काठमाडौं । नेपाल टेलिकमले अरूको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैङ्किङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानूनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले मङ्गलबार विज्ञप्ति जारी गरी राष्ट्रिय परिचय–पत्र, नागरिक एप, बैङ्किङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ ।
मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयम्को नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैङ्किङलगायत सुविधा सुरक्षितसाथ प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ । ‘टेलिकम ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएमा आफू स्वयम् उपस्थित भई प्राप्त गर्न अनुरोध गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।
ग्राहकको सुरक्षामा विशेष ध्यान दिँदै सहजै सेवा उपलब्ध गराउनका लागि नयाँ सिमकार्ड लिँदा वा सिमकार्ड परिवर्तन गर्दा मापदण्ड कार्यान्वयनमा ल्याइएको टेलिकमले जनाएको छ । नयाँ सिमकार्ड लिनका लागि ग्राहकले आवेदन फाराममा आवश्यक विवरण स्पष्टरूपमा भरेको तथा ग्राहकको नाम, ठेगाना, परिचय–पत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय–पत्र एवम् सम्पर्क नम्बर स्पष्टरूपमा लेख्नुपर्ने जनाइएको छ ।
स्वयम् उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेछ र परिचय–पत्रको प्रतिलिपिलाई सक्कल परिचय–पत्रको नाम, बुबाको नाम, परिचय–पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने भएको छ । सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने अवस्थामा ग्राहक स्वयम् उपस्थित भएमा सिमकार्ड परिवर्तनको फाराम पूर्णरूपमा भरेको/नभरेको जाँचपश्चात् ग्राहकको परिचय–पत्रको सक्कल र नक्कललगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध हुनेछ ।
ग्राहक स्वयम् उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयम् उपस्थित हुन नसक्ने कारणसहित ग्राहकको मञ्जुरीनामा र सक्कल परिचय–पत्रका आधारमा सिम लिन आउने व्यक्तिको सक्कल परिचय–पत्र देखाई सो को प्रतिलिपि रीतपूर्वक भरिएको फारामसाथ संलग्न गर्नुपर्छ । कागजात रुजु सम्पन्न भएपछि सिमकार्ड परिवर्तन हुन्छ ।
सिम लिने ग्राहकभन्दा फरक ग्राहकको विवरण दर्ता रहेको अवस्थामा प्रयोगकर्ता र दर्ता रहेको ग्राहकको मोबाइल नम्बर अद्यावधिक गरी लिने र दिने व्यक्तिआ–आफ्नो नागरिकताको सक्कल वा अन्य आधिकारिक परिचय–पत्रको सक्कल र तिनका प्रतिलिपिसहित स्वयम् उपस्थित भई निवेदन दिन सकिने व्यवस्था रहेको छ ।
ग्राहक अशक्त भएमा निजको मञ्जुरिनामा पत्र र परिचय–पत्रको सक्कल तथा प्रतिलिपि, लिन आउने व्यक्तिको सक्कल परिचय–पत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण–पत्रसहित हकवाला नातेदार सक्कल कागजात तथा परिचय–पत्रसहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुने व्यवस्था गरिएको छ ।
वास्तविक प्रयोगकर्ताभन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय–पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याइँ गरी सिमकार्ड परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । (रासस)