विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।
मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुनलागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग सङ्गठन मोरङले जनाएको छ । आर्थिक एवम् औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना गर्न लागेको हो ।
आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ एक्स्पो हुनलागेको हो । एक्स्पोको मुख्य आकर्षण आर्थिक एवम् कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदान–प्रदान, नवीतम् सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सबलीकरणका लागि एसियन फाउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहनेछ ।
त्यसैगरी पहिलो पटक एक्स्पोमा रोबोटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्नेछ । थ्रीडी भर्चुअल टुरमार्फत् प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेस क्याम्प, गुफापोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिनेछ । यसबाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साङ्गीतिक कार्यक्रम हुनेछ भने यस्ता कार्यक्रमहरूमा स्थानीय कला, संस्कृति एवम् कलाकारहरूलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला, संस्कृतिको प्रस्तुति हुनेछ । साथै राष्ट्रिय ख्यातीप्राप्त कलाकारहरूको समेत सहभागिता रहनेछ ।
एक्स्पोमा रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूबीच प्रत्यक्ष भेटघाटका लागि छुट्टै पेभिलियन रहेको छ । एक्स्पोमा ४ सय १५ वटा स्टल रहनेछन् । एक्स्पोमा स्वदेशी उत्पादनलाई मुख्य प्राथमिकतामा राख्दै भारत, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकको उत्पादनको प्रदर्शनी रहनेछ । एक्स्पोमा भारत बिहारको सीमावर्ती क्षेत्रबाट समेत गरी करिब ३ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै उद्योग व्यवसायका क्षेत्रको व्यावसायिक विकासमा योगदान पुर्याउन सङ्गठनले २०५३ सालमा कोसी महोत्सवबाट सुरु गरेको हो । २०५६ सालमा पूर्वाञ्चल व्यापार मेला, २०६२ सालमा कृषि यान्त्रिक तथा प्रविधि प्रदर्शनी भएको थियो । प्रदर्शनीको ऐतिहासिकताको निरन्तरता स्वरूप सङ्गठनले समयानुकूल परिमार्जन तथा परिस्कृत गर्दै २०६६ सालदेखि २ वर्षको अन्तरालमा ‘विराट एक्स्पो’ गर्दै आएको छ ।