झापा । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो ३२ औँ स्थापना दिवस मनाउँदै मुलुक प्रतिपक्ष दलविहीन भएकाले सङ्कटग्रस्त दिन आएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले प्रतिपक्षविहीन मुलुकमा सुशासन, इमान्दारिता र पारदर्शिताको प्रश्न उठ्ने बताए । यही अवस्थामा रहे मुलुकले सङ्कट व्यहोर्नुपर्ने अवस्था आउने बताएका छन् ।
अब साना दलहरूले सडकबाटै पनि दबाव सिर्जना गर्ने अवस्था आएको बताएका छन् । जनमुक्ति पार्टी अर्जुनधारा गाउँपालिका कमिटीको आयोजनामा भएको कार्यक्रममा महिला नेतृ मीना पन्धाकले मुलुकमा रहेका नश्लीय चिन्तन बोकेका दलहरूका कारण आदिवासी जनजाति, महिला उत्पीडनका मुद्दा ओझेलमा परेको बताइन् ।
केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले आदिवासीको साहित्यबाट मुलुकलाई अगाडि बढाउन आदिवासी जनजातिहरू अग्रगतिमा आउन आह्वान गरे ।
नगरअध्यक्ष राज खम्बूको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष पर्शुराम मगर, उपाध्यक्ष तिलसिंह माङ्मु, सचिव कृष्णकुमार थेवे, भरतसिंह राई, महेन्द्र इङ्नामलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन भने खड्ग चेम्जोङले गरेका थिए ।