विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशपछि बनेको सरकारको कारण डामाडोल बनेको अर्थतन्त्र आगामी दिनमा क्रमिक रूपमा सुधार भएर जाने बताएका छन् ।

विराटनगरमा बिहीबारदेखि सुरु भएको सिआइएन कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले त्यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अर्थतन्त्र ऋणात्मक अवस्थामा पुग्न लागेको भन्दै वर्तमान सरकारले आगामी दिनमा त्यसलाई सुधार गरेर लैजाने बताए ।

‘हाम्रो जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौं । यो अत्यन्तै गम्भीर कुरा हो’ ओलीले भने, ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो । त्यही हिसाबले देश अगाडि जाने हो भने देश बर्बाद हुने अवस्था थियो । अहिले अर्थतन्त्र सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोस व्यक्त गरे । ‘डेढवर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन । अब फेरि अर्थतन्त्र उँभो लाग्छ । हाम्रा ऋषिमुनिहरू डेढ वर्ष त तपश्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्महत्यै गर्ने ?’ उनले उद्योगीले गरेको आत्महत्याप्रति इङ्गित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिलेकाहीँ लाग्यो होला ।’

रास्वपाले पाउँछ गृहमन्त्री
अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीबाटै गृहमन्त्री हुने बताए । विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्वसहमति अनुसार रास्वपाले नै गृहमन्त्री पाउने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रीको पद नदिए त्यसले अप्ठ्यारो पैदा गर्ने उनले चेतावनी दिए । अध्यक्ष ओलीले गृहमन्त्रीमा को राख्ने, कसलाई राख्ने भन्ने पात्रको चयन रास्वपाले गर्ने हो हामीले होइन भन्ने अडान प्रकट गरे । प्रधानमन्त्रीले सर्वोच्चको पूर्ण पाठ नआई रास्वपा अध्यक्ष रवि लामिछानेलाई फेरि गृहमन्त्री नबनाउने भनी गरेका प्रश्नमा ओलीको प्रतिप्रश्न थियो, ‘आदेश त आइसकेकै छ नि, किन चाहियो पूर्णपाठ ? के कण्ठ गर्नुपर्ने हो र ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रविलाई फेरि गृहमन्त्री बनाउन पूर्णपाठ कुरिरहेको समाचार आउँदा ओली रविको पक्षमा उभिएका हुन् । उनले राष्ट्रपतिको निर्वाचनमा सत्ता गठनबन्धनबाट एमाले पार्टीले उम्मेदवारी दिने जानकारी दिए । उनले सत्ता गठबन्धनका तर्फबाट एमालेका उम्मेदवारलाई समर्थन जनाउनु नै राष्ट्रिय गठबन्धन हो भन्ने तर्क अघि सारे ।