बिर्तामोड । निर्वाचनपछि झापामा यो वर्ष भिआइपीको भिड लागेको छ । निर्वाचित प्रतिनिधिहरु अहिले धमाधम विशिष्ट जिम्मेवारी पुगेसँगै भिआइपीहरुको भिड लागेको हो । झापाबाटै निर्वाचित प्रतिनिधिहरुले मुख्यमन्त्रीदेखि सभामुखसम्मको जिम्मेवारी पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा झापाकी इन्दिरा राना मगरलाई उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धनमा रहेको रास्वपाले उम्मेदरवार बनाएको सांसद मगर झापा अर्जुनधारा निवासी हुन् । उनी उपसभामुखमा निर्वाचित हुने पक्कापक्की छ । उनी समानुपातिक सांसद हुन् । उपसभामुखको निर्वाचन आज हुदैछ ।
शुक्रवार मात्रै झापा क्षेत्र नम्बर–२ बाट निर्वाचित देवराज घिमिरेले प्रतिनिधिसभाको सभामुख पदमा सपथग्रहण गरेका छन् । उनलाई प्रतिनिधिसभाले बिहीवार सभामुखमा निर्वाचित गरेको थियो । घिमिरे पनि झापा अर्जुनधारा निवासी हुन् । उपसभामुखमा मगर निर्वाचित भएपछि सभामुख र उपसभामुख एउटै नगरका हुनेछन् ।
निर्वाचनपछि झापाका मतदाताले अनपेक्षित रुपमा भिआइपीहरु पाएका छन् । झापा ३ बाट निर्वाचित राजेन्द्र लिङदेनले सरकारको उपप्रधान तथा उर्जा मन्त्रीको जिम्मेवारी पाए ।
यस्तै झापा क्षेत्र नं. ५ बाट प्रदेशसभामा निर्वाचित हिक्मत कुमार कार्की प्रदेश न १ को मुख्यमन्त्री बनेका छन् । कार्की यसअघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री थिए । उनी झापा ५ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् ।
प्रदेशको विना विभागीय मन्त्रीको रुपमा झापा ४ ‘२’ बाट प्रदेशमा निर्वाचित भक्ति सिटौला नियुक्त भइसकेका छन् । उनी राप्रपाका केन्द्रीय प्रवक्ता हुन् । उनको मन्त्रालय सोमवार टुङगो लाग्दैछ ।
यसैगरी नेपाली कांग्रेसले झापाकै उद्वव थापालाई प्रदेश १ को संसदीय दलको नेता बनाएको छ । थापा खस आर्य कोटाबाट समानुपातिक सांसद बनेका हुन् । निर्वाचनताका गठबन्धनमा फेरबदल नभएको भए थापा मुख्यमन्त्री बन्ने थिए ।
सत्तारुढ गठबन्धनको नेता एमालेका अध्यक्ष केपी शर्मा ओली यसै निर्वाचनको आधा कार्यकालका लागि प्रधानमन्त्री बन्ने तरखरमा छन् । उनी झापा –५ बाट निर्वाचित सांसद हुन् । यस्तै, दमकका नेता देवेन्द्र दाहाल अहिले राष्ट्रिय सभामा नेकपा एमाले तर्फबाट संसदीयको दलको नेता छन् । झापामा यतिधेरै संख्यामा भिआइपी निर्वाचित/नियुक्त भएको यो पहिलो पटक हो ।