प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा “तरुल उत्सव” हुने भएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो । 

हात्तीले पनि नखाने, स्वस्थकर खानाका रूपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे सङ्क्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागिएको मेचीनगर–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । 

“हिजो हाम्रा बाबु बाजेले खाजाका रूपमा खाने तरुलको महत्त्व हराउँदै गयो”, उनले भने, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरूले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”

उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सक्खरखण्ड, वनतरुललगायत परम्परागत कृषि औजारहरूको समेत उत्सवमा प्रदर्शनी गरिने बताए ।

वडाध्यक्ष कार्कीले बाहुनडाँगीवासीले दैनिक आउने जङ्गली हात्तीको हुलबाट अन्न जोगाउन नसकेपछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपात, चिया खेती गर्दै आएको बताए । उनले सुपारी खेतीभित्रै तरुलको व्यावसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरूद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्त्व र खेतीको बारेमा जानकारी दिइने बताए ।

 उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूलाई समेत उपस्थित गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उनको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उनले बताए ।