विराटनगर । प्रदेश १ मा अघिल्लो वर्षभन्दा यो वर्ष १ दशमलव २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ ।
प्रदेश १ मा ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने धान उत्पादन १२ लाख ८२ हजार ५७३ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष १६ हजार २८२ मेट्रिक टन धान बढी उत्पादन हुने प्रदेश १ कृषि निर्देशनालय विराटनगरले जनाएको छ ।
अन्न उत्पादनको भन्डारको रुपमा लिइने सुनसरी, मोरङ र झापामा धान उत्पादन बढेको छ । निर्देशनालयका अनुसार प्रदेश १ को तराइको तीन जिल्ला झापा, मोरङ र सुनसरीमा २ लाख १९ हजार ३९३ हेक्टरमा रोपाइ भएकोमा ९ लाख ७८ हजार ६५८ मेट्रिकन उत्पादन हुने कार्यालयले जनाएको छ ।
मल अभावकाबीचमा पनि धान उत्पादन बढ्नुमा सिंचाई सुविधा र खेती गर्ने तरिकामा परिवर्तन मुख्य कुरा भएको विज्ञहरु बताउँछन् ।
‘हाम्रोमा चाहिं धान पसाउने बेलामा युरिया हाल्ने चलन थियो त्यसले भुषमात्रै उत्पादन हुन्थ्यो । यस पटक मल हाल्न नपाएको कारण भुष हुन पाएन र धान उत्पादन बढ्यो,’ धान विज्ञ डाक्टर राजेन्द्र उप्रेती बताउँछन्, ‘अर्को कुरा पानीले भिजाएर डुबाएर खेति गर्ने हाम्रो जस्तो प्रणालीमा युरिया भनेको हालेकोमध्ये २५ प्रतिशत मात्रै धानमा प्रयोग हुन्छ । त्यसकारण मलले मात्रै धेरै रुवाबासी गर्नुपर्ने अवस्था छैन । मलको मात्रा मुख्य होइन मल प्रयोगको तरिका चाहिं मुख्य हो ।’
उप्रेतीले धान उत्पादन वृद्धिमा अन्य केही कारणहरु पनि रहेको बताए । ‘अघिल्लो वर्ष भन्दा यो वर्ष धानको उत्पादन राम्रो देखिएको छ । यो हुनुमा दुई तीन कारण छन् । नेपालमा मात्रै होइन संसारका अरु थुप्रै देश भारत, चीनमा पनि धान बढेको छ । हाम्रोमा मल प्रयोग भइरहेको थियो तर, चाहिने भन्दा धेरै भएको थियो,’ उप्रेती भन्छन्, ‘मैले अध्ययन गरेर हेर्दा प्रतिकठ्ठामा ३ मन फलाउने र ७ मन धान फलाउने किसानले उत्तिनै मल प्रयोग गरिरहेका छन् । त्यो तीन मन फलाउनेले त मल खेर फालिरहेको थियो नि । त्यो खेर फाल्न यस पटक पाएनन् । अर्को कुरा खेतमा पानी छेकेको छेकेकै गर्ने हाम्रो बानी छ नि त्यसले धानको जराको विकास हुँदैन । जराको विकास नभएपछि जमिनको तल्लो तहमा भएको मल तानेर लिन सक्दैन । यो पटक पानी चाहिं कुनैकुनै समय मात्रै आयो । त्यसले गर्दा धानको जरा तलतलसम्म जान सक्यो ।’
धान पसाउने बेलामा पानी पर्दा धानको लागि पर्याप्त सल्फर उपलब्ध हुँदा पनि धान उत्पादन बढेको उनी बताउँछन् ।