[caption id="attachment_3422" align="alignright" width="150"]balaram        बलराम दाहाल[/caption]

 जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस विश्वभर विविध जनचेतनामुलक कार्यक्रम गरेर मनाइदैछ । वातावरण दिवसको यस वर्षको नारा Go wild for life तय गरिएको छ । नेपालमा “हाम्रो जीवजन्तु, हाम्रा वातावरण र वन; संरक्षण गरौ लगाई सम्पूर्ण तन, मन र धन ” भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।
जहाँ सहज रुपमा प्राणी जीउन सक्ने क्षेत्र वा प्रदेशलाई वातावरण भनिन्छ । सम्पूर्ण सजीवहरुको अस्तित्व वातावरणमा हुन्छ । हाम्रो वरीपरिको यथास्थितिलाई वातावरण भनेर बुझ्छौ । वातावरणमा मुख्यत तीन तत्व हुन्छन् । जुन सजीव वस्तु जीउनका लागि अनिवार्य छ । ति तीन तत्व हुन ः पृथ्वी (माटो) हावा र पानी । यि तीन निर्जिव वस्तुहरुको भरमा सम्पूर्ण सजीव वस्तुहरु अस्तित्वमा रहेका हुन्छन् । यदि यि पर्यावरणका तत्वहरु असन्तुलित भएमा मानव तथा जीवजन्तुलाई बाँच्न मुस्किल पर्छ । हाम्रो चारै तिर रहेका माटो, पानी , हावा तथा यसमा रहने असंख्य जीवजन्तु, बोट– विरुवा, पशु–पंछी, खनिज सम्पदा आदि सबै वातावरणका अंग हुन ।
आजका वातावरणीय चुनौतीहरु

[caption id="attachment_3423" align="aligncenter" width="750"]wather                                                                                                                                        संकेत तस्विर/ श्रोत गुगल[/caption]

१) बढ्दो प्रदुषण
वातावरण भनेको एक प्रकृया हो । जसले धर्तीमा जीव र वस्तुहरुको संरक्षण गर्छ । हामी वातावरणमा जन्मन्छौ, वातावरणमा हुर्कन्छौ वातावरणमा जिउछौ अनि एक दिन वातावरण मै विलिन भएर जान्छौ । प्रदूषणका कारण अहिले दिन प्रतिदिन वातावरण विनास भई रहेको छ । यसको नकारात्मक असर देखा पर्न थालिसकेको छ ।वातावरणका तीनै तत्व हावा, पानी र माटो प्रदूषित भईरहेका छन् । यहि गतिमा वातावरण प्रदूषित भईरहने हो भने यस पृथ्वीबाट मानिस जीवजन्तु तथा वनस्पतिको अस्तित्व समाप्त हुन धेरै वर्ष नलाग्न सक्छ । प्रदुषणका प्रकारहरु यस प्रकार छन् ।
क) वायुप्रदुषण
विभिन्न प्रकारका पदार्थ, धुलो, धुँवा तथा विषालु ग्याँसहरु हावामा मिसिएर हावाको प्राकृतिक अवस्थामा पार्ने नकारात्मक प्रभावलाई वायुप्रदुषण भनिन्छ । उद्योग, कलकारखाना, सवारी साधन, कृर्षि कार्यमा प्रयोग गरिने विषादी आदिबाट निस्कने विषालु ग्याँसहरु तथा धुलो धुवाँले गर्दा वायुप्रदुषण भएको छ । शहरीकरण र शहरी क्षेत्रबाट निस्कने फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसक्दा जल,वायु तथा माटो प्रदुषण बढ्नुका साथै वातावरण विनास भईरहेको छ ।
वातावरण विनास रोक्ने तर्फ चासो नदिएमा वायुप्रदुषणका कारण कार्वनडाइअक्साइड, कार्वन मोनोअक्साइड, नाइट्रोजन, नाइट्रोजन अक्साईड, सल्फर डाई अक्साइड, मिथेन जस्ता घातक ग्याँसहरुको मात्रा हावामा अधिक हुनेछ । पृथ्वीको तापक्रम अत्याधिक बढ्ने छ । ओजन तहको विनास हुनेछ । सूर्यका पराबैजनी विकिरण पृथ्वीसम्म प्रत्यक्ष आउने छ । ओजन तहले सूर्यबाट आउने खतरनाक विकिरण रोक्ने काम गरेको हुन्छ । यदि ओजन तह विनास भएमा सम्पूर्ण प्राणीहरु क्यान्सर, प्लेग जस्ता घातक रोगको शिकार बन्नुपर्नेछ, छाला डढ्नेछ । प्राणी तथा वनस्पतिको विनासको श्रृखला चल्नेछ । नयाँ जन्मने बच्चा शारिरीक तथा मानसिक रुपमा असक्त जन्मनेछन । भयाभह स्थिति आउने छ । हामी जहाँ रहे पनि पृथ्वी एउटै छ, यस्तो स्थितिमा भाग्ने र लुक्ने ठाँउ पनि हुने छैन । छिट्टै पृथ्वीको प्रलय हुने केहि वातावरण विज्ञहरुको अड्कल छ । मानव तथा जीवजन्तुको दीर्घजीवनका लागिवातावरणीय सन्तुलन कायम राख्नु नै एक मात्र उपाय हो ।
ख) जलप्रदुषण
वायु प्रदुषण जस्तै जलप्रदुषण पनि वढ्दो छ । दुनियाँको फोहोरमैला पखाल्दा पखाल्दै नदीहरु दूषित भईरहेका छन् । पानी बग्ने नदीमा ढल मिसाइएको छ । पवित्र मानिने जलाशयको पानी छुन पनि घिन लाग्दो भएको छ । आजको यो अवस्थाको सिर्जना मानविय क्रियाकलापले नै भएको हो । शहरबाट निस्कने जे जति फोहोर मैला तथा ढल प्रायः पानीमै मिसाइन्छ । उद्योग, कलकारखानाबाट निस्कने रसायनिक पदार्थ सहितको विषाक्त पानी, कृषकले बालीनालीमा लगाएको किटनासक विषादी, मृत जीवजन्तु, धातु, प्लाष्टिक तथा अन्य धेरै फोहोर मैला वर्षाको पानीद्धारा खोलानाला, नदि हुँदै समुद्रमा मिसिन्छ । यसले गर्दा समुद्र पनि प्रदुषित भईरहेको छ ।
ग) माटो प्रदुषण
    अव्यवस्थित मानव वस्तीको विकास, शहरीकरण, खेतीपातीमा रसायनिक मल तथा किटनासकको बढ्दो प्रयोग, औद्योगिक क्षेत्रबाट निस्कने विषालु तथा हानिकारक रसायनिक पदार्थ मिश्रण भएको दुषित पानीको मिश्रण आदि कारणले माटो प्रदुषण बढिरहेको छ । यसले माटो विषाक्त बनाउछ र माटोको प्राकृतिक उर्वराशक्ति नष्ट गर्छ । फोहोरमैलाको उचित व्यवस्थापन नहुन, प्लास्टिकजन्य वस्तुको ज्यादा प्रयोग गर्नु र माटोमा जथाभाबी फाल्नु तथा धातुको मिश्रणले भु–प्रदुषण बढिरहेको छ ।
घ) खाद्य तथा ध्वानी प्रदुषण
माटो प्रदुषणले गर्दा तथा कृषिमा रासायनिकीकरणले गर्दा खाद्य प्रदुषण पनि हुने गरेको छ । प्रदुषित खाद्यले गर्दा स्वास्थ्यमा नकारात्मक असरहरु देखा पर्न थालिसकेका छन् । यसैगरी उद्योग, कलकारखानाबाट आउने आवाज, सवारी शाधनबाट आउने आवाज, भीडभाड तथा माइकिङ्गबाट निस्कने ठुलो आवाजबाट ध्वानी प्रदुषण हुने गरेको छ । यसबाट कानको श्रवण क्षमतामा असर पुर्याउछ । साथै मानसिक तनाव पैदा हुने तथा स्नायु प्रणालीमा असर पुग्ने विज्ञहरु बताउछन् ।
२)जलवायु परिवर्तन
जलवायु परिवर्तन आज विश्वका सामु एक गम्भिर चुनौतीका रुपमा प्रकट भइरहेको छ । आजको परिस्थितिमा जलवायु परिवर्तन विश्वव्यापी समस्याको समस्याको रुपमा खडा भएको छ । नेपाल लगायत विश्वका प्राय सबै मुलुकहरुमा यसका असरहरु देखा पर्न थालिसकेका छन् । जलवायु परिवर्तनले पारिस्थितिक प्रणाली, जैविक विविधताका साथै आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा नकारात्मक असर परिरहकेको छ । विश्वस्तरमा जलवायु परिवर्तनका असरहरु तथा अनुकुलनका बारेमा बहस हुन थालिसकेको छ । यद्यपि प्रभावकारी कार्य हुन सकिरहेको छैन । त्यसैले अब विश्व समुदाय एकजुट भएर जलवायु परिर्वतनका असरहरुसँग मुकाविला गर्न तथा परिवर्तित वातावरणमा अनुकुलन हुने उपायहरुको खोजी गर्ने बेला आएको छ ।
सामान्य अर्थमा जलवायु भन्नाले लामो समयको मौसमको कुल योग हो । त्यस्तै विस्तृत अर्थमा भन्नुपर्दा केही वर्षको तापक्रम, वर्षा, हावाको गति आदि जस्ता मौसमी तथ्याङ्क विवरणहरुको आधारमा तयार गरिएको औसत तथा भिन्नताको परिणमलाई जलवायु भन्ने गरिन्छ ।
हावापानीको सामान्य नियमित चक्रमा आउने असामान्य फेरबदललाई जलवायु परिवर्तन भनिन्छ । विकासित देशमा तिव्र गतिमा भइरहेको औद्योगिकरणले वातावरणमा प्रदुषण बढ्नु जलवायु परिवर्तनको मुख्य कारण हो । विकासित तथा सम्पन्न मुलुकहरु नै जलवायु परिवर्तनका मुख्य जिम्मेवार छन् । खासगरी वायुमण्डलमा कार्वन डाईअक्साइड, कार्वन मनोअक्साइड, नाइट्रोजन, मिथेन जस्ता घातक ग्याँसको अत्याधिक वृद्धिले हरित गृहमा पारेको असरले जलवायु परिवर्तन भएको हो । जलवायु परिवर्तन हुनुमा नेपाल जस्ता गरीब तथा विकासोन्मुख राष्ट्रको अत्यान्त न्युन भूमिका छ तर त्यसका असर भने हामी पनि भोग्न बाध्य भएका छौ । जलवायु परिवर्तनको असरले अहिले विशेषगरी नेपाल जस्ता गरीब तथा कृषिमा आधारित अर्थव्यवस्था भएका मुलुकहरुलाई नराम्ररी पिरोलेको छ । यसबाट गरीब, किसान तथा सिमान्तकृत समुदाय बढी जोखिममा परेका छन् ।
पछिल्ला केही वर्ष यता हावापानीमा आएको परिवर्तनका कारण पृथ्वीको तापक्रम ह्वातै बढेको छ । हिउँ पग्लने क्रम शुरु भएको छ । हिमालय पर्वतहरु सुख्खा बन्दै गएका छन् । समुद्रको सतह बद्दै गएको छ । जसको परिणमस्वरुप समुद्र सतहका केही भुभाग डुबानमा परेका छन् भने केहि ठुला शहरहरु डुबानको खतरामा छन् ।विशेषगरी दक्षिण एसियाका ठुला शहरहरु तथा अमेरिकाका केही शहर डुबानको जोखिमको रहेको विज्ञहरु बताउछन् । हाम्रो छिमेकी देश भारतको कलकत्ता र मुम्बाइ शहर डुवानको खतरामा रहेको विज्ञहरुको भनाई छ । जलवायु परिवर्तनको असरको रुपमा बाढिपहिरो, आँधीबेहरी, अम्लिय वर्षा जस्ता प्रकोपहरु पनि आउने गरेका छन् । जसले विश्वका अर्बौ मानिसहरु प्रभावित भएका छन ।
३) मरुभूमीकरण
लामो समयसम्म पानी पर्न नसकेर अनावृष्टिका कारण जमिन सुख्खा भई मरुभूमी बन्ने प्रक्रियालाई मरुभूमीकरण भनिन्छ । जसको कारणबाट प्राणी तथा वनस्पतिहरुको अस्तिस्व संकटमा पर्छ । मुलत वनजंगल फडानी, वर्षाको कमी तथा अत्याधिक वर्षाको कारण बाढी, पहिरो, भुक्षय आदि कारणहरुले भूमी मरुभूमी बन्छ । विभिन्न प्राकृतिक तथा मानविय कारणहरुले गर्दा उर्वर खेतीयोग्य जमिन रुखो भूमीमा परिणत हुनु मरुभूमीकरण हो । मरुभूमीकरण बढ्दै गएमा अन्नबाली उत्पादनमा कमी आउनाले खाद्यान्न संकट आउन सक्छ ।
४) जैविक विविधतामा असर
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा जैविक विविधतामा पर्छ । पृथ्वीमा अस्तित्वमा रहेका सम्पुर्ण प्राणी, वनस्पति तथा निर्जिव तत्वहरु सबैको अन्तर सम्बन्धमा नै जैविक विविधता कायम रहेको हुन्छ ।  भौगोलिक अवस्थिति अनुसार विभिन्न जाति, प्रजातिका प्राणी तथा वनस्पतिहरुको प्राकृतिक संयोजनलाई जैविक विविधता भनिन्छ । जलवायु परिवर्तनका कारण प्राणी तथा वनस्पति बीचको अन्तरनिर्भरतामा तथा अस्तित्वमा असर पर्दछ । तापक्रम वृद्धिका कारण केही वर्ष अधिसम्म तराई क्षेत्रमा मात्र पाइने लामखुट्टे अहिले पहाडी तथा उच्च क्षेत्रमा पनि पाइन थालेको छ । कतिपय बालीनाली तथा फलफूल समय अगाबै फूल्ने तथा फल लाग्ने जस्ता घटना पनि हुने गरेका छन् । यसैगरी वासस्थान अभावमा कतिपय प्राणी लोप भइसकेका छन् ।
५) विश्वव्यापी तापमानमा वृद्धि
    विश्वव्यापी तापक्रममा वृद्धि अर्को एउटा गम्भिर वातावरणीय समस्या होे । सर्यबाट पृथ्वीमा ताप र प्रकाश आउछ  । धर्तीले आफूलाई चाहिने ताप ग्रहण गर्छ र बाँकी फेरी सुर्य तिर फर्काइदिन्छ । तर वायुप्रदुषणले गर्दा पृथ्वीको माथी वायुमण्डलमा धुलो, धुवाँ तथा दुषिल विषालु ग्याँसहरुको एक तह बनेको छ । त्यो तहले पृथ्वीबाट फर्किएको ताप छेकिदिन्छ । जसले गर्दा पृथ्वी तातिदै गएको हो ।हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै गई रहेको छ । जसले गर्दा पृथ्वीको जलमण्डल, स्थलमण्डल, र वायुमण्डलमा विभिन्न परिवर्तन देखा परेको छ । तापमान वृद्धिको कारणले पर्वतिय तथा ध्रुवीय क्षेत्रमा रहेको वरफ पग्लनु, हिमताल फूट्ने, बाढी आउने, समुद्रका सतह बढ्ने, बालीनाली नष्ट हुन, समुद्र आसपासका क्षेत्र तथा टापुहरु डुब्ने जस्ता खतराहरु देखा परेका छन् ।
६)जलवायु परिवर्तन र जनजीविकामा असर
जलवायु पारिवर्तनले स्थानियवासीको जनजीविकामा नकारात्मक असर पार्न सक्छ । विशेषगरी किसान तथा प्राकृतिक स्रोत साधनमाथि आश्रित समुदाय यसबाट प्रभावित हुने गर्दछन् । समयमा वर्षा नहुदा आकाशे पानीको भरमा खेति गर्ने किसानहरुले सास्ती भोग्नु पर्छ । पानीका मुहान सुक्दै जाने हुदाँ पिउने पानीको हाहाकार हुन्छ । जुन समस्या अहिले नेपालका अधिकांस भुभागमा देखा पर्न थालिसकेको छ । यसपाली समयमा पानी पर्न नसक्दा तथा पानीका स्रोतहरु धमाधम सुक्दै गएकाले स्थानीयवासीले पानीको चरम समस्या भोग्नु परेको छ । कृषि उत्पादनसँग सम्बन्धित उद्योगहरु संकटमा पर्नुका साथै रोजगारी तथा आय आर्जनमा समेत नकारात्मक असर पर्न जान्छ । पुरानो कृषि पात्रो अव्यावहारिक बन्दै गएको छ । यसैगरी जलवायु परिवर्तनले ल्याएको वातावरणीय विचलनका कारण प्राकृतिक स्रोत माथि आश्रित समुदायको दैनिकी संकटपूर्ण बन्दै गएको छ । कतिपय समुदायहरुले आफ्नो थाकथलो छाडेर अन्यत्र बसाई सर्ने तथा परम्परागत पेशा, व्यावसय छाडेर नयाँ पेसामा लाग्न बाध्य भएका छन् ।यस्तै पानीको अभाव, खडेरीका कारण प्राकृतिक घाँसको लोप, चरण क्षेत्रको अभावले गर्दा पशुपालन व्यवसायमा समस्या उत्पन्न हुन थालेको छ । यसले पशुपालनमा आश्रित समुदायको जिविकोपार्जमा असर पुर्याएको छ ।
टुंगो
आज विश्वमा यस्ता विविध वातावरणीय चुनौतीहरु अगाडि आएका छन् । त्यसैले अब हामीले वातावरणीय विनास रोक्न तिर ध्यान दिनुपर्छ । पश्चिमी मुलुकबाट विकास भएको औद्योगिकरणले गर्दा वातावरण विनास भइरहेको छ । वातावरण ध्वस्त पारेर गरिएको विकास वास्तविक विकास नभई त्यो विनास हो । विकासको लागि विज्ञान तथा औद्यागीकरण पनि आवश्यकता पर्छ । तर विकास सम्बन्धि सबै कार्य पर्यावरण मैत्री हुनु पर्दछ ।
आज विश्वमा देखिएको वातावरणीय समस्याहरुको मुख्य कारण  मानव र मानविय क्रियाकलाप नै हो । त्यसैले वातावरण संरक्षण गरेर भोलीका पुस्ताका लागी पनि यो धर्ती सुरक्षित राख्नका लागी विश्व जनसमुदायले उपाय खोज्नुपर्छ । मानव समस्या ल्याउने प्राणी मात्र होइन समाधानको साधन पनि बन्नुपर्छ । औद्योगीकरणलाई पर्यावरण मैत्री बनाउने तिर विश्व समुदायको ध्यान जानुपर्यो । माटोको प्रदुषण कम गर्न अर्गानिक खेतीमा जोड दिनुका साथै कीटनासक विषादी तथा रसायनिक मलको प्रयोगमा कमी ल्याउनुपर्छ । सिमसार क्षेत्र तथा पानीका मुहानहरु संरक्षण गर्नुपर्यो । यसको लागि बोटविरुवा रोप्ने, हरीयाली बढाउने गर्नुपर्छ । हामी सबैलाई सास फेर्न अक्सिजनको आवश्यकता पर्दछ । त्यसैले सबैले एउटा वृक्ष रोपेर आफ्ना लागी आफै अक्सिजन बैंकको स्थापना गर्नुपर्छ । वर्षाको पानी जम्मा गरेर प्रयोग गर्न सकेमा पानीको संकट धेरै हदसम्म कम गर्न सकिन्छ ।  भू–स्खलन रोक्नुपर्छ । जथाभावी अनावश्यक रुपमा डोजर, स्काभेटरको प्रयोग गर्नु हुदैन । प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुको प्रयोगको विकल्प खोज्नु पर्छ । घरबाट निस्कने फोहोरमैला, ढल पानीका स्रोतमा मिसाउने गर्नु हुदैन । फोहोर मैलाबाट कम्पोष्ट मल बनाएर खेतीमा लगाए दोहोरो फाईदा लिन सकिन्छ । यस बारेमा सर्वसाधारणमा जागरुकता ल्याउनुपर्छ । यसको लागी शिक्षण सँस्था, सञ्चार माध्यम सरकारी तथा गैरसरकारी संघसँस्था लागिपर्नुपर्छ । गाँउ–शहरमा आफ्नो वरीपरीको वातावरण सफा–सुग्घर राख्नुपर्छ भन्ने कुरालाई सँस्कृतिको रुपमा विकास गराउनुपर्छ । जल तथा पर्यावरण प्रदूषण हुने खालको क्रियाकलाप गर्नेलाई कारवाही र पर्यावरण संरक्षण गर्ने तथा प्रदुषण कम गर्ने क्षेत्रमा काम गर्ने संघ,सँस्था तथा व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गर्नुपर्छ ।
विकास तथा औद्योगीकरणको नाममा प्राकृतिक स्रोत साधनहरुको तिव्र दोहनलाई न्युनिकरण गर्नुपर्छ ।नविकरणीय उर्जाका स्रोतहरुको प्रयोगमा जोड दिनुपर्छ । वातावरणीय विनास, जलवायु परिवर्तन, यसका असरहरु तथा वातावरण संरक्षणको महत्व र उपायहरुका बारेमा व्यापक रुपमा जनचेतनाको विस्तार गर्नुपर्छ ।विश्वका सबै राष्ट्र र जनसमुदाय एक जुट भएर लागे वातावरणीय सन्तुलन कायम गर्न सकिन्छ ।