विजयपुर । धरान उपमहानगर प्रमुख हर्कराज राई वराह बचत तथा ऋण सहकारी संस्थाको समस्या समाधान गर्न उदासिन बनेको पीडित सङ्घर्ष समितिले बताएको छ ।

बुधबार वराह पीडित सङ्घर्ष समिति वराह सञ्चालकसँग नगरको रोहवरमा सम्झौताका लागि नगरपालिका पुगेका थिए । प्रमुख राईले दिएकै समयमा उनीहरू नगरमा पुगे पनि नगरप्रमुख राई थिएनन् । वराह सहकारी पीडित सङ्घर्ष समितिका सूचना विभाग प्रमुख पुकार शाक्यले भने, ‘मेयर सा’पले दिएकै समयमा सम्झौताका लागि नगरपालिका पुगेका थियौँ । तर, हामीलाई समय दिएर उहाँ निस्कनुभएछ ।’ उनले पहिलेदेखि नै नगरप्रमुख राई वराह पीडितको समस्या समाधान गर्न उदासिन भएको बताए । उनीहरूले प्रमुख राईलाई ५ बजेसम्म पर्खिए पनि आएनन् ।

उनीहरूलाई उपप्रमुख अइन्द्रविक्रम बेघाले सम्बोधन गरेपछि फर्किएका थिए । बुधबार प्रदेश सहकारी रजिष्ट्रार  कार्यालय, इलाका प्रशासन कार्यालय र नगरको रोहवरमा पीडितहरू अनुगमन समितिमा रहने गरी वराह सञ्चालकसँग सम्झौता गर्न गएका थिए । तर, प्रमुख राई उपस्थित नै भएनन् । सहकारी विकास समिति बनाउनुपर्ने व्यवस्था भए पनि हालसम्म राईले बनाएका छैनन् । नगरमा सहकारी विकास समिति नबनाएपछि उनकै नेतृत्वमा छ ।

उनी नआएपछि सम्झौता हुन सकेन । उपप्रमुख अइन्द्रविक्रम बेघाले नगरप्रमुख हुँदाहुँदै आफूले रोहवर बस्न जायज नहुने बताएका थिए । निर्वाचनअघि वराह सहकारी पीडितहरूलाई न्याय दिलाउने बताउने राई निर्वाचित भएपछि भने उदासिन बन्दै आएका छन् । सहकारी सञ्चालन नियमन गर्ने अधिकार नगरमा भए पनि सुरुवातमा नै आफूले नहेर्ने भन्दै केन्द्रीय सहकारी विभाग पठाएका थिए ।

केन्द्रीय सहकारी विभागले वराह सहकारी नगरकै क्षेत्राधिकारभित्र पर्ने भन्दै पीडितहरूलाई नगरमा नै पठाएको थियो । केन्द्रीय सहकारी विभागले पठाएपछि वराह सहकारी पीडित न्यायका लागि नगरपालिकामा पुग्दा प्रमुख राईले ‘मलाई सोधेर पैसा राखेको थियौ र ?’ भन्ने अभिव्यक्ति दिँदा उनको कार्यकक्षमा तोडफोडसमेत भएको थियो ।

अहिले पनि वराह सञ्चालन गर्न सम्झौताका लागि पीडितहरूलाई बोलाएर आफू बाहिरिने गरेको समितिको भनाइ छ । सङ्घर्ष समितिका सूचना विभाग प्रमुख शाक्यले बिहीबार पनि राईले फायल अध्ययन गर्ने भन्दै सम्झौता अगाडि नबढाएको बताए । उनले भने, ‘२ महिनाअगाडि दिएको फायल अझै अध्ययन गर्ने भन्दै पन्छिएको अनुभूति भएको छ ।’ नगरप्रमुख राई पहिलेदेखि नै यस विषयमा पन्छिँदै आएको उनले बताए ।