हाम्रो देशको दुरावस्थाका जिम्मेवार पहिले हामी आफैँ नै हौँ र त्यसपछि मात्र बाह्य प्रभावले काम गरेको छ, हुन्छ । आफ्ना आन्तरिक कमी कमजोरी लुकाउन बाह्य हस्तक्षेपलाई आधार मान्ने प्रचलन बढ्दै गएमा हामी झन् बढी परनिर्भर हुनेछौँ । तावाको तापले उफ्रेको माछो आगाको भुङ्ग्रोमा परेझैँ हुनेछ देश । द्वन्द्वको अन्त्यभन्दा अरू झन् ठूला विवाद, विग्रह र विखण्डन निम्तिने सम्भावना बढ्ने छन् । त्यसैले आधिकारिक र जिम्मेवार व्यक्तिले हतारिएर गैरजिम्मेवार अभिव्यक्ति दिन छाड्नुपर्छ र अलि संयमित भएर आत्मसमीक्षा गर्नुपर्छ । आन्तरिक रोगको उपचार बाहिर खोज्न हिँड्नु हुँदैन । गौतम बुद्धले अपनाएको विपश्यना ध्यान वा विधिको अर्थ पनि त्यही हो । ध्यानविनाको ज्ञान खोज्दा र प्राप्त ज्ञानलाई पनि सदुपयोग गर्न नसक्दा दुर्दिन बढ्दै गएका हुन् । हीराका खानीमा बसेर कीराको महिमा गान गर्ने बानी परेपछि हुने हुनामी यही हो, जो हामीले भोगिरहेका छौँ ।
हाम्रो देशमा भएका प्राकृतिक एवं दैवी विपत्तिबाहेकका अन्य सबै घटनाको जिम्मा पहिले हामी आफैँले लिनुपर्छ, त्यसका योजनाकार बाहिरै रहेका भए पनि । जानेर वा नजानेर बाह्य षड्यन्त्रको सिकार वा प्रयोग हुन जाने अवस्था तयार हुनु आफैँमा दुर्भाग्यपूर्ण थियो र छ । विचार र व्यवहार आयात गर्न बाध्य हुनु पनि आफैँमा परनिर्भर हुनु हो । यो वाद र त्यो वादका नाममा हामीले जुन सिद्धान्त, आदर्श र आस्था भिœयाएका छौँ, त्यससँगै आएको परनिर्भर संस्कृति सारा विकृतिको जड हो भन्दा पत्यार नलाग्ला । त्यो पत्यार नलाग्ने रोग पनि परनिर्भर सोच र संस्कारले ल्याएको छ । नवीन आवरणमा आएका पुरानै पद्धति र प्रणालीले बनाएको छ । सुधार्न समय लाग्छ धेरै । दुई÷चार वर्षमा सम्भव छैन, हुँदैन । बिग्रन पनि त सयौँ र दशकौँ वर्ष लागेको हो, सपार्न पनि लाग्छ । नत्र गौतम बुद्धको बुद्धि र वीर गोर्खालीको बहादुरीलाई चुनौती दिने आँट कसैले गर्ने थिएनन्, यो दुनियाँमा । लोभ र लाभका लालचमा परेर लत्रँदै लम्पसार पर्दा गुमेको हो, हाम्रो स्वाभिमान र सम्मान । आधार तयार नपार्दै अभिमान गर्दैमा फर्किदैन सजिलै । एउटाको काखमा बसी अर्कोलाई धारेहात लगाएर श्राप दिँदैमा उम्कन सकिन्न । आफ्नै खुट्टामा उभिनसक्ने भएपछि बैशाखीको सहारा चाहिन्न । आफैँ आफ्ना खुट्टामा उभिनका लागि प्रयास जारी राख्नुप¥यो । त्यो प्रयास जारी राख्दा पहिले बैशाखी दिएकालाई आरोप लगाउन पर्दैन । बैशाखी लिन जानु हाम्रो आफ्नै कमजोरी थियो । अहिले मुखले पौँठेजोरी खेल्न नखोजौँ, नचिढाऔँ, नबिच्काऔँ ।
दुश्मनको दुश्मनीले पनि आत्मनिर्भर बन्न प्रेरणा दिन्छ । अक्कलविना छिमेकीको नक्कल गर्न नखोजौँ । छिमेकी घोडामाथि चढेको देखेर आफू कुकुरमाथि चढ्दा टोकाइ र भुकाइ आइलागेको हो । मीठोका लागि जुठो खाँदा क्षयरोग सरेको हो । अब आफ्नै हिमाली जडिबुटीबाट उपचार गर्न कोसिस गरौँ, सम्भव छ । लोभी आँखा र मनले मात्रै असम्भव देख्ने हो । पौरखीहरूले पुरुषार्थ गर्छन्, परमार्थ प्राप्त गर्छन् । अल्छीहरूमात्र बल्छीमा पर्छन् । आफैँ बल्छीमा परेकाले केही लछार्न सक्दैनन् । ‘झिँगाका रिसले डिँगा मर्दैनन्’ भन्ने लोकोक्ति सम्झे हुन्छ । आन्तरिक अवस्था सुदृढ नपारी गरिएको आन्दोलन र प्राप्त उपलब्धिले आफैँलाई चक्रब्यूहमा फँसाउँछ भन्ने कुरा सबैले बुझेका छन् । मधेस आन्दोलन होस् वा अवस्था तयार नहुँदै ल्याइएका सङ्घीयता र धर्मनिरपेक्षता, प्रमाण प्रत्यक्ष छ । किमाधिकम् ?
प्राविधिकरूपमा प्रक्रिया पु¥याएर पदमा पुग्नु र कद अनुसारको पद प्राप्त हुनुमा धेरै फरक छ । कद र पदको सन्तुलन मिल्न बडो गाह्रो हुन्छ, पर्दोरहेछ । व्यक्तिले खोज्ने कुर्ची र कुर्चीले रोज्ने व्यक्ति एउटै हुँदा रहेनछन् । कद र पद अनि पद र कद नमिल्दाको परिणाम भोगेकै छौँ । उच्चओहोदामा पुगेका व्यक्तिका बोली र व्यवहार तुच्छ हुनुको कारण त्यही हो । ‘नानीदेखि लागेको बानी सिस्नोपानी लगाउँदा नि नजानी’ भनेको पनि यही हो । ब्रसेल्समा वक्तव्य जारी हुन्छ, यहाँ हामी कराउँछौँ । अनावश्यक वक्तव्यलाई बढी महŒव दिएर आफ्नो महŒव घटाउँछौँ । आफू ठीक ठाउँमा भए त्यस्ता हजार वक्तव्यले पनि केही लछार्दैनन् । कमजोर जगमा उभिएकाले भन्ने हो– स्याल कराको, म नडराको खाट डराको । आफू डराएर काम्दा हल्लेको खाट समाएर चर्को स्वरमा कराउँदैमा बहादुर भन्दैन कसैले पनि ।
राणा र पञ्चलाई सरापेर सुशासन आउँदो रहेनछ । नेपालमा कम्युनिस्ट र काँग्रेसले शासनमा आसन जमाएको भनिन्छ । कम्युनिस्टभित्र कम्युनिस्ट र काँग्रेसभित्र काँग्रेस भेट्न पनि अब गाह्रो छ । दुवै पार्टीलाई नवकुलीन नामका राणा र पञ्चका प्रेतहरूले कब्जामा लिइसकेका छन् । साँच्चैका काँग्रेस र कम्युनिस्ट दुवैबाट बाहिरिएका छन्, बेवारिसे, बेसहारा भएका छन् । सक्नेजति विदेशतिर गइसके । नसक्नेहरू मृत्यु कुरेर बसेका छन् गाउँमा । तिनैले झेल्छन् बाढी, पहिरो र भूकम्प । अनिकाल, आगलागी र आहत । राहत पनि पाउँदैनन् । पाउनेहरूमा पारिँदैनन् । त्याग, तपश्या र सदाचारले डाँडा काटिसके । देशभक्ति, जनभक्ति र लोकतन्त्र आफैँ लोप भइसके । माफियागिरी र लोभतन्त्रको चक्चकी र जगजगी छ । प्रशासक मन्त्री हुनु, सांसद न्यायाधीश बन्नु र न्यायाधीशले मन्त्रिपरिषद्को अध्यक्षता गर्नु पनि अधोगतिका प्रमाण हुन् । राजनीति गर्नेहरू अराजनीतिक खेलमा लाग्ने र प्राविधिक, प्रशासक, न्यायाधीशहरूले राजनीति गर्न थालेपछि जे पनि हुन्छ । यस्तैमा हो अराजकता, अस्थिरता र उद्दण्डता मौलाउने पनि । मौलाएकै छ । जरा जरामा मल र जल पु¥याउने बाहिरै बसेर स्वचालित यन्त्रद्वारा सञ्चालन गर्दैछन् । सञ्चालित यहाँ उफ्रदैछन् । त्यसैले आफूले बिगारेकोमा पनि अर्कोलाई आरोप लगाएर उम्कने गरिन्छ । थितिले लिक छाडेको छ । बेथिति छ । लिकमा ल्याउन समय लाग्छ । सर्वसाधारण त्यसैको प्रतीक्षामा छन् । प्रतीक्षाको घडी कहिलै सकिने रहेनछ । नयाँ संविधान आओस् वा गणतन्त्र ! गरिबका गाउँमा जाँदोरहेनछ त्यो ।
प्रकृतिले दिनुसम्म दिएको, पूर्खाले पनि जोगाइदिएको सारा सम्पत्ति र स्वाभिमान हामीले जोगाउन सकेनौँ । पूर्खालाई सराप्दै र परम्परालाई बहिष्कार गर्दै जाँदा हामी परनिर्भर भएका हौँ । अरूले त आफ्ना पूर्खाका पौरखको प्रशंसा गर्छन् । त्यसैलाई परिष्कृत गर्दै जान्छन् । पैतृक सम्पत्ति र घर बेचेर सहर पस्ने र लाहुर जाने रहर गर्दैनन् । हामीलाई लाहुरे संस्कृतिले लोभमा पा¥यो । त्यसैले ‘सुन बोकेर लाहुर, नुन बोकेर घर’ गर्न विवश गरायो । नदी बेचेर बिजुली किन्न पारेको हो त्यसैले । पौने तीन करोड जनसङ्ख्या भएको मुलुकबाट ५० लाख युवालाई विदेश धपाएर खाली ठाउँमा छिमेकीलाई छिराएको हो त्यसैले । आफ्नै देशमा परदेशीजस्ता हुन परेको छ सच्चा नेपालीले र नागरिकता किनेर नेपाली बनेकाले घुक्र्याउने दिन आएको छ । शासनका आसनमा पद र कद नमिलेपछि अरू पनि हुन्छ, हुनेछ धेरै । मन्त्रीकै माग पूरा नभएको देशका जनताको हालत के होला ?