बेलबारी । मोरङको डाँगीहाटमा करिब ५० करोड लगानीमा आरजु राइस मिल सञ्चालनमा आउने भएको छ ।
मोरङको बेलबारी–९ मा कृषि फर्म सञ्चालन गरिरहेका बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अत्याधुनिक उपकरणयुक्त राइस मिल सञ्चालनमा ल्याउन लागेका हुन् ।
मिल मङ्सिर महिनादेखि सञ्चालनमा आउने मिलका जेनरल मेनेजर विवेकानन्द झाले बताए । मिलले मोरङका विभिन्न ठाउँबाट कृषकले उत्पादन गरेको धानलाई कात्तिक महिनादेखि खरिद गर्न सुरु गर्ने झाले बताए । उक्त मिलमा अहिले उपकरण जडानको कार्य अन्तिम चरणमा रहेको छ ।
मिलले कृषकसँग सिधै धान खरिद गर्नेछ । मिलले मोरङ र आसपास जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्ड दिएर नेपाली बजारमा पठाउने लक्ष्य राखेको मेनेजर झा बताउँछन् ।
मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकाले हिउँदे धानमा करिब ४ हजार बिघा तथा चैते धानमा १२ सय बिघाका किसानलाई सहभागी गराउने लक्ष्य रहेको छ । हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ ।
जसमा बङ्गलादेशबाट ल्याइएको बिआरआरआई ७५, बिआरआरआई ८५, रवि धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पंजाब बासमती भारतबा ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२८, मराठी जीरा, पिआरआई १२६ र नेपाली धानमा पहाडे बासमती, हार्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका धान लगाइएको जेनरल मेनेजर विवेकानन्द झाले जानकारी दिए ।
आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढ्वाङहरू साढे ३ हजार मेट्रिक टन क्षमताका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी प्रविधिमा गरिएको छ ।
स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिल खुलेकोले कृषकहरूका साथै स्थानीय हर्षित रहेको बेलबारी–९ का वडाध्यक्ष सालिकराम बस्नेत बताउँछन् । मिल खुले सँगै कृषकले धानको उचित मूल्य पाउने भएपछि आफूलगायत सिङ्गो नगर हर्षित रहेको वडाध्यक्ष बस्नेत बताउँछन् ।