विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिन आउनेहरूको भीडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले मुख्यमन्त्री भएलगत्तै करिब १० दिन सार्वजनिक बिदा परेको र अन्य समयमा पनि बधाई दिन आउनेहरूको भीडले काममा असर परेको बताए ।
‘बधाई र शुभकामना दिन आउनेलाई भेट्दिनँ भन्न पनि मिलेन, समय दिनै प¥यो’ कार्कीले भने, ‘तर, एकपछि अर्को बधाई दिने टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ ।’ मुख्यमन्त्री नियुक्त भएको एक महिना पूरा हुन लागे पनि बधाईको क्रम नरोकिएको उनले बताए । आफूले बिदाको दिन पनि कार्यालय पुगेर बधाई थापिरहेको जानकारीसमेत उनले दिएका छन् ।
‘छिट्टै बधाई लिनेदिने कार्यक्रम सकियोस् भनेर म दुई दिन जति बिदाको समयमा पनि कार्यालयमा बसँे’ उनले भने, ‘अहिले पनि बधाई दिन आइरहनुभएको छ, तपाईंहरू नआउनुहोस् भन्न पनि सक्दिनँ ।’ गत पुस २५ गते कार्कीले मुख्यमन्त्रीको सपथ लिएका थिए ।
मुख्यमन्त्री भएपछि बधाई, शुभकामना तथा उद्घाटनमै व्यस्त भएको भनेर आलोचना भएपछि उनले जवाफ दिएका हुन् । अर्को एक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले अघिल्लो सरकारले जसरी हैकमवादी शैलीमा राजनीतिक नियुक्ति परिवर्तन नगर्ने बताए । ‘२०१७ साल पुस १ गते राजा महेन्द्रले नेपालका विधानका धाराहरू निलम्बन गरेर बहुदलीय शासन प्रणाली मिचेजसरी नै अघिल्लो सरकारले हैकमवादी शैली अपनाएर केही राजनीतिक नियुक्ति हटाएको थियो’ उनले भने, ‘तर, म त्यसो गर्दिनँ । म संस्था नै खारेज गर्ने पक्षमा छैन ।’
शेरधन राई नेतृत्वको सरकारले आदेशबाट ल्याएको सञ्चार प्रतिष्ठानलाई राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेर कानूनमार्फत् संरचना निर्माणको प्रयास गरेको थियो । सरकारले प्रदेश आमसञ्चारसम्बन्धी विधेयक तयार गरेर प्रदेशसभामा पेश गरेकोमा नेकपा (एमाले) का सांसद् इन्द्रमणि पराजुली सभापति रहेको न्याय प्रशासन तथा विधायन समितिले विधेयक रोकेर राखेपछि कानून बन्न सकेन ।
पराजुलीले नियतवश विधेयकलाई अड्काएर कानून बन्नबाट रोकेको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन् । अघिल्लो सरकारले तयार गरेको विधेयकमा भने प्रदेश मिडिया काउन्सिल गठन गर्ने प्रावधान रहेको छ । हिजोजस्तो एक्लो सरकार नभएकाले काम गर्न ढिलो भएको बताउँदै मुख्यमन्त्री कार्कीले कर्मचारीका कारण पनि काम गर्न सजिलो नभएको उल्लेख गरे ।
मन्त्रीहरूले सोच्ने तरिका र कर्मचारीले सोच्ने तरिकामा फरक हुने गरेकोले पनि काममा असर परिरहेको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले अहिले कायम रहेको ९ वटा मन्त्रालयको सङ्ख्या बढ्नसक्ने सङ्केत गरेका छन् । ‘अहिले ९ वटा मन्त्रालय कायम गरिएको छ, यद्यपि सङ्घीय सरकारले अनुसूचीमा भएका अधिकार प्रदेशमा पठायो र कार्यबोझ थपियो भने यो सङ्ख्या बढ्नेछ’ उनले भने, ‘तर, त्यसरी बढ्दा पनि १३–१४ पुग्दैन ११ वटासम्म हुनसक्छ ।’