विराटनगर । बैङ्कको चर्को ब्याजदरविरुद्ध विराटनगरका उद्योगी व्यवयासीहरू आज (बिहीबार) देखि आन्दोलनमा उत्रिने भएका छन् । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी वस्तुगत विभिन्न सङ्घ–संस्थाको ऐक्यबद्धतामा आजदेखि यहाँका उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिने भएका हुन् ।

उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैङ्कले आफूहरूलाई विस्थापित नै गर्र्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।

उद्योगी व्यवसायीहरूका तीन दर्जनभन्दा बढी सङ्घ–संस्थाहरूले आजदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैङ्कको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्नेलगायतका घोषणा गरेको मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’ अध्यक्ष रिजालले भने, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’ उनीहरूले पाँच सूत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ । एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २–२ प्रतिशत कायम गर्नुपर्ने तथा बैङ्कर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको माग छ ।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो’ नेपाल उद्योग परिसङ्घ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइप¥यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’ आजदेखि सुरु हुने आन्दोलन देशव्यापी बनाएर अगाडि बढ्ने उनले बताए ।

‘मोरङ व्यापार सङ्घमा बिहीबार ९ बजे भेला हुनेछौं । त्यसपछि विरोधस्वरूप बृहत् ¥यालीले बजार परिक्रमा गर्दै विराटनगरस्थित राष्ट्र बैङ्कको कार्यालयअगाडि धर्ना दिनेछौं’ उनले भने, ‘बिहान १० देखि ४ बजेसम्म धर्नाको कार्यक्रम रहेको छ ।’ माग पूरा नभएसम्म राष्ट्र बैङ्क घेराउ र धर्नाको कार्यक्रम निरन्तर रहने उनले बताए ।

‘लगातार बिहीबार र शुक्रबार अन्दोलन गरेपछि शनिबार समीक्षा हुनेछ । त्यसदिनसम्म पनि मागको सुनुवाइ नभए आइतबारबाट आन्दोलनको स्वरूप परिर्वतन गर्नेछौं’ उनले भने, ‘आइतबार राष्ट्र बैङ्कका कर्मचारीहरूलाई कार्यालयभित्र पनि जान नदिएर काम कारबाही ठप्प पार्नेछौं ।’ उद्योगी व्यवसायीहरूको माग सुनुवाइ नभए सडक सङ्घर्षको आन्दोलनले निरन्तरता पाउने उनले बताए । 

उद्योग सङ्गठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राज्यले उद्योगी व्यवसायीहरूको मागलाई बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । ‘पटक–पटक चर्को ब्याजविरुद्ध उद्योगी व्यवसायीहरूले राज्यलाई अवगत गराए पनि सुनुवाइ नभएपछि व्यवसायीहरू सडकमा आउन बाध्य हुनुपरेको छ’ उनले भने, ‘एक वर्षदेखि चर्को ब्याजदरको विरुद्ध उद्योगी व्यवसायीहरूले राज्यलाई जानकारी गराएका छन् । माग पूरा नभएपछि आन्दोलनमा उत्रिनु परेको हो ।’