धरान । पहिचानवादी शक्तिहरू एक ठाउँमा उभिन केही दलहरू औपचारिकरूपमा कसरत थालेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र रन्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पत्राचार गर्दै ‘कार्यगत एकता वा एकीकरण’ दुवै विकल्प खुला गरेको छ । दुई पार्टीले छुट्टाछुट्टै पत्राचार गर्दै दुवै विकल्पमा जान सक्ने बताएको छ । उनीहरूले पहिचानवादी शक्तिहरू एक ठाउँमा उभिनु अहिलेको वर्तमान समयको माग रहेको उल्लेख गरेका छन् ।
एकताको प्रस्तावलाई लिङ्देनले जवाफ दिएका छैनन् । यसबारे बुझ्न उनलाई फोनसम्पर्क गर्दा पनि फोन उठाएनन् । अध्यक्षबाहेक अन्य पार्टीका नेताहरूले एकता गरेर पहिचानवादी शक्तिहरू एकठाउँमा उभिनुपर्ने बताउँदै आएका छन् । त्यसो त लिङ्देनलाई राष्ट्रिय जनमुक्ति पार्टीले पनि यसअघि दुई पटक एकताका लागि आह्वान गरिसकेको छ ।
गत पुस २८ गते पार्टी अध्यक्ष केपी पालुङ्वाले पत्राचार गर्दै एकताको आह्वान गरेका थिए । अध्यक्ष पालुङ्वाले एकताको लागि पहल भइरहेको र सकारात्मक संवाद अगाडि बढेको बताए । उनले भने, ‘लिङ्देनको पार्टीभित्रको पनि एकता पक्षधरहरू संवादमा छन्, लिङ्देन आफै चाहिँ सकारात्मक छैनन् भन्ने आएको छ ।’
जसपाले गठन गरेको एकता वार्ता समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले एकताका लागि औपचारिक पत्राचार गरेका छन् । पत्रमा लेखेका छन्, ‘देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबीचको एकता खोजिरहेको छ ।’ पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने दलहरूसँग पार्टी एकताको ठोस रूपमा पहल गर्न एकता वार्ता समिति गठन गरेको पनि उल्लेख गरेको छ ।
लिङ्देनको पार्टीलाई पत्राचार गर्दै संयोजक श्रेष्ठले लेखेका छन्, ‘पार्टी एकताका लागि विचारधारात्मक तथा सङ्गठनात्मक विषयमा वार्ता एवम् छलफल गर्नका लागि हामी तपाईंको पार्टीसँग हार्दिकताका साथ प्रस्ताव अगाडि बढाउन चाहन्छौँ ।’ अहिले पहिचान पक्षधर पार्टीहरू गोलबद्ध बनाउन सबैजसो साना पार्टीहरूले तयारी थालिरहेका छन् । गत मङ्सिर ४ गतेको आम निर्वाचनमा साना तथा पहिचानवादी दलहरूले ‘थ्रेस होल्ड’ कटाउन नसकेका कारण पनि कतिपय दलहरू राष्ट्रिय दल बन्न सकेका छैनन् । यतिसम्म कि माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि राष्ट्रिय दल बन्नका लागि चाहिने थ्रेस होल्ड कटाउन सकेको छैन ।
हाम्रो पार्टी अध्यक्ष बैठकसम्म बस्न मानिरहनुभएको छैन । बैठकबाट भागिरहनुभएको छ । यसले समग्रमा लिम्बुवानको आन्दोलनलाई कमजोर बनाउने काम गरिरहेको छ ।
यता लामो समयदेखि पहिचानवादी दलका रूपमा स्थापित राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा अन्य दलहरूको अवस्था नाजुक छ । यता हालै उदाएको नागरिक उन्मुक्ति पार्टीले केही सिट जिते पनि थ्रेस होल्ड कटाउन सकेको छैन । समान्यतः थ्रेस होल्ड कटाउनका लागि कुल खसेको मतको ३ प्रतिशत मत पुर्याउनुपर्छ ।
अहिले नागरिक उन्मुक्ति पार्टीले पनि लिङ्देन नेतृत्वको पार्टीलाई ‘कार्यगत एकता वा एकीकरण’ दुवै विकल्प खुला गरेको छ । पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले मञ्चलाई माघ २१ गते पत्राचार गर्दै दुवै विकल्प खुला गरेको उल्लेख गरेकी छन् । पत्रमा भनिएको छ, ‘पार्टीले विचार, मुद्दा, कार्यदिशा मिल्ने पार्टीहरूसँग कार्यगत वा पार्टी एकीकरण सम्बन्धमा छलफल गर्न चाहेकोले यदि समन्वय र एकीकरणमा तपाईंको पार्टीको इच्छा वा अवधारणा भए यथाशीघ्र वार्ता टोली वा कार्यदल भए पत्र वा फोनमार्फत् जानकारीका लागि यो पत्र प्रेषित गरिएको छ ।’
मञ्चका महासचिव अशोक चेम्जोङले अध्यक्षबाहेक सबै नै पार्टी एकताको पक्षमा रहेको दाबी गरे । उनले भने, ‘अध्यक्षबाहेक सबै नै सेन्टपर्सेन्ट एकताको पक्षमा जानुपर्छ भन्ने छ ।’ उनका अनुसार अहिले पार्टी एकीकरणका लागि प्रस्ताव गरेका दलहरूको लक्ष्य, मुद्दा, एजेन्डामा सामान्य मतभेद मात्रै रहेको छ । ‘सारमा सबैको कुरा एउटै नै हो । खाली घरमा सेतो कलर लगाउने कि रातो लगाउने भन्ने मात्रै हो’ उनले भने, ‘तर, हाम्रो पार्टी अध्यक्ष बैठकसम्म बस्न मानिरहनुभएको छैन । बैठकबाट भागिरहनुभएको छ । यसले समग्रमा लिम्बुवानको आन्दोलनलाई कमजोर बनाउने काम गरिरहेको छ ।’ उनले अलग–अलग बस्दाखेरि पहिचानको आन्दोलन कमजोर बनेको बताए । ‘सानो सानो पसल थापेर पहिचान विरोधी तत्वहरूलाई नै मलजल पुगेको छ’–उनले भने ।
आखिर किन लिङ्देन पार्टीलाई एकता गर्न किन डराउँदैछन् भन्ने प्रश्न उठ्न थालेको छ । अहिले देखिएको विभिन्न अवस्था तथा दृश्यहरूले पनि साना दलहरू एक ठाउँमा आउनुपर्ने देखिएको छ । तर, लिङ्देन पार्टी एकताको पक्षमा डराउनुपर्ने कारणबारे महासचिव चेम्जोङ भन्छन्, ‘अध्यक्ष उल्टो पार्टी फुटाउने लाइनतिर गएको देखिन्छ ।’