भद्रपुर । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छिमेकी देशमा पनि फैलिरहेको हुँदा झापाका नाकामा सतर्कता अपनाउने भएको छ ।
नेपाल–भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवत–जावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणमा प्रशासनले चासो देखाएको हो ।
विशेषगरी पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि पुनः हेल्प डेस्क सञ्चालनमा ल्याउने तयारी भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । सो विषयमा बुधबार बसेको समितिको बैठकले हेल्प डेस्क सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
खुल्ला सीमाका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आम समुदाय सजग एवम् सचेत रहन जरुरी रहेकाले पुनः हेल्प डेस्क सञ्चालनमा ल्याएर सतर्कता अपनाउन लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
बैठकले मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी अवस्थामा राख्ने, विद्यालय, हाटबजार अर्थात् बढी भीडभाड हुने स्थलमा अनिवार्य मास्क लगाउन र सरकारी तथा गैरसरकारी संस्थाहरूलाई कोरोना रोकथामका उपायबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए ।
त्यसैगरी प्रदेश नम्बर १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ विरुद्धको खोपको पहिलो शृङ्खला बुस्टर डोजको मात्रा लगाउने मानिसको प्रतिशत न्यून रहेको हुँदा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरसँग खोप माग गरी खोप अभियान सञ्चालन गर्न स्वास्थ्य कार्यालय झापालाई अनुरोध गरिएको छ ।
बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, झापाका प्रहरी प्रमुख दुर्गाप्रसाद रेग्मी, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख राजकुमार पोखरेल, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट टङ्कप्रसाद बारकोटीलगायतको उपस्थिति रहेको थियो ।
झापामा मुख्य नाका काँकडभिट्टा र दोस्रो भद्रपुर भए पनि १ सय ४४ किलोमिटर खुला सीमा भएका कारण लुकिछिपी नेपाल–भारत आवत–जावत भने जारी रहेको विगतका घटनाक्रमले पुष्टि गरिसकेको छ । नाकामा प्रहरी परिचालन गरिए पनि सीमाक्षेत्रमा दुवै देशका नागरिकको खेतीपाती भएकोले मानिसलाई कडाइ गर्न प्रहरीलाई चुनौती देखिँदै आएको छ ।