इटहरी । इटहरीको मुख्य बजारक्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरिएको छ । इटहरी उपमहानगरपालिकाले मुख्य बजारक्षेत्रसँगै खोला, पैनी मिचेर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको हो ।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरीसहित इन्जिनियरहरूसहितको टोलीले २ वटा निर्माणाधीन अवैध संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको छ । इटहरी–७ की आशा साह र इटहरी–१० का पदम दर्नालले पैनीको जग्गामा घर बनाएपछि स्थलगत निरीक्षण गरी उनीहरूले बनाउँदै गरेको घर रोकिएको छ ।

इटहरीकी उपप्रमुख सङ्गीता चौधरीले खोला, पैनीमा बनेको संरचना तत्काल हटाउन निर्देशन दिएकी छन् । वडाहरूलाई पनि निर्देशन कडाइको साथ लागू गर्न उपमेयरको निर्देशन थियो ।

इटहरीका सुदीप दाहालले पैनीमाथि बनाएको संरचना पनि भत्काइएको छ । ‘लामो समयदेखि संरचनामुनि पैनी कुदिरहेको रहेछ, हामीले सहमतिमै भत्काउन लगायौं’ इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले भने । वडाभित्रको सार्वजनिक सम्पत्ति संरक्षण अभियान सुरु भएको पोखरेलको भनाइ छ ।

इटहरी उपमहानगरपालिकाले मङ्गलबार २० वटै वडामा निर्माण भएका संरचना हटाउन निर्देशन जारी गरेको छ । निजी जग्गाबाहेक बाटो, पैनी, खोलाको जग्गा नहडप्न र हडपेर बसेकाहरूले तत्काल छोड्न निर्देशन जारी गरेको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले उपमहानगरको सूचनालाई बेवास्ता गरेको पाइएमा कारबाही अगाडि बढाउने चेतावनी दिएका छन् ।