धरान । मोरङका विभिन्न सङ्गठनमा आबद्ध व्यापारीहरूले अर्थमन्त्रीसहित सचिवहरूलाई भेटेर उद्योगी–व्यापारीका वर्तमान समस्या समाधान गर्न आग्रह गरेका छन् । 

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसङ्घ प्रदेश नम्बर १ का अध्यक्ष भीम घिमिरेको नेतृत्वमा गएको व्यापारी व्यवसायीहरूको टोलीले अर्थमन्त्रीसहित शीर्षस्थ नेता तथा सचिवहरूसँग भेट गरेर समस्या समाधान गर्न माग गरेको हो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष रिजालका अनुसार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थ सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सुरेश अधिकारीलगायतलाई भेटेर आर्थिक सङ्कुचन गर्ने विभिन्न आधारहरूलाई हल गर्नका लागि आग्रह गरिएको छ । 

अहिले प्रतिकूल बैङ्किङ नीति, बैङ्कहरूको चर्को ब्याजदर, लोडसेडिङ, आयात तथा भन्सारसम्बन्धी जटिलतालाई समाधान गर्नका लागि आग्रह गरिएको थियो । अहिले पनि उद्योगी व्यवसायीका विद्यमान समस्या समाधान नगरेमा नेपालको अर्थतन्त्र नै धरासायी हुने राय व्यापारीहरूले राखेका थिए ।

भारत सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरे तापनि नेपाल सरकारले नेपालका उद्योगीहरूलाई सो कोटा बाँडफाँड गर्न नसकेको धारणा अध्यक्ष रिजालले राखेका थिए ।

गहुँमा आश्रित नेपालका उद्योगहरू प्रभावित भई बन्द हुने अवस्था सिर्जना भएको जनाइएको छ । कोटा बाँडफाँड गर्नका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरिएको उनले जानकारी दिए । त्यस्तै चर्को बैङ्कको ब्याजदर र बैङ्किङ नीतिसम्बन्धी समस्या पनि निराकरण गर्नका लागि माग गरेका छन् ।