धरान । विशेषतः मनोरञ्जनका लागि चलाइने टिकटक एप पछिल्लो समय व्यापार–व्यवसाय गर्नेहरूका लागि पनि लक्षित ग्राहकसम्म पुग्ने गतिलो माध्यम बनेको छ ।

कुनै नयाँ गीतको होस् या फिल्मको प्रवद्र्धन गर्न मात्र होइन, खानेकुरा, शृङ्गारका प्रसाधनदेखि लुगाकपडासम्मका नयाँ डिजाइन अचेल टिकटकमै भेटिन्छन् । यसको एउटा उदाहरण हो, धरान–९, सब्जीमन्डीमा रहेको ‘द थ्रिप्ट सप धरान’ ।

पसलमा पाइने कपडा, जुत्ता, ब्यागदेखि पफर्युमसम्मको भिडियो टिकटकमा राखिएको छ । विदेशी र नेपाली समान पाइने सो पसलमा नयाँ डिजाइनका लुगा आउने बित्तिकै पसलका सञ्चालकहरू रीना राई र रेजिना राई आफै मोडलिङ गरेर टिकटकमा राख्छन् । दुबईमा रहेर पसलका लागि थ्रिप्ट सामानको व्यवस्थापन गरिरहेकी तारा राई पनि नेपाल आउँदा पसलमा पुगेर टिकटक बनाउँछिन् । उनी भन्छिन्, ‘अहिलेको जमानामा टिकटक मार्केटिङको उपयुक्त माध्यम बनेको छ । यसबाट व्यापारमा धेरै सहयोग पुगेको छ ।’

‘द थ्रिप्ट सप धरान’ नामको टिकटकमा राखिएका भिडियो सयौंदेखि हजारौंसम्मले हेर्छन् अनि कतिपयले फोन गरेर बुझ्छन् भने कतिपय पसलमै आइपुग्छन् । सपकी सञ्चालिका रीनाका अनुसार झन्डै ८० प्रतिशत ग्राहक टिकटकमा हेरेरै कपडा, जुत्ता, ब्याजजस्ता सामान किन्न आउँछन् ।

‘हामीले टिकटकमा पसलको लोकेसन पनि भिडियो बनाएर हालेका छौं । पसल अलि भित्र भए पनि त्यही भिडियो हेर्दै ग्राहकहरू आइपुग्छन्’ उनी भन्छिन्, ‘अहिलेको पुस्ता टिकटकमा रम्ने भएकाले हामीले पनि यसैलाई मार्केटिङको माध्यम बनायौं । टिकटक हेरेरै अहिले जाडोका लुगा किन्न ग्राहकहरू आइरहेका छन् ।’

‘द थ्रिप्ट सप धरान’ मात्र होइन, अहिले खुलेका धेरैजसो नयाँ फेन्सी सप र बुटिकहरूमा पाइने सामान टिकटकमा भेटिन्छन् । रेष्टुरेन्टका आइटमदेखि ब्युटीपार्लरका सेवासम्म टिकटकमार्फत् जोडदार मार्केटिङ भइरहेका छन् । धरान–९ सब्जीमन्डी चोकमा भर्खरै सञ्चालनमा आएको ‘चिलपिल पब एन्ड क्याफे’ की सञ्चालिका नन्दिका श्रेष्ठ टिकटकमा देखेर आउनेहरू बढिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘मार्केटिङका लागि टिकटक एकदम प्रभावकारी हुने रहेछ । ग्राहकहरूले क्याफेको भित्तामा कोरिएका चित्र देखेर टिकटक बनाउँछन् । त्यही हेरेर पनि अरू ग्राहकहरू आउँछन् ।’

सन् २०१६ मा आधिकारिक रूपमा सार्वजनिक भएको टिकटक यति धेरै लोकप्रिय बन्ला भन्ने सायद कसैले अनुमान गरेका थिएनन् । सुरुमा कुनै गीतमा अभिनय गरेर छोटो भिडियो हालिने टिकटकमा विस्तारै नयाँ म्युजिक भिडियो र फिल्मको प्रचार गर्ने गज्जबको अस्त्रका रूपमा विकास भयो । अहिले त भिडियो वा फिल्मका निर्माताहरू टिकटकमार्फत् प्रचारका लागि छुट्टै बजेट नै छुट्याउँछन् ।

घरमै बसेर गायन र अभिनयका कला टिकटकमार्फत् देखाउने कतिपय सेलिब्रेटी बनिसकेका छन् । टिकटकमा गरेको अभिनय देखेर कतिले भिडियो र फिल्मका लागि अवसर पनि पाएका छन् । टिकटककै कारण कतिपय पुराना गीतहरू पुनः चर्चित भएका छन् । ओझेलमा परेका कलाकारहरू फेरि चर्चामा आएका छन्, रोजगारी पाएका छन् ।

पहिला युवापुस्ताको मनोरञ्जनको माध्यम मानिने टिकटकमा अहिले सबै उमेर समूहका मान्छे झुम्मिरहेका भेटिन्छन् । त्यसैले कतिपयले टिकटकले विकृति बढाएको आरोप लगाउँदै बन्द गर्नुपर्ने आवाज पनि बेला–बेला उठाउने गरेका छन् । यद्यपि सकारात्मक रूपमा प्रयोग गर्नेका लागि भने टिकटक फलदायी सावित भएको छ । कतिले टिकटकमै लाइभ गरेर विभिन्न उपहारसमेत पाउने गरेका छन् भने कसैले टिकटकमा कमाएको लोकप्रियताकै कारण विभिन्न कम्पनीको विज्ञापन गरेर पैसा कमाइरहेका छन् ।

अहिलेको डिजिटल युगमा टिकटकलाई प्रयोग गरेर फाइदा कमाउनेहरू पनि छन् भने दुरुपयोग गरेर समय बर्बाद गर्नेहरू पनि उत्तिकै छन् । अहिलेको पुस्ताको हातमा अनिवार्यजस्तै स्मार्टफोन हुन्छ । इन्टरनेटमा जोडिएपछि स्मार्टफोनमार्फत् नै आफै अभिनय गरेर छोटो भिडियो बनाउन र टिकटकमा पोष्ट गर्न सकिन्छ । सहज रूपमा सञ्चालन गर्न सकिने भएकाले पनि टिकटक लोकप्रिय बनेको हो ।

पछिल्लो समय ठूला व्यापारिक कम्पनीहरू समेत टिकटकमार्फत् आफ्नो व्यापार–व्यवसाय बढाउन लागेको देखिन्छ । कतिपयले टिकटकलगायत सामाजिक सञ्जाल चलाउने मान्छे नै नियुक्त गरेका छन् । यसबाट पनि देखिन्छ, टिकटक पछिल्लो समय साना व्यापारी–व्यवसायी मात्र होइन, ठूला व्यवसायीहरूका लागि पनि लोकप्रिय बनेको छ ।