धरान औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन्।

 आइतबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै  त्यहाँ रहेका औद्योगिकहरूले कार्यालय प्रमुख रमेश राज नेपालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । २०७५ सालमा भएको औद्योगिक क्षेत्रको भाडा वृद्धिको निर्णय अनुसार भन्दै लिमिटेडले भाडा बुझाउन पत्राचार गरेपछि उद्योगीहरूले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको बताएका छन् । 

उनीहरूले  लिमिटेडले एकलौटी रूपमा गरेको भाडा वृद्धि खारेजीको माग समेत गरेका छन् । 

  २०७५ सालमा नै लिमिटेडले भाडा वृद्धि गरेको भए पनि नेपाल औद्योगिक क्षेत्र उद्योग सङ्घले  वृद्धि भएको भाडा दरमा असहमति जनाएको थियो । तत्कालीन समयमा वृद्धि भएको भाडा दरमा सहमति हुन नसकेपछि  भाडा नउठाउने निर्णय भएकोमा  पुरानै भाडा दरमा भाडा तिर्दै आइरहेको अवस्थामा पुरानो बक्यौता भन्दै वृद्धि भएको भाडा अनुसारको भाडा तिर्न पत्राचार गरेपछि आन्दोलन मा उत्रनु परेको नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका निवर्तमान अध्यक्ष देवराज तामाङले बताए । 

उनका अनुसार  ०७१ सालमा बनेको नियमावलीमा  औद्योगिक क्षेत्रको भाडा वृद्धि ५ वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ ।   सोही अनुसार भाडा वृद्धि हुँदा २०७६ सालमा हुनुपर्नेमा  एेन विपरीत ०७५ सालमा भएको भाडा वृद्धिको निर्णयका विरुद्ध उद्योग मन्त्रालय पुगेपछि तत्काल  भाडा नउठाउने निर्णय भएको  तामाङले बताए । 

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि भएको ०७५ को निर्णय अनुसारको पुरानो भाडा समेत तिर्न पत्र काटेपछि  मन्त्रालय गएर त्रिपक्षीय सहमति गरेको  तामाङले बताए । 

सहमति अनुसार  गत असार १५ गते  उद्योग मान्त्रीको उपस्थितिमा महासचिवको संयोजकत्वमा भाडा निर्धारण सम्बन्धी तत्काल र दिघर्कालीन सुधारका विषयसहित प्रतिवेदन बुझाउन समिति गठन भएकोमा समितिले प्रतिवेदन नबुझाई  लिमिटेडले सहमति उल्लङ्घन गरेर भाडा ताकेता गर्न थालेपछि आन्दोलन गर्नु परेको   तामाङको भनाइ छ । 

०७५ सालमा नै विना सहमति एकलौटी रूपमा नियम विपरीत वृद्धि भएको भाडा कोरोना महामारीले थलिएको अवस्थामा ४ वर्षपछि बक्यौता तिर भन्दा उद्योगीहरू तिर्न सक्ने अवस्थामा नरहेको धरान औद्योगिक क्षेत्रका अध्यक्ष  मानमोहन श्रेष्ठले जनाएका छन् । 

 धरान औद्योगिक क्षेत्रको कार्यालय प्रमुख रमेशराज नेपालले भने  २०७९ असार निर्णयबाट साउनदेखि ७५ सालमै निर्णय भएको  बक्यौता सहितको २०७९ र०८०  विल पठाएको बताएका छन् । उनले धरान औद्योगिक भित्र  १ रोपनी १९ हजार ६२१ रुपैयाँ वार्षिक भाडा दर रहेको बताएका छन् । 

जसमा जमिन बहाल बापत  ७८ लाख ७५ हजार रुपैयाँ उठ्नु पर्नेमा  करिब सभा ९ लाख रुपैयाँ भुक्तानी आएको र ६७ लाख भाडा भुक्तानी गर्न बाँकी रहेको उनले बताएका छन् । उनका अनुसार उक्त रकम ५ वर्षको छुट समेत हो ।

नेपालका अनुसार नियमावली अनुसार  १० प्रतिशत वृद्धि गर्नु पर्ने प्रावधान अनुसार  वार्षिक १२ लाख रुपैयाँ लिँदै गरेको भाडा वृद्धि गरेपछि २८ लाख रुपैयाँ वार्षिक भएको छ ।