बिर्तामोड । सेवक बिजनेस प्रालिले प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरी अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा ल्याएको छ । काठमाडौँको अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै आफ्नो सेवा प्रदान गर्ने सञ्चालक दिपक चौहानले जानकारी दिए ।
तीनजना युवा व्यवसायी सन्तोष मगर, चौहान र तिलक राईले अनलाइन सवारी सेवा सेवक सञ्चालनमा ल्याएका हुन् । यो सेवा बिर्तामोड, काँकरभिट्टा, दमक, इटहरी, धरान, विराटनगरमा उपलब्ध हुनेछ ।
पहाडी जिल्लाका ठुला सहरमा पनि सेवा विस्तारका लागि छलफल चलिरहेको सञ्चालकले बताएका छन् । सञ्चालक चौहानले समय र दूरीका आधारमा भाडादर निर्धारण गरिएको बताए । यो सेवा लिनका लागि यात्रुले आफ्नो मोबाइलमा सेवक प्रोभाइडर एप डाउनलोड गर्नु पर्नेछ । ‘मोबाइल एपमार्फत् सेवाग्राहीले गाडी बुकिङ गर्न सक्नुहुन्छ’, उनले भने, ‘सवारी साधन आवश्यक भएकाहरुले घरमै बसेर सेवा लिन सक्नेछन् ।’
अर्का सञ्चालक तिलक राईले अनलाइनमार्फत मोटरसाइकल, अटो र ट्याक्सी बुक गर्न सकिने बताए । उनले विद्युतीय सवारीलाई प्राथमिकता दिएर भाडादर घटाउने आफूहरुको योजना रहेको पनि सुनाए । त्यस्तै, अर्का सञ्चालक सन्तोष मगरले आफूहरुसँग हाल २ सय वटा मोटरसाइकल, ५० वटा अटो र ८० वटा ट्याक्सी सेवा दिनका लागि तयारी अवस्थामा रहेको बताए ।