विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छन् । विराटनगरमा बिहीबारबाट सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगरले पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न सङ्घर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्योगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् ।

विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथाङ्का सडकले विराटनगर भारत र चीनसँग सोझै जोडिने बताइन् । उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चापदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको बताइन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरकखालको आर्थिक मन्दीबाट गुज्रिरहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैङ्कको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको बताए ।

गोल्छाका अनुसार अहिलेको चुनौती भिन्न प्रकारको छ । राजनीतिक परिवर्तनका बेला पनि अर्थतन्त्रमा चुनौती र समस्याहरू आए तर, परिवर्तनसँगसँगै समाधान भए । त्यस्तै मुलुकले १६–१७ घण्टा लोडसेडिङ व्यहोर्दा पनि अर्थतन्त्र समस्याग्रस्त थियो । नाकाबन्दी, भूकम्प र कोभिडले पनि अर्थतन्त्रलाई नराम्ररी प्रभावित बनाएकै हो । सबै समस्या पार गरेर अर्थतन्त्र लयमा फर्किसकेको थियो ।

‘तर, अहिलेको सङ्कट भिन्न प्रकारले उत्पन्न भएको हो’ अध्यक्ष गोल्छाले भने, ‘यो सङ्कटको सिर्जना नेपाल राष्ट्र बैङ्कको नीतिले गरेको हो । अहिलेको समस्या तरलता र ब्याजदरको हो । यो राष्ट्र बैङ्कको नीतिसित जोडिएको छ र यही समस्याले गर्दा नेपालको अर्थतन्त्र सङ्कुचनमा परेको छ,।’

उनले निर्माण सामग्रीका क्षेत्रमा ७० प्रतिशत मन्दी रहेको बताए । गोल्छाले निर्माण सामग्रीका उद्योग भनेका मुलुकका माउ उद्योग भएको चर्चा गर्दै यिनमै मन्दी आएका कारण बेरोजगारीको समस्या व्यापक रहेको उल्लेख गरे । उनले भने, ‘मुलुकको विकासको सूचक भनेको डिजलको खपत र विद्युत् बिक्रीको अनुपात पनि हो । अहिले दुवैमा सङ्कुचन आएको छ ।’

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् । प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे ।

प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्ता गरेको गुनासो गरे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चापदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागिरहेको उनको भनाइ छ । उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए ।

सातौं संस्करणको विराट एक्स्पो सुरु
विराटनगर । सातौं संस्करणको विराट एक्स्पो बिहीबारबाट सुरु भएको छ । मङ्सिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरु भएको हो । एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।

उद्योग सङ्गठन मोरङको आयोजनामा हप्तादिनसम्म सञ्चालन हुने एक्स्पोमा ३ सय ६१ वटा स्टल रहेका छन् । पेभिलियनका ४ वटा स्टल रहेका छन् । यस्तै प्रायोजकका १०, उद्योग सङ्गठन मोरङ कार्यसमिति परिसरका ३४, औद्योगिक कन्जुमन प्रोडक्टका ७५, कृषि तथा साना घरेलु एवम् सूचनामूलक परिसरका ७५, नाडा र अटोमोबाइल परिसरका २० वटा र खाद्य परिसरका १० वटा स्टलहरू रहेका छन् ।

एक्स्पोको मुख्य आकर्षण आर्थिक एवम् कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल, अनुभव आदान–प्रदान, नवीतम् सोच भएका युवा उद्यमीको स्टार्टअप कर्नरका लागि छुट्टै पेभिलियन, प्रदेश आर्थिक वृद्धि तथा लगानी सबलीकरणका लागि एसियन फाउण्डेसन र प्रदेश नागरिक विकास बोर्डसँग सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका कुराको प्रदर्शनीको छुट्टै पेभिलियन रहेको एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

त्यसैगरी पहिलो पटक एक्स्पोमा रोबोटसँग प्रत्यक्ष संवाद गर्ने मौका मिल्नेछ । थ्रीडी भर्चुअल टुरमार्फत् प्रदेश १ को प्रख्यात पर्यटकीय क्षेत्र सगरमाथाको बेसक्याम्प, गुफापोखरी, पाथीभरा मन्दिरलगायत हेर्न सकिन्छ ।

यसबाहेक पर्यटकीय गन्तव्यको जानकारी, स्थानीय खाना उत्सव, दैनिक साङ्गीतिक कार्यक्रम छ भने यस्ता कार्यक्रमहरूमा स्थानीय कला, संस्कृति एवम् कलाकारहरूलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै कला, संस्कृतिको प्रस्तुति हुनेछ ।