुज्जत, गाली गलौज, झगडा वा तोडफोड नगर्न सबैमा आग्रह गरेको छ ।

तर, तोडफोड भएमा वराह सहकारीका सञ्चालक नै जिम्मेवार हुनुपर्ने पनि समितिले जनाएको छ । सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष श्यामप्रसाद ढकालले भदौ १६ गतेदेखि पैसा फिर्ता गर्न सुरु गर्ने लिखित करारनामा गरेका वराह सहकारीका सञ्चालक र सङ्घर्ष समितिबीचको वार्ता असफल भएको बताए । उनका अनुसार आइतबार भएको वार्तामा भदौ १६ गते रकम वितरण गर्न नसक्ने कुरा वराह सञ्चालकहरूबाट आएको छ ।

वार्ताको क्रममा सञ्चालकहरूले आफूहरू सुरक्षित हुने मनसायले संयुक्त विज्ञप्ति जारी गरौं भन्ने प्रस्ताव ल्याएको पनि सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष ढकालले बताए ।

सञ्चालकहरूले बचतकर्ताहरूको पैसा ७–८ वर्षमा तिरिसक्ने बताएको जानकारी दिए । सङ्घर्ष समितिको तर्फबाट वार्ता टोलीका संयोजक शङ्कर थापाले सञ्चालकहरूले सबै जग्गाजमिन बैङ्कमा राखेर ऋण लिने प्रक्रियामा रहेको बताए । उनले एकै पटक सबै जग्गाजमिन फुकुवा गरिदिनू भन्ने दबाव दिएको बताउँदै भने, ‘सञ्चालकले रकम भुक्तानी गर्ने आधार नदिएकाले तत्काललाई वार्ता स्थगित गरिएको हो । अप्रिय घटना भएमा त्यसको जिम्मेवारी स्वयम् वराह सहकारीका सञ्चालकहरूले लिनुपर्ने पनि सङ्घर्ष समितिले जनाएको  छ ।

साथै, सङ्घर्ष समितिले सहकारी ऐन २०७५ बमोजिम सहकारीलगायत सञ्चालकहरू, उनीहरूका परिवारसमेतको सम्पत्ति र लुकाइएको सम्पत्ति छानबिन गरी समस्याग्रस्त सहकारी घोषणा गर्न पनि माग गरेको छ ।