विराटनगर । विराटनगरमा सुरु भएको सातौं संस्करणको विराट एक्स्पोमा उपभोक्ताको आकर्षण बढेको छ । उद्योग सङ्गठन मोरङले विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षण बढेको हो ।
पुस ६ गतेसम्म सञ्चालन हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ मा माटाका भाँडा र कपडा बनाएको धेरैजसोले नदेखेका कारण परम्परागतरूपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टलमा आगन्तुकको आकर्षण देखिएको हो । कपडा कसरी बन्छ भन्ने धेरैले नदेखेका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको पन्धाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पन्धाक)ले बताए । परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरैजना अचम्म परेको बताउँदै, टटबहादुर लिम्बूले भने, ‘धेरैजना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर जानुभयो । यहाँ आउने अधिकांशलाई परम्परागत कपडा बुनाइबारे थाहा रहेनछ ।’
एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो । माटोको भाँडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाँडा बनाएको हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरू आएको बताए ।
परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताकासाथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग सङ्गठन मोरङले जनाएको छ । एक्स्पोमा पराम्परागत सामानहरू प्रत्यक्ष बनाएको हेर्न पाइने भएकाले युवा, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायीलगायत सबैलाई यी स्टलहरूले आकर्षित गरेको छ ।
एक्स्पोमा स्टल अवलोकनका अलावा दैनिक विभिन्न किसिमका छुट्टाछुट्टै कार्यक्रम हुने गरेको छ । शुक्रबार प्रदेश १ मा लगानी प्रवद्र्धन गर्ने नीतिगत वातावरण, आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरूका विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै छलफल गरिएको थियो । त्यसैगरी आज (शनिबार) प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरू तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरूले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै छलफलसमेत हुने कार्यक्रम छ । दैनिक साङ्गीतिक कार्यक्रमसमेत रहेको छ । आजै राष्ट्रिय गायक सुगम पोखरेलको प्रस्तुतिसमेत रहनेछ ।