समृद्धि राई को हुन् थाहा छैन । मैले उनलाई चिनेको पनि छैन देखेको पनि छैन फेशवुकमा बाहेक । उनको गीत सुनेको पनि छैन । तर उनले एक कार्यक्रममा बोलेको कुरालाई लिएर अहिले आदिवासी जनजाति मध्ये राई र लिम्बु समुदाय चिढिएकामात्र छैनन् सामाजिक संजालमा भएनभएको गालीको बर्षा गरिरहेका छन् । विवाद र तनाव नै सृजना हुने गरी राई र लिम्बु समुदायले चलाउने सामाजिक संजालका स्टाटस, च्याटरुम, मेसेजहरु भरिएका छन् ।
विविसिको साझा सवाल कार्यक्रममा मे २२ मा प्रसारित कार्यक्रममा उनलाई संचालिका विद्या चापागाईले ‘समाज र राजनितिबाट नेपाली युवाहरु के चाहान्छन् ?’ भन्ने मुल वहस अन्तर्गत समृद्धिलाई पनि ‘तपाई गीत गाउनु हुन्छ, ‘तिमि को हौं थाहा छैन म चै नपाली’ भनेर किन गाउनु भयो त्यो गीत ?’ भनेर सोधेकी थिइन् ।
जवाफमा समृद्धिले संक्षेपमा गीत, संगित पत्रकारिता र ट्राभल डकुमेन्ट्री गरिरहेको कुरा सकेपछि त्यही गीत गाउने र लेख्ने सन्दर्भमा भनेकिछिन्, ‘मलाई राई समाजमा हुर्किदा मेरो फस्र्ट गीतमा राई किराती लिम्बुहरु कमेण्ट गर्न आउनु भयो । उनीहरुले राई किराती कस्तो ट्यालेटेट भनेर कमेण्ट गरे । यस्तो कमेण्ट आउदा दुख पनि लाग्यो खुसी पनि लाग्यो । मलाई ट्यालेट राई किराती मात्र नभनेर ट्यालेट नेपाली पनि भनेको भए हुन्थ्यो । चिनमा मिस टुरिज्म भएर नेपालको प्रतिनिधित्व गरेर जादा पनि त्यहा कसैले मिस किरात भनेनन् । मेरो फुपुहरुले हुर्केपछि राई लिम्बु केटा नै व्या गर्नु पर्छ है भनेर भनेपछि झन मलाई राई लिम्बु केटा हेर्नै मन लागेन । किन चाही जातको क्राइट एरिया दिनु भयो उहाले । कतिपय साथीहरु थकाली गुरुङ साथीहरुले पनि थकाली नै र गुरुङले गुरुङ नै व्या गर्नु पर्ने रे । यो त चित्तै नबुझ्ने कुरा भयो । हामीलाई यति धेरै एजुकेशन मोर्डन युवा बनाएर पनि आखिरमा फलो गर्नु पर्ने पुरानै टे«डिसन हो भने त मिलेन ।’ समृद्धिले बोलेको कुरा यति हो ।
यद्यपी सामाजिक संजालमा भनिए जस्तै राई लिम्बू समुदायलाई घृणा गर्छु भनेर चाही भनेकी छैनन् । शायद विवाहको सन्दर्भमा राई लिम्बु केटा मन पर्दैन भनेकी होलिन् । यो उनको व्यक्तिगत अधिकार हो । विवाह को संग गर्ने उनको इच्छा हो । उनीसंग दश बर्ष पत्रकारिता गरेको अनुभव रहेछ । पत्रकारिता जाति, राजनिति भन्दा माथि हुन्छ । उनी गीत लेख्ने र गाउने कलाकार पनि रहेछिन् । कलाकार सवैको साझा हुन्छ । कलाकारको कलालाई कुनै पनि जातिय, धार्मिक राजनितिक र भौतिक सिमाले छेक्न सक्दैन । तर उनी चुकिन् चार वाक्यमा । उनको हाडविनाको जिव्रोले ‘झन् मलाई राई लिम्बु केटा हेर्नै मन लागेन’, ‘हामीलाई यति धेरै एजुकेशन मोर्डन युवा बनाएर पनि आखिरमा फलो गर्नु पर्ने पुरानै टे«डिसन हो भने त मिलेन’ मलाई ट्यालेट राई किराती मात्र नभनेर ट्यालेट नेपाली पनि भनेको भए हुन्थ्यो’ र चिनमा मिस टुरिज्म भएर नेपालको प्रतिनिधित्व गरेर जादा पनि त्यहा कसैले मिस किरात भनेनन्’ भन्ने वाक्यमा नराम्ररी चुकिन् । यिनै चार वाक्यका पछि लागे तमाम पहिचानवादी राई लिम्बुहरु ।
सामाजिक संजाल फेशबुक, ट्वीटरहरुमा समृद्धिको फोटो राखेर उछितो काढ्नेहरुको तांत जन्मिए रातारात । कतिपयले उनको भनाईलाई अतिरन्जीत पनि बनाए । कतिपयले उनको त्यति बोल्ने व्यक्तिगत अधिकार हो पनि भने । ती कमेन्टहरु यहा उल्लेख गरिरहन आवश्यक छैन । आदिवासी जनजाति समुदायका राई र लिम्बुहरुले समृद्धिलाई आफ्नै चेली आधुनिकताको नक्कली पहिरन लगाएर सांस्कृतिक परम्परा, मौलिकता, जातिय पहिचान विरुद्ध लागेकी रहिछन् भन्न बाध्य भए । भोजपुर वा खोटाङको कुनै विकट गाउमा कोदो रोप्दै गरेकी समान्य किरात राई चेलीले समृद्धिले जस्तै बोलेकी भए पक्कै पनि यति धेरै कमेण्टको आक्रमण हुदैन थियो । तर समृद्धि युवा सेलिव्रेटी, मिस टुरिज्म, गायिका, गीतकार र सोसियल पर्सन दरिएकीले राई लिम्बु समुदायको कमेण्टको बाण सहन बाध्य भइन् । र, उनले माफि पनि मागि सकेकी छिन् । तर भर्चुअल फेशबुक मार्फत मात्र । सार्वजनिक रुपमा छैन ।
समाज जहिले पनि आफ्नो मौलिक जाति, भाषा, कला संस्कृति र धर्म प्रति संवेदनशील हुन्छ । नेपाली समाज यही संवेदनशीलताको संक्रमणकालमा गुज्री रहेको बेला समृद्धिको मुखबाट जातियताको विरुद्ध, परम्परागत मौलिक संस्कृतिको विरुद्ध, मानवशास्त्र समाज शास्त्र विरुद्ध ओकल्न लगाइयो । ती चारवाक्य बोल्दा यति धेरै हंगामा होला भन्ने पक्कै पनि समृद्धिले सोचेकी थिइनन् । उनले गाएको ‘तिमि को हौं थाहा छैन म चैं नपाली’ भन्ने गीत नै विरोधाभासले भरिएको छ । विदेशमा जादा नेपाली राहादानी अनुसार नेपाली नागरिक वा नेपाली भन्न सकिन्छ तर नेपाल मै रहेको अवस्थामा कुनै पनि जात जाति सम्प्रदायका व्यक्तिले नेपाली मात्र भनेमा के बुझ्नु ? नेपाली भनेको के हो ? यो सिंगो र साझा आस्था विश्वास र मान्यताले भरिएको सम्प्रभुसत्ता सम्पन्न राष्ट्रियता हो । तर यो नेपाली भित्र सयौं जात जाति, सम्प्रदाय छन् । उनीहरुको आफ्नै मौलिकता छ । ती जात जातिका आफ्नै भेषभुषा, भाषा–लिपि कला, संस्कृति संस्कार र धर्म छ । के ती चाही नेपाली होइन ? खस ब्राम्हण वा हिन्दु धर्मद्धारा निर्देशित आचरण, भाषा, लिपि कला संस्कृति, भेषभुषा धर्म संस्कार रिति रिवाज मात्र नेपाली हो त ? हो, यहा कुरोको चुरो लुकेको छ । आदिवासी जनजाति मधेशी दलित लगायत सिमान्तिकृत समुदायले आफनो पहिचानलाई पनि राज्यले अंगाले मारेर माया गरोस् भन्ने चाहान्छन् । एउटा लिम्बुका लागि उसको भाषा लिपि कला संस्कृति धर्म प्यारो हुन्छ । किनकी ऊ त्यसैमा हुर्केको हुन्छ । त्यस्तै अन्य जातिका व्यक्तिलाई पनि आफ्नै मौलिकता प्रति माया लाग्छ । ती सवै मौलिकता जोडेर मात्र नेपाली राष्ट्रियता बन्छ भन्ने बुझीनन् वहिनी समृद्धिले । यहां जातिय कुरा गरेको होइन । जसरी गैर आदिवासी जनजाति वा लिम्बुलाई आफनो पहिचानप्रति माया लाग्छ त्यस्तै कुरामा मात्र राखेको हो ।
उनले साझा सवाल कार्यक्रममा किराती राइको जिनोम बोकेर पनि आफ्नै जिनोम विरुद्ध बोलेकि छिन् । अभिभावकले छोरा छोरीलाई शिक्षा दिक्षा दिएर आधुनिक शहरी ज्ञान दिलाए भन्दैमा आधुनिक हुन सकिन्न भन्ने बुझ्न सकिनन् उनले । मोर्डन र शिक्षित हुनुमा र विवेकशील ज्ञान प्राप्त गर्नुमा धेरै फरक छ । पाश्चात्य शैली अपनाउदैमा मोर्डन हुन सकिन्न र पिएचडी गर्दैमा पनि ज्ञानी हुन सकिन्न । शाक्य बंशका सिद्धार्थ गौतम बुद्ध आधुनिक युगमा नजन्मेपनि उनी विवेकशील ज्ञानीका रुपमा चिनिएको त्यसै होइन । आवरण आधुनिक देखिएपनि गुदि फोश्रो भयो । परम्परावादी हुनु हुन्न तर राम्रो परम्परालाई आत्मसात गर्दै समय सापेक्ष सधार्दै लैजानु पर्छ । परम्परामा अन्धविश्वास हुनु हुदैन । समृद्धिले आधुनकिता भित्रको अन्धविश्वासलाई आत्मसात गर्दा बोलि चिप्लियो ।
अर्को कुरा एउटा राईको छोरीले मिस टुरिज्ममा आफ्नो प्रतिभा देखाउदा वा, गाउदा वा गीत लेख्दा वा पत्रकारिता गर्दा वा ट्राभल डकुमेण्ट्री बनाउदा विदेशमा हो भने पक्कै पनि ‘आहा ट्यालेण्ट नेपाली युवती’ भन्छ । उनीहरुलाई नेपालमा राई किरात जाति भनेर थाहै हुदैन । जस्तै हामीलाई अमेरिकामा आदिवासी जनजाति भएपनि उनीहरुको जात सम्प्रदाय थाहा छैन । तर त्यहीका विषयमा अध्ययन गरे थाहा हुन्छ । यही कुरा नेपालमा, समृद्धि वहिनीले आफनो ट्यालेण्ट देखाउदा कुनै पनि बाहुन क्षेत्री समुदायले भन्न सक्छ ‘आहा क्या ट्यालेण्ट राई युवती ।’ आहा क्या ट्यालेण्ट नेपाली युवती भन्दैन । झन् जाति भाषा संस्कृति र भूगोलको साझा मनोविज्ञानमा हुर्केका राई लिम्बु समुदायले त भन्ने नै भए ‘आहा क्या ट्यालेण्ट किरातीको छोरी ।’ उनले राई लिम्बु समुदायले नेपालीको छोरी क्या ट्यालेण्ट नभनेको मा दुख नमानेको भए वेस हुन्थ्यो । उनको शरीरमा भएको कोषकोषको जीनमै किराती राई भएको जातको ‘क्राइट एरिया’ लाई पनि मन नपराएको कुरा उनले व्यक्त गर्नु हुन्न थियो । उनले भने जस्तो यो क्राइट एरिया कुनै हिन्दु बर्णाश्रमको छत्तिस बर्ण चार जात भित्र पर्दैन । समृद्धिको शरीरमा भएको किराती राईको जीन प्राकृतिक हो । राई लिम्बु गुरुङ तामाङ मगर भन्ने जातको जीन कसैले दान गरेर दिएको होइन । हजारौं बर्ष अघिको बाजे बराजु पुर्खाको निरन्तरता हो । समाजशास्त्र मानवशास्त्रले यसो भन्छ । कुनै राई वा लिम्बु जात लाई कुनै युरोपियन मुलुकको कुनै जाति हो भनेर नाम दिदा हुन्छ ? तर छुवाछुत र विभेदको आधारमा दलित वा अछुत भनेर भन्न सकिन्छ । तर लिम्बुलाई लिम्बु नै राई लाई राई नै भन्नै पर्छ । यसो भन्दा समृद्धि जस्ता बहिनीलाई जातिय कुरा कसरी हुन पुग्यो जीन नै राई किराती भएपछि ।
अर्को कुरा, उनी पहिले नेपाली कि राई भन्ने विषयमा उनी भ्रमित भएकी छिन् । भारतमा बस्नेलाई भारतीय वा इण्डीयामा बस्नेलाई इडियन, चिनमा बस्नेलाई चिनिया भने जस्तै नेपाल भन्ने देशमा बस्ने जनतालाई नेपाली भनिन्छ । भनिएको हो । अन्तराष्ट्रिय स्तरमा अर्थात आफ्नो देशको भूगोलको सिमाना काटेर जादा त्यहा समृद्धिको परिचय अवश्य नेपाली हुन्छ तर नेपालमा राई किराती नै हुन्छ । उनले ‘तिमि को हौं थाहा छैन म चै नपाली’ भनेर गाइकी छिन् । यो गीत विदेशको कन्सर्टमा सान्दर्भिक हुन्छ । नेपालमा बसेपछि नेपाली नै हो, किन म नेपाली भनिरहनु प¥यो ? कि चिन्दैन अर्को नेपालीले ? नेपाल भित्र आफ्नो पहिचान खोज्नेहरुले ‘म नेपाली’ हो भनेर परिचय दिदा समृद्धि वहिनीको पहिचान के हो ? किराती राई होइन ? अनि समृद्धिको भाषा लिपि, संस्कार संस्कृति, भेष भुषा, साकेला, नाक्छोङ, तीनचुला, चिम्से आंखा, नेप्टो नाक, थांतथलो भुगोलमा खोटाङ ओखलढुङ्गा भोजपुर होला । जातियता मान्दिन भनेर जजिसुकै नेपाली मात्र भनेर कुर्ले पनि, अमेरिका क्यानडा भासिएपनि आखिरमा पहिला कहांको, को थिइस्, को होस् भनेर प्रश्न गर्दा वा समृद्धिको शरीरको जीनको वैज्ञानिक परिक्षण गर्दा वा मानवशास्त्रको सिद्धान्त अनुसार खोज अनुसन्धान गर्दा आफै थाहा पाउने सामान्य कुरा हुन ।
बांकी रह्यो समृद्धिमाथि सामाजिक संजाल मार्फत आक्रमणको कुरा । उनले बोलेपछि उनको भनाई मन नपराउन सकिन्छ । तर एउटी किराती राई चेलीमाथि तालिवानी शैली अपनाएर तथानाम गाली गलौज गर्नु अति भन्नु पर्छ । मलाई लाग्छ उनले राई लिम्बु समुदायको पहिचान, जाति भाषा, कला संस्कृति प्रति अज्ञाताकोकारण नजानेर प्वाक्क बोलिन् । नजाने पछि भएको गल्तीलाई सुधार्न सल्लाह दिनु पर्नेमा अनेक शव्द बाणको आक्रमण गरेर किराती राई लिम्बु समुदायबाटै निमिट्यान्ट पार्न खोज्नु तालिवानी शैली नै हो । विवाहको सन्दर्भमा राई लिम्बु केटा हेर्न मन पर्दैन भन्नु उनको नैसर्गिक अधिकार हो । जवर्जस्ती मन पराउ भनेर लाद्न सकिन्न । उनले आफनो धारणा राखेकी हुन । त्यसैलाई नेपालको कुनै राष्ट्रपति, प्रधानमन्त्री मन्त्री वा सचिवले बोलेझै एकोहोरो उछितो काढ्नु हद नै मान्नु पर्छ । उनले राई लिम्बु केटा मनपराउदिन भनेर भन्दैमा कुनै पहाडै खस्ने, जातीय भिडन्त हुने, साम्पदायिकदा फैलने अवस्था म देख्दीन । उनले राइ लिम्बु केटा नै मनपराउनु पर्छ भन्ने कुन निति सिद्धान्त वा संविधानमा लेखिएको छ ? मुख्य कुराको बहस नै उनले राई लिम्बु केटालाई हेर्न सक्दिन भन्ने वाक्यलाई लिएर भएको छ । उनी किरात भएकैले समृद्धिले किराती राई लिम्बु केटा मन पराउदिन भन्न पाउने कि नपाउने ? तर राई लिम्बु जातिलाई मन पराउदिन भनेर उनले भनेकी छैनन ।
उनले सार्वजनिक रुपमा नभएपनि फेशवुक युटुवमार्फत माफी मागेकी छिन् । माफ माग्नेलाई माफी दिनु आदिवासी जनजातिको संस्कृति हो भन्ने बुझ्नु पर्छ ।