सुनसरी । सुनसरीको भण्टाबारी नाका हुँदै पाँच महिनाको अवधिमा भारतबाट १ अर्ब ५७ करोड बढीको कृषि तथा बिरुवाजन्य वस्तु आयात भएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा आलु, प्याज, धान, गहुँ, भूसलगायत कृषिजन्य तथा बिरुवाजन्य ८७ हजार ४० दशमलव ५१ मेट्रिकटन अर्थात् १ अर्ब ५७ करोड ४५ लाख ४९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय भण्टाबारी सुनसरीले जानकारी गराएको छ ।
सरोकारवालाहरूसँगको समन्वयात्मक बैठक आयोजना गर्दै प्लान्ट क्वारेन्टिन कार्यालय भण्टाबारीले साउन, भदौ, असोज, कात्तिक र मङ्सिर मसान्तसम्ममा सो परिमाणमा त्यति मूल्य बराबरको कृषिजन्य वस्तु आयात भएको जानकारी गराएको हो । चालु आर्थिक वर्षको साउन महिनामा १३ हजार ७ सय ३२ मेट्रिक टन अर्थात् २५ करोड ८० लाख २३ हजार ६ सय ३० रुपैयाँ बराबरको कृषि तथा बिरुवाजन्य वस्तु आयात भएको देखिन्छ । जसमध्ये सबैभन्दा बढी ४ हजार ३ सय ८० दशमलव ०९ मेट्रिक टन अर्थात् ६ करोड ५७ लाख १ हजार ३ सय ५० रुपैयाँ बराबरको आलु आयात भएको छ ।
त्यस्तै ३ हजार १ सय ४५ दशमलव ३६ मेट्रिक टन अर्थात् ५ करोड ३४ लाख ७१ हजार १ सय २० रुपैयाँ बराबरको मकै आयात भएको देखिन्छ । यसैगरी १ हजार ९ सय ३८ दशमलव १८ मेट्रिक टन अर्थात् ४ करोड २६ लाख ३९ हजार ९ सय ६० रुपैयाँ बराबरको प्याज आयात भएको अवस्था छ । त्यस्तै ७ सय १ दशमलव २९ मेट्रिक टन अर्थात् १ करोड ४० लाख २५ हजार ८ सय रुपैयाँ बराबरको धान आयात भएको छ भने २ हजार ७९ मेट्रिक टन अर्थात् ५ करोड १९ लाख ७५ हजार रुपैयाँ बराबरको चामल आयात भएको देखिन्छ ।
यसैगरी भदौ महिनामा १९ हजार ५ सय ४३ मेट्रिक टन अर्थात् ३५ करोड ५५ लाख २ हजार १ सय ९० रुपैयाँ बराबरको कृषि तथा बिरुवाजन्य वस्तु आयात भएको देखिन्छ । जसमध्ये सबैभन्दा बढी ५ हजार ३ सय ३३ दशमलव ८२ मेट्रिक टन अर्थात् ८ करोड ७३ हजार रुपैयाँ बराबरको आलु आयात भएको छ भने २ हजार ६ सय ७९ दशमलव ५५ मेट्रिक टन अर्थात् ६ करोड ६९ लाख ८८ हजार ७ सय ५० रुपैयाँ बराबरको चामल आयात भएको देखिन्छ । यस्तै ८ हजार ७८ दशमलव ०५ मेट्रिक टन अर्थात् १३ करोड ७३ लाख २६ हजार ८ सय ५० रुपैयाँ बराबरको मकै आयात भएको छ भने २ हजार २ सय २८ दशमलव ९२ मेट्रिक टन अर्थात् ४ करोड ९० लाख ३६ हजार २ सय ४० रुपैयाँ बराबरको प्याज भारतबाट आयात भएको देखिन्छ ।
यसैगरी २ सय २९ दशमलव ८८ प्रतिशत मेट्रिक टन अर्थात् ४५ लाख ९७ हजार ६ सय रुपैयाँ बराबरको धान आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय भण्टाबारी सुनसरीको तथ्याङ्कले देखाउँछ । त्यसैगरी चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १२ हजार ९ सय ९ मेट्रिक टन अर्थात् २२ करोड ९ लाख ६७ हजार ६ सय ६० रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएकोमा सबैभन्दा बढी ६ हजार ३ सय १४ दशमलव ६७ मेट्रिक टन अर्थात् ९ करोड ४७ लाख २० हजार ५० रुपैयाँ बराबरको आलु आयात भएको छ भने ३ हजार ४ सय ४९ दशमलव १९ मेट्रिक टन अर्थात् ५ करोड ८६ लाख ३६ हजार २ सय ३० रुपैयाँ बराबरको मकै आयात भएको देखिन्छ । त्यस्तै २ हजार ५ सय २२ दशमलव ०९ मेट्रिक टन अर्थात् ५ करोड ५४ लाख ८५ हजार ९ सय ८० रुपैयाँ बराबरको प्याज आयात भएको छ भने १ सय ७९ दशमलव २३ मेट्रिक टन अर्थात् १७ लाख ९२ हजार ३ सय रुपैयाँ बराबरको भूस आयात भएको देखिन्छ ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा १८ हजार ७ सय ७९ दशमलव ४ मेट्रिक टन अर्थात् ३१ करोड ४५ लाख ६ हजार ७ सय ८० रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । जसमध्ये सबैभन्दा बढी ११ हजार ३ सय १३ दशमलव ३९ मेट्रिक टन अर्थात् १६ करोड ९७ लाख ८ सय रुपैयाँ बराबरको आलु आयात भएको छ भने ३ हजार ४ सय ५० दशमलव १९ मेट्रिक टन अर्थात् ५ करोड ८६ लाख ५३ हजार २ सय ३० रुपैयाँ बराबरको मकै आयात भएको देखिन्छ ।
यसैगरी १ हजार ३ सय ८७ दशमलव २४ मेट्रिक टन अर्थात् ३ करोड ५१ लाख ९ हजार २ सय ८० रुपैयाँ बराबरको प्याज आयात भएको छ भने १ हजार ४ सय ६ दशमलव २२ मेट्रिक टन अर्थात् २ करोड ८१ लाख २४ हजार ४ सय रुपैयाँ बराबरको धान आयात भएको देखिन्छ । यस्तै ८ सय ६३ दशमलव ७८ मेट्रिक टन अर्थात् २ करोड १५ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको चामल आयात भएको छ भने १ हजार ४८ दशमलव २९ मेट्रिक टन अर्थात् १ करोड ४८ लाख २ हजार ९ सय मूल्य बराबरको भूस आयात भएको देखिन्छ ।
त्यसैगरी चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा २२ हजार ६७ दशमलव ११ मेट्रिक टन अर्थात् ४२ करोड ५५ लाख ४९ हजार १ सय १० रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात भएको छ । जसमध्ये सबैभन्दा बढी २ हजार ७ सय ३१ दशमलव ०७ मेट्रिक टन अर्थात् ६ करोड ८२ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरको चामल आयात भएको छ भने ५ हजार ३ सय ६० दशमलव ९२ मेट्रिक टन अर्थात् ८ करोड ४१ लाख ३ हजार ८ सय रुपैयाँ बराबरको आलु आयात भएको देखिन्छ ।
यसैगरी १ हजार ५ सय ५९ दशमलव ९८ मेट्रिक टन अर्थात् ३ करोड ४३ लाख १९ हजार ५ सय ६० रुपैयाँ बराबरको प्याज आयात भएको छ भने १० हजार ५ सय २१ दशमलव ८८ मेट्रिक टन अर्थात् २१ करोड ४३ लाख ७ हजार ६ सय रुपैयाँ बराबरको धान आयात भएको देखिन्छ । त्यसैगरी १ हजार ६ सय २ दशमलव २ मेट्रिक टन अर्थात् २ करोड ७२ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको मकै आयात भएको छ भने ३८ दशमलव ७५ मेट्रिक टन अर्थात् १७ लाख ४३ हजार ७ सय ५० रुपैयाँ बराबरको कागती भारतबाट आयात भएको देखिन्छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म पाँच महिनाको अवधिमा कृषि तथा बिरुवाजन्य वस्तु आयातबाट ४ लाख ७५ हजार बराबरको राजस्व सङ्कलन गरिएको क्वारेन्टिन कार्यालय भण्टाबारीले जनाएको छ ।
भारतबाट आयात हुने वस्तुहरूमध्ये ८० प्रतिशत आलु, प्याज र भूस रहेकोे क्वारेन्टिन कार्यालय भण्टाबारीका निमित्त प्रमुख हरि साहले जानकारी दिए । भारतबाट आलुसँगै भण्टाबारी नाकाहुँदै धान, गहुँ, मकै, काँचो केरा, स्याउ, अनारलगायतका कृषि तथा बिरुवाजन्य वस्तु नेपाल आयात हुने गरेका छन् । सिजनअनुसार आँप, परबल, भेडे खुर्सानी, सयपत्री फूलसमेत भारतबाट आयात हुने गरेको उनले बताए ।
कृषिप्रधान देश भनिए पनि आलु, प्याजसहितका कृषिजन्य वस्तुको उत्पादन बढाउन सरकारले ल्याएको विभिन्न कार्यक्रम प्रभावकारी नहुँदा भारत वा अन्य तेस्रो मुलुकबाट आयात गर्नुपरेको जानकार बताउँछन् । साउनदेखि कात्तिक महिनासम्म मासिक रूपमा औसत चार सयको हाराहारीमा कृषि तथा बिरुवाजन्य वस्तु लिएर भारतबाट गाडी आउने गरेकोमा हाल डेढसयदेखि दुई सयको हाराहारीमा गाडी आउने गरेको साहले बताए । नेपालमा नभएको रोग कीरा भारत वा अन्य देशबाट भित्रिन नदिने काम क्वारेन्टिन कार्यालयले गर्दै आएको छ ।