धरान । निजी दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले केही ब्रान्डका मोबाइल सेटमा ‘एनसेल भोल्टे’ सेवा प्रारम्भ गरेको छ । भोल्टेको अर्थ ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ हो ।

यो एक प्रकारको उच्च गुणस्तरयुक्त भ्वाइस कल सेवा हो । जसलाई सामान्य भाषामा ‘एचडी’ भनिन्छ । भोल्टे सेवा लिनका लागि तीन ब्रान्डका केही मोबाइल सेटमा मात्रै यो सेवा लिन पाउने जनाइएको छ ।

कम्पनीका अनुसार सामसङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र हुवावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा सेवा सुरु भएको हो ।

यसका लागि एनसेलको फोरजी सिम अर्थात् युसिम आवश्यक पर्छ । यो सेवा लिन ग्राहकले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरी सेवा सञ्चालन गर्न सक्ने जनाइएको छ ।