बिर्तामोड । झापाको सहरी क्षेत्रको समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन यसै महिनादेखि सहज हुने भएको छ । फोहोरमैलाको दिगो व्यवस्थापन र त्यसबाट ऊर्जा उत्पादनका लागि निर्माण गरिएको ‘कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा’ सञ्चालनको तयारीमा पुगेसँगै झापाको फोहोर व्यवस्थापनको समस्याले निकास पाउने भएको हो ।
खासगरी बिर्तामोडको फोहोर व्यवस्थापन मुख्य चुनौतीको रूपमा रहेको छ । पूर्वकै सबैभन्दा ठूला तरकारी र फलफूल बजारसमेत रहेको कृषिथोक बजारमा उत्पादन हुने ठूलो परिमाणको फोहोर व्यवस्थापन गर्नु यहाँ मुख्य चुनौती छ । फागुन महिनाको सुरुवातसँगै यो समस्या दीर्घकालीनरूपमा हल हुने भएको हो ।
‘कुनै प्राविधिक समस्या नआए माघ अन्तिमदेखि फोहोर व्यवस्थापन गर्ने प्लाण्ट सञ्चालनमा आउनेछ’ सञ्चालक दीपक चापागाईंले भने, ‘हामीले यसको ९५ प्रतिशत निर्माण पूरा गरिसकेका छौं । अब ५ प्रतिशत भनेको यहाँ ल्याइएका केही उपकरण जडान गर्न मात्र बाँकी हो ।’ उनले ढिलोमा माघ तेस्रो सातासम्ममा प्लाण्ट जडानको कार्य सकेर सञ्चालन हुने दाबी गरेका छन् ।
२०७५ सालदेखि कनकाईमा निर्माण भइरहेको ऊर्जा प्लान्ट सञ्चालनको सम्पूर्ण तयारी पूरा गरिएको बताइएको छ । उनका अनुसार काम सम्पन्न गर्नासाथ प्लान्टको परीक्षण गरिनेछ । त्यसपश्चात् सड्ने फोहोरबाट बायोग्यास, ठोस मल र झोल मल उत्पादन गरिनेछ । मलबाहेक निर्माण सामग्री (पेवर्स) बनाइने कनकाई बिर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीका मुख्य प्राविधिक जीवन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४ हजार टन क्षमताको प्लान्ट पूर्णरूपमा सञ्चालनमा आउँदा हरेक दिन १ हजार केजी ग्यास, ४ हजार केजी ठोस मल र ३० हजार लिटर झोल मल उत्पादन गरिनेछ ।
ज्वलन क्षमता, तापीय शक्ति राम्रो भएको बायोग्यास सो प्लान्टबाट उत्पादन गरिने श्रेष्ठको भनाइ छ । सरकारी र समुदायको लगानीबाट निर्माण भएको ऊर्जा प्लान्टमा कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकासमेतले लगानी गरेका छन् । सो ऊर्जा प्लान्टमा समुदायको समेत लगानी छ ।
प्लाण्ट पूर्णरूपमा सञ्चालन हुन तीनवटा स्थानीय तहमा उत्पादित फोहोरले मात्र नपुग्ने भएको हुँदा अरू स्थानीय तहलाई पनि यसमा समावेश गराउन छलफल सुरु भएको छ । शिवसताक्षी, मेचीनगर र भद्रपुर नगरपालिकासँग पनि यस योजनामा सहभागिताको लागि छलफल सुरु गरिएको हो ।
६० प्रतिशत सरकारी लगानी हुने नवीकरणीय ऊर्जामा तीनै पालिकाको २ करोड ५४ लाखका दरले लगानी गर्नेछन् । त्यसमध्ये कनकाई ९१ लाख, अर्जुनधारा ४० लाख र बिर्तामोड नगरपालिकाले ७० लाख लगानी गरिसकेको छ । कुल २२ करोड लगानी हुने उक्त परियोजना सञ्चालनमा आएपछि फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताइएको छ । पहिलो चरणमा जिल्लाका तीन पालिकाले लगानी गरे पनि थप तीन पालिकाहरू लगानीका लागि इच्छुक भएका छन् ।
शिवसताक्षी, मेचीनगर र भद्रपुरसमेतले आफ्नो नगरको फोहोरमैला व्यवस्थापनका लागि कनकाई ऊर्जासँग सहकार्य गर्ने तयारी गरेका छन् । त्यसका लागि कम्पनी र पालिकाबीच छलफल पनि भइसकेको छ । इच्छुक पालिकाहरूले कार्यपालिकामा छलफल गरेर अघि बढ्ने बताएका छन् ।
कनकाई ऊर्जा सञ्चालनपछि उत्पादित ग्यास होटल र उद्योगहरूमा निर्यात गरिने अर्का सञ्चालक मिनाल तिम्सिनाले जानकारी दिए । उनले प्लान्टबाट उत्पादित मल किसानलाई बिक्री गरिने बताए । ‘यहाँबाट उत्पादित मल अग्र्यानिक हुनेछ, यो मल प्रयोग गरेर किसानले पनि अग्र्यानिक उत्पादन गर्न सक्नेछन्’–तिम्सिनाले भने ।
परियोजनाका प्राविधिक श्रेष्ठले फोहोरको स्रोतमै वर्गीकरण हुन आवश्यक भएको बताएका छन् । स्रोतमा वर्गीकरण गरिएको फोहोर सङ्कलन गरेर प्लान्टमा प्रयोग गरिनेछ । आम नागरिकले कुहिने, नकुहिने र धातुजन्य फोहोर अलग्गै छुट्याएर दिनुपर्ने उनले बताए । बिर्तामोड नगरपालिकाले फोहोरमैलाको वर्गीकरणका लागि सचेतना कार्यक्रमसमेत गरिरहेको छ भने अन्य स्थानीय तहले पनि त्यसको तयारी गरिरहेको बताएका छन् ।