विराटनगर । विराटनगर–२ मुनालपथमा रहेको श्रृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्षमा २ करोड ३९ लाख ८९ हजार ४ सय ७ रुपैयाँ आम्दानी गरेको छ ।

सहकारीको विराटनगरमा शनिबार भएको २६ औं वार्षिक साधरणसभामा सहकारी अध्यक्ष मोहनप्रसाद भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३३ करोड १४ लाख ९ हजार ८ सय ७ रुपैयाँ कारोबार गरेको संस्थाले २ करोड २९ लाख ६६ हजार ५६ रुपैयाँ खर्च गरेको छ । सहकारीको २ करोड २८ लाख ६४ हजार १ सय रुपैयाँ शेयरपुँजी रहेको छ  भने निक्षेप १० करोड ५३ लाख ८८ हजार ५ सय ९७ रुपैयाँ रहेको जनाइएको छ ।

सहकारीमा ९ सय २७ महिला र ८ सय १९ पुरुष गरी जम्मा १ हजार ७ सय ४६ जना शेयर सदस्य रहेका छन् । वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैङ्कका सल्लाहकार रमेशप्रसाद पोखरेलले मुलुकको आर्थिक विकासमा सहकारीको भूमिका महŒवपूर्ण रहेको बताए ।

छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै आर्थिक विकासमा सहकारीको उल्लेखनीय भूमिका रहेको बताए । उनका अनुसार मुलुकभरका २४ हजार सहकारीमा ७४ लाख मानिस आबद्ध भएको जानकारी गराए । आबद्ध भएकामध्ये ३९ प्रतिशत सहकारीमा महिला आबद्ध छन् । सहकारीमार्फत् १२ खर्बको कारोबार हुने गरेको उनले बताए ।

सोही अवसरमा सहकारीले चार जनालाई सम्मान गरेको छ । उत्कृष्ट बचतकर्ता चन्द्रमणि ढकाल र शोभादेवी भगतलाई सम्मान गरेको थियो । यस्तै असल ऋणीहरूमा शकुन्तलादेवी सरदार र सीताराम महतोलाई सहकारीले सम्मान गरेको थियो । सम्मानित हुने सहकारीका सदस्यहरूलाई कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरियो । सहकारीका अध्यक्ष मोहनप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सहकारीका सचिव नारायणप्रसाद धमलाले गरेका थिए ।