सुनसरी । चाडपर्वलाई लक्षित गरेर सुनसरीका सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले सक्रियता बढाएका छन् ।
जिल्लामा दसैं, तिहारजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू भएसँगै सीमावर्ती क्षेत्रहरूमा समेत सुरक्षाकर्मीले सक्रियता बढाएका हुन् ।
चाडपर्वको बखत सीमावर्ती क्षेत्रका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउँदै भयरहित, सुरक्षित, सभ्य र मर्यादित बनाउन सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी सक्रियताका साथ परिचालन गरिएको सशस्त्र प्रहरी बल बाहिनी प्रदेश नम्बर १ का प्रमुख डिआइजी कमल गिरी बताउँछन् । खुला सीमाको फाइदा उठाउँदै मुख्य चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि, चोरीपैठारी, मानव बेचबिखनजस्ता क्रियाकलाप रोकथाम गर्न सशस्त्र प्रहरी खटाइएको उनको भनाइ छ ।
यसैबीच सीमावर्ती क्षेत्रहरूमा सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर स्थानीयस्तरमा वडाध्यक्षको नेतृत्वमा सीमा निगरानी समितिसमेत गठन गरेको छ ।
सीमावर्ती क्षेत्रमा अवस्थित रहेका बिओपीहरूले वडास्तरमा निगरानी समिति गठन गरी सीमा स्तम्भको निगरानी, लागूऔषध ओसार–पसार, मानव बेचबिखन, हातहतियार तथा चोरीपैठारी न्यूनीकरण तथा नियन्त्रणको लागि सूचना आदान–प्रदान गर्ने कार्य गरिने जनाइएको छ ।
सोही समिति गठन गर्दै सशस्त्र प्रहरी बल नेपाल भण्टाबारीले सीमा निगरानीसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त छलफलबाट कोसी गाउँपालिका–८ का वडाध्यक्ष बलराम क्षेत्रीको संयोजकत्वमा ७ जनाको निगरानी समितिसमेत गठन गरिएको छ । सो समितिले सीमामा हुने आपराधिक गतिविधिका साथै चाडपर्वको समयमा सीमाक्षेत्रका बासिन्दाहरूको शान्तिसुरक्षा कायम राख्न भूमिका निर्वाह गर्ने वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल श्रीपुरले पनि सीमा निगरानीसम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा स्थानीयस्तरबाट सीमावर्ती क्षेत्रमा चाडपर्वको बखत अपनाउन सकिने सुरक्षा रणनीतिको सम्बन्धमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा भारतीय बजारमा निर्भर छन् ।
यता डिआइजी गिरीले सीमामा शान्ति सुरक्षाको सवालमा नागरिकको पनि साथ सहयोग लिएर आगाडि बढ्ने र नागरिकलाई कुनै पनि किसिमको अप्ठ्यारो परेको खण्डमा सशस्त्र प्रहरी हरपल सहयोग गर्न तयार रहेको दाबी गरे । सुनसरीमा साढे ६२ किलोमिटर खुला सीमा रहेको छ ।