विजयपुर । मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रबाट सबैभन्दा बढी योगदान गर्ने प्रदेश १ मा कृषि उत्पादनमा कमी आएको छ । सातवटै प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश नं. १ ले २१ दशमलव ८ प्रतिशत योगदान गर्दै आएको छ भने सबैभन्दा न्यून कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत योगदान रहेको छ ।

राष्ट्र बैङ्कको प्रादेशिक कार्यालय विराटनगरले हालै सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले कृषि उत्पादन घटेको देखाएको हो । सिंचाइ सुविधा २ प्रतिशतले बढेको प्रदेश १ मा समग्र कृषि उत्पादन १ दशमलव ४ प्रतिशतले घटेको हो । विशेषगरी मकै, गहुँ, कोदो र आलुको उत्पादनमा गिरावट आएकाले प्रदेश १ को समग्र कृषि बालीको उत्पादनमा कमी आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खाद्य तथा अन्य बालीको उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ दशमलव ९ प्रतिशतले घटेको छ । खाद्यबाली अन्तर्गत धान उत्पादन ३ दशमलव ३ प्रतिशत र गहँु उत्पादन ९.६ प्रतिशतले घटेको छ ।  मकैको उत्पादन भने १ दशमलव ६ प्रतिशतले बढेको छ ।

अध्ययनमा संलग्न अधिकृत तथा राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका सहायक निर्देशक नेत्र घिमिरे उत्पादनमा वृद्धि वा कमी हुनुमा विभिन्न तत्वहरू रहेको बताउँछन् । उनी भन्छन्, ‘मौसम प्रतिकूलता, समयमा मल नपाउनु र रोपाइँ नै पनि नभएकाले उत्पादनमा गिरावट आएको देखिन्छ ।’ राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पोखरेल उन्नत जातिका बिउ, मल उपलब्ध नहुनुलगायतका कारणले उत्पादन प्रभावित हुने बताउँछन् ।

कृषि उत्पादन मात्रै होइन, कृषि उत्पादनको क्षेत्रफल पनि घटेको छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले कमी आई १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको प्रतिवेदनमा उल्लेख छ ।

समीक्षा वर्षमा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफलमा कमि आएकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषि क्षेत्रले ढाकेको क्षेत्रफलमा गिरावट आउनुमा मुख्य कारण कृषियोग्य जमिनलाई प्लटिङ गर्नु रहेको पाइन्छ । खेतीयोग्य जमिनमा प्लटिङ गरेपछि बाली लगाउन छाड्नाले क्षेत्रफलमा  गिरावट आएको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् ।  

कृषि ज्ञान केन्द्रका अनुसार धानले ओगटेको क्षेत्रफल अघिल्लो आर्थिक वर्ष (आ.व) मा २.२ प्रतिशतले वृद्धि भएकोमा आ.व ०७८/७९ मा ०.९ प्रतशित मात्रै भएको छ । मकैले ढाकेको क्षेत्रफल आ.व. २०७७/७८ मा १.६ प्रतिशत वृद्धि भएकोमा आ.व ०७८/७९ मा २.२ प्रतिशतले कमि आएको छ । गहुँ आ.व. १.१ प्रतिशतले कमि भएकोमा आ.व. ०७८/७९ मा ७.५ प्रतिशतले कमि आएको छ । आ.व. २०७७/७८ मा कोदो २.४ प्रतिशतले कमि भएकोमा ०७८/७९ मा ३.५ प्रतिशतले गिरावट आएको छ ।

आ.व. २०७७/७८ मा आलु वृद्धिदर १.३ प्रतिशत रहेकोमा आ.व. ०७८/७९ मा १ प्रतिशतले मात्रै वृद्धि भएको छ । आ.व. ०७७/७८ मा तेलहन ३.८ प्रतिशतले बृद्धि भएकोमा आ.व. ०७८/७९ मा २.२ प्रतिशतले कमी आएको छ । दलहनमा १.८ प्रतिशतले बृद्धि भएको छ । अन्य वस्तुको वृद्धिदर ९.३ प्रतिशत रहेकोमा आ.व. आ.व. ०७८/७९ मा  १०.८ प्रतिशतले गिरावट आएको छ । समग्रमा आ.व. ०७७/७८ मा ९ लाख २५ हजार २ सय २६ हेक्टर क्षेत्रफल रहेकोमा आ.व. ९ लाख १२ हजार १ सय ७३ हेक्टर रहेको छ । अर्थात् समग्रमा ०७७/७८ मा १.३ प्रतिशत हेक्टर वृद्धि भएकोमा आ.व. ०७८/७९ मा १.४ प्रतिशतले गिरावट आएकोा  छ ।

प्रदेश नं. १ मा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७ दशमलब ६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.० प्रतिशत रहेको छ ।

कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको ७१ दशमलव ६ प्रतिशत छ । मकै बालीले ढाकेको क्षेत्रफल २.२ प्रतिशत, गहुँ बालीले ढाकेको क्षेत्रफल ७.५ प्रतिशत र कोदो बालीले ढाकेको क्षेत्रफल ३.५ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा धान बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा दूध उत्पादन ०.२ प्रतिशत, अण्डा उत्पादन ०.९ प्रतिशत, मासु उत्पादन १.३ प्रतिशत र माछा उत्पादन २२.१ प्रतिशतले बढेको छ । यस्तै, समीक्षा वर्षमा काठको उत्पादन १०.४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा काठको उत्पादन ३९.२ प्रतिशतले बढेको थियो ।