विजयपुर । वराह ग्रुप अफ कम्पनी र वराह सहकारी संस्थाका पीडितहरूले सञ्चालकहरूसँग सहकार्य गरी वराह सञ्चालन गर्ने प्रक्रिया सुरु गरेका छन् ।
शनिबार वराह ग्रुप अफ कम्पनीको हलमा पत्रकार सम्मेलन गर्दै वराह ग्रुप अफ कम्पनी र वराह सहकारीसँग सहभागिता एवम् सहकार्य गर्नेबारे पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । वराह सञ्चालनका लागि पीडित सङ्घर्ष समितिले आफ्ना शर्त धरान उपमहानगरलाई बुझाउने भएको छ । समितिले आइतबार आफ्ना शर्तहरू नगरमा बुझाउने जनाएको छ । वराह ग्रुप अफ कम्पनी र सहकारी सञ्चालकहरूले पनि नगरमा आधार पेश गर्ने समितिले जनाएको छ ।
पीडित सङ्घर्ष समितिका शर्तहरू र सञ्चालकका आधारहरू नगरले अध्ययन गरेपश्चात् वराह सञ्चालन गर्ने निर्णय गर्नेछ । शुक्रबारदेखि नै सामान्यरूपमा वराहको ढोका खुलेको छ । पीडितहरू र सञ्चालकको सहमतिमा हस्ताक्षर भएपछि पूर्णरूपमा सञ्चालनमा आउने समितिको भनाइ छ । समितिले गरेको पत्रकार सम्मेलनमा वराहका सञ्चालकहरू भने उपस्थित थिएनन् ।
वराह पीडित सङ्घर्ष समितिका प्रवक्ता रामबहादुर परियार, सचिव शारदा खड्का र संयोजक श्यामप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा वराह सहकारी पीडित सङ्घर्ष समितिले वराह सहकारी र वराह ग्रुपका सञ्चालकहरूले सम्झौता कार्यान्वयन नगरेको उल्लेख छ ।
समितिले सहकारीको रकम डुब्नुमा सञ्चालक, विभागीय प्रमुखहरूको अनावश्यक खर्च, विलासिता रहन–सहन, अपरिपक्व क्रियाकलाप, महŒवकाङ्क्षी निर्णय, धितोको मूल्याङ्कन विनाको कर्जा वितरण, आफ्ना र पहुँचवालाहरूलाई जथाभावी रकम वितरण, शेयर सदस्यहरू र बचतकर्ताहरूलाई जानकारी, सहमति विना ठूला लगानी गरी अपचलन गरेको निष्कर्ष निकालेको छ ।
यस्तै शेयरसदस्यहरू र बचतकर्ताहरूले साविककै सञ्चालकहरूको एकलौटी भरोसा गरेमा हालसम्म रहेको सम्पत्तिहरू पनि शून्यमा पुग्ने खतरा देखिएको जनाएको छ । वराहलाई सञ्चालन गर्न पीडित शेयर सदस्यहरू तथा बचतकर्ताहरूभित्रैबाट इमान्दार, अनुभवी र योग्य समूह गठन गरी धरान नगरसमेतको सक्रिय निगरानी र सहभागितामा कोषको निर्माण गर्ने विज्ञप्तिमा उल्लेख छ । साथै रोक्का भएका जग्गाहरूलाई बिक्री गर्नुपर्ने सम्पत्ति मात्र आवश्यकतानुसार फुकुवा गर्दै जाने जनाएको छ ।
समिति गठन गरी अपचलन भएको सम्पत्तिहरूको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ । वराह ग्रुप अफ कम्पनी र वराह सहकारी सञ्चालन निर्देशिका तर्जुमा गरी सुरुमा आपतकालीन तथा अत्यावश्यक भएका बचतकर्ताहरूलाई निरीक्षण र अनुगमन गरी प्राथमिकताको आधारमा केही प्रतिशत भुक्तानी गर्ने जनाएको छ । वराह, नगरपालिका र पीडितहरूको त्रिपक्षीय सम्झौता गरी सञ्चालन गरिने समितिको भनाइ छ ।
समितिले १६ बुँदे शर्त राखेको छ । उक्त शर्तमा वराह सञ्चालकहरू सहमत भएमा वराह सञ्चालनमा आउनेछ । आर्थिक कारोबार गर्न वराह सञ्चालकबाट २ जना, पीडित सङ्घर्ष समितिबाट २ जना र नगरपालिकाको प्रतिनिधि १ जनासहित ५ जनाको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन गरी रकम बचत गर्ने, बचतकर्ताहरूलाई रकम वितरण १५ दिनदेखि नगद काउण्टर सञ्चालन गरी १ महिनाभित्रमा नगद वितरण सुरु गर्नेलगायतका शर्तहरू रहेका छन् ।