पहिलोपोस्ट

भारतका कुख्यात डाँकु वीरप्पन चर्चित हुनुअघि तामिलनाडुमा जंगल पुलिस पेट्रोल हुन्थ्यो। त्यसको प्रमुख थिए, लहिम सहिम गोपालकृष्णन। उनको हात यति बलियो थियो, साथीहरु उनलाई रेम्बो भनेर पुकार्थे। रेम्बो गोपालकृष्णनमा खास कुरा के थियो भने उनी पनि वीरप्पनकै वन्नियार जातिका थिए। ९ अप्रिल १९९३ को बिहानी कोलाथपुर गाउँमा एउटा ठूलो ब्यानर भेटियो। यो ब्यानरमा वीरप्पनले गोपालकृष्णनलाई भद्दा गाली दिएका थिए। उनलाई चुनौती पनि दिइएको थियो, यदि दम छ भने वीरप्पनलाई समातेर देखाओस्। रेम्बोले त्यसै समयमा वीरप्पनलाई समात्न जाने निर्णय गरे र उनी जीपमा चढेर जंगलतिर लागे। जब जीप पलार पुलमा पुग्यो उनको जीपमा समस्या आयो। रेम्बोले जीप त्यहीँ छाडे। पुलमा तैनाथ पुलिससँग दुई वटा बस लिएर हिँडे। पहिलो बसमा १५ जना युवा थिए, चार जना पुलिस र दुई जना वन गार्ड। पछिको बसमा आफ्ना छ जना साथीसँग तामिलनाडु पुलिसका इन्सपेक्टर अशोककुमार आइरहेका थिए। वीरप्पनको ग्याङले तीव्र गतिमा आइरहेको बसको आवाज सुन्यो।
उनीहरु आत्तिए, किनकि उनीहरुलाई लागेको थियो, रेम्बो जीपमा चढेर आउनेछन्। तर वीरप्पनले टाढैबाट बसको पहिलो सिटमा रेम्बोलाई देखेपछि सिठ्ठी बजाए। जब बस एक ठाउँमा पुग्यो, तब वीरप्पनको ग्याङका एक सदस्य साइमनले बारुदी सुरुङसँग जोडिएको १२ भोल्टको कारको ब्याट्रीका तार जोडदिए। तब एउटा ठूलो विस्फोट भयो। ३ हजार डिग्री सेल्सियसको ताप पैदा भयो। बस गुडिरहेको धर्ती हल्लियो । बस पूरै हावामा उड्यो। के विजय कुमार आफ्नो किताब 'वीरप्पन चेजिंग द ब्रिगाड'मा लेख्छन्, दृश्य यति भयानक थियो कि कतै टाढा ढुंगाको आड लिएर बसिरहेको वीरप्पन पनि काँप्न थाले। उनको पूरै शरीर पसिनाले निथ्रुक्कै भिजेको थियो। केही समयपछि इन्सपेक्टर अशोककुमार घटनास्थलमा पुगे। उनले त्यहाँ २१ वटा क्षतविक्षत शवलाई गने। अशोकले सबै शव र घाइतलाई पछि आइरहेको बसमा राखे। अवस्था यति धेरै भयानक थियो कि उनले आफ्ना एक साथी सुगुमारलाई त्यहीँ छाडे। किनकि उनको शरीर हावामा उडेर केही पर खसेको थियो। केही समयपछि उनको त्यहीँ मृत्यु भयो। यो वीरप्पनको सबैभन्दा ठूलो टार्गेट थियो, जसले उनलाई पूरै भारतमा कुख्यात बनाइदियो। १८ जनवरी १९५२ मा जन्मिएका वीरप्पनका बारेमा भनिन्छ, उनले १७ वर्षको उमेरमा पहिलोपटक हात्तीको सिकार गरेका थिए। हात्ती मार्ने उसको प्रिय तरिका थियो, हात्तीको टाउकोको बीचमा गोली हान्ने।

जब वीरप्पनलाई समातियो

के विजय कुमार भन्छन्, 'एक पटक वन अधिकारी श्रीनिवासले वीरप्पनलाई पक्राउ गरेका थिए। उसले सुरक्षाकर्मीलाई भन्यो, 'मेरो टाउको दुखेको छ, मलाई अलिकति तेल देऊ' वीरप्पनले त्यो तेल टाउकोमा लगाउनुको सट्टा हातमा लगाए। केही मिनेटमा उनको हातबाट हत्कडी बाहिर निस्कियो। तर पनि केही दिन वीरप्पनले पुलिस हिरासतमा रहे। वीरप्पन यति धेरै खुँखार थिए, उनले भारतीय वन सेवाका अधिकारी रहेका पी श्रीनिवासको टाउको काटे र आफ्ना साथीसँग फुटबल खोले। श्रीनिवास उनै थिए, जसले पहिलोपटक वीरप्पनलाई गिरफ्तार गरेका थिए। विजय कुमार भन्छन्, 'श्रीनिवास वीरप्पनका सानो भाइ अरजुननसँग लगातार कुराकानी गरिरहेका थिए। एक दिन उनले श्रीनिवासलाई भने- वीरप्पन आत्मसमर्पणका लागि तयार भएको छ। उनले भने, 'तपाईं नामदेल्हीतर्फ जाँदै गर्नु, ऊ बाटोमा भेटिनेछ।' श्रीनिवास केही व्यक्तिलाई साथमा लिएर हिँडे। श्रीनिवासले महसुस नै गर्न सकेनन्, एकएक गरेर सबै जनाले उनको साथ छाड्दै गए। एक समय यस्तो आयो जब श्रीनिवास र वीरप्पनका भाई अरजुनन मात्रै साथमा रहे। जब उनी एउटा तलाउ छेउमा पुगे, त्यहाँ झाडीबाट केही मान्छे उठ्दै गरेको छायाँ देखे। त्यसमध्ये एउटा अग्लो व्यक्तिको लामालामा जुँगा देखेपछि उनलाई केही गडबड छ भन्ने शंका लाग्यो। वीरप्पनको साथमा राइफल थियो र उनी श्रीनिवासलाई घुरेर हेरिरहेक थिए। श्रीनिवासले पछि फर्किएर हेरे उनीसँग अरजुननबाहेक कोही थिएन। श्रीनिवासलाई देखेपछि वीरप्पन चर्कोसँग हाँस्न थाले। श्रीनिवासले केही सोच्नुअघि नै वीरप्पनले फायर खोले। वीरप्पन त्यहीँमात्र रोकिएनन्, उनले श्रीनिवासको टाउको काटे र एउटा ट्रफी जस्तै गरेर घर लगे। त्यहाँ वीरप्पनको ग्याङले श्रीनिवासको टाउकोलाई फुटबल जस्तै गरी खुट्टाले हाने। अपराध जगतमा क्रुरताको धेरै उदाहरण सुनिन्छ, तर यस्तो सुन्नु भएको थिएन होला- आफूलाई बचाउन कुनै डाँकु वा लुटेराले आफ्नै छोरीलाई बलि चढाएको। विजय कुमार भन्छन्, '१९९३ मा वीरप्पनको एउटा छोरी जन्मिएकी थिई। त्यति बेलासम्म उनको ग्याङको संख्या सयभन्दा माथि थियो। एउटा बच्चा रोएको आवाज ११० डेसिबल आसपास हुन्छ। यो बिजुली चम्किँदा निसक्ने आवाजभन्दा १० डेसिबल कम। जंगलमा आधा रातमा बच्चा रोएको आवाज अढाई किलोमिटर परसम्म सुन्न सकिन्छ।' एकपटक छोरी रोएका कारण वीरप्पन अप्ठेरोमा परिसकेक थिए। यसै कारण उनले आफ्नी छोरीको आवाज सधैँभरिका लागि बन्द गर्ने निर्णय गरे। सन् १९९३ मा कर्नाटक एसटिएफले मारी माडुवु भन्ने समतल जमिनमा केही उठेको भाग देख्यो। जब त्यसलाई खोस्रिएर हेरियो त्यहाँ एसटिएफले एक नवजात बच्चीको शव फेला पार्‍यो।

अभिनेताको अपहरण

सन् २००० मा वीरप्पनले दक्षिण भारतका लोकप्रिय अभिनेता राजकुमारलाई अपहरण गरे। राजकुमार सय दिनभन्दा बढी वीरप्पनको नियन्त्रणमा रहे। यही बेला वीरप्पनले कर्नाटक र तमिलनाडु दुई राज्य सरकारलाई आफ्ना माग मनाउन सफल भए। जुन, २००१ मा दिउँसो ११ बजे अचानक वरिष्ठ आइपिएस अधिकारी विजय कुमारको फोनको घन्टी बज्यो। स्क्रिनमा फ्ल्यास भयो अम्मा। उनले जयललिताको फोन नम्वर अम्माको नाममा सेभ गरेका थिए। जयललिता कुनै समय नगुमाइ मुद्दामा आइन्। उनले भनिन्, 'हामीले तपाईंलाई तामिलनाडु स्पेशल टास्क फोर्सको प्रमुख बनाउँदै छौं। तपाईंलाई भोलिसम्म आदेश आउँछ।' एसटिएफ प्रमुख बन्नासाथ विजयकुमारले वीरप्पनका बारेमा खुफिया जानकारी जम्मा गर्न थाले। उनले वीरप्पनको आँखामा समस्या भएको पत्ता लगाए। आफ्नो जुँगामा कालो लगाउने क्रममा केही बुँदा उछिट्टिएर वीरप्पनको आँखामा पर्‍यो। विजयकुमार भन्छन्, 'वीरप्पनलाई बाहिरी दुनियाँमा अडियो र भिडियो टेप पठाउने सोख थियो। एक पटक एउटा त्यस्तै भिडियोमा वीरप्पनलाई कागज पढ्न निक्कै कठिन भइरहेको थियो। तब हामीलाई वीरप्पनको आँखामा समस्या भएको संकेत मिल्यो। फेरि हामीले हाम्रो टिम सानो बनाउने निर्णय गर्‍यौँ। उनी भन्छन्, 'जब हामीले ठूलो टिममा खाना पकाउने सामान किन्थ्यौं, हामी स्थानीयको आँखामा आइहाल्थ्यौं र वीरप्पनलाई यसको जानकारी पुग्थ्यो। त्यसैकारण हामीले छ/छ जनाको टिम बनायौं।' वीरप्पनका आँखाको उपचारका लागि जंगलबाट बाहिर निकाल्ने गरी जाल बिछ्यायाइयो। उनका लागि एउटा खास एम्बुलेन्स तयार गरियो, जसमा लेखिएको थियो, एमकेएस अस्पताल सेलम। त्यो एम्बुलेन्समा एसटिएफका दुई इन्सपेक्टर वैल्लईदुरई र ड्राइभर सरवनन पहिल्यै बसिसकेका थिए। वीरप्पनले सेतो कपडा लगाएका थिए। अरुले नचिनून् भन्नका लागि उनले जुँगा छोटो बनाएका थिए। पहिल्यै तय गरेको स्थानमा पुगेपछि ड्राइभर सरवननले यति जोडसँग ब्रेक लगाए कि एम्बुलेन्समा बसेका सबै व्यक्ति आफू बसेको ठाउँमा पल्टिए। विजयकुमार सम्झन्छन्, 'सरवनन ज्यादै स्पिडमा आएका थिए, उनले यति धेरै जोडसँग ब्रेक लगाएका थिए कि टायरबाट धुँवा नै निस्कियो। टायर जलिरहेको गन्ध मेरो नाकसम्म आइपुगेको थियो। सरवनन दौडिएर मेरो साथ आइपुगे। मैले उनको मुखबाट सुनेँ, वीरप्पन एम्बुलेन्सको भित्र छ। मेरो सहयोगीले माइकमा भने-  आत्मसमर्पण गर, तिमी चारैतिरबाट घेरिएका छौ। उनीहरुले पहिलो फायर खोले, फेरि हाम्रो तर्फबाट पनि गोली चल्न थाले। मैले एके ४७ को पूरै म्याग्जीन खाली हुने गरी एम्बुलेन्समा प्रहार गरेँ। केही समयपछि एम्बुलेन्सबाट जवाफी फायर आउन बन्द भयो। हामीले उनीहरुमाथि कुल ३३८ राउण्ड गोली चलायौं। एउटा ठूलो आवाज आयो, अल क्लियर। एनकाउण्टर १० बजेर ५० मिनेटमा सुरु भएको थियो, २० मिनेटभित्र वीरप्पन र उनका तीन साथी मारिएका थिए।' आश्चर्य वीरप्पनलाई जम्मा दुई गोली मात्रै लागेको थियो। ६० को दशकमा जब फ्रान्सका राष्ट्रपति द गालको कारमा १४० गोली बर्साइएको थियो, त्यति बेला पनि जम्मा सात गोली मात्रै कारमा लागेको थियो। जब विजयकुमार एम्बुलेन्समा छिरे के त्यति बेलासम्म वीरप्पन जिउँदै थिए? विजयकुमारले जवाफ दिए, 'उसको स्वास चल्दै थियो।' तब उनले वीरप्पनलाई अस्पताल पठाउने निर्णय दिए। वीरप्पनको बायाँ आँखाबाट पार गरेर गोली निस्किएको थियो। जुँगा नहुँदा वीरप्पन ज्यादै साधरण मान्छे देखिएका थिए। वीरप्पनलाई मार्नासाथ एसटिएफ वालालाई यो विश्वास नै भएन कि वास्तवमा अब उनी जिउँदो छैनन्। एसटिएफको टिमले विजयकुमारलाई काँधमा राखेर हिँडाउन थाले। एक छिनपछि विजयकुमार फटाफट हिँडेर नजिकैको एउटा स्कुलको छतमा पुगे। त्यहाँबाट उनले तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई फोन लगाए। उनकी सचिव शिला बालाकृष्णनले फोन उठाइन्। उनले भनिन्, 'म्याडम सुत्नका लागि गइसक्नुभयो।' विजयकुमारले भने, 'मेरो ख्यालमा मैले जे भन्न खोज्दैछुऽ त्यो सुनेर उहाँ ज्यादै खुसी हुनुहुनेछ।' विजयकुमार सम्झन्छन्, 'केही क्षणमा जयललिताको आवाज फोनमा आयो। मेरो मुखबाट निस्कियो, म्याम वी ह्याभ गट ही। जयललिताले मलाई र टिमलाई बधाई दिइन्, र भनिन्, 'मुख्यमन्त्री हुँदा मैले योभन्दा सुखद समाचार केही सुनेकी छैन।' फोन काटेपछि विजयकुमार आफ्नो जीपतर्फ लागे। उनले एम्बुलेन्समा हेरे। त्यसको छतमा लगाइएको निलो बत्ती अहिले पनि घुमिरेहेको थियो। त्यो निलो बत्तीमा एउटा पनि गोली लागेको थिएन। उनले निलो बत्तीको स्वीच अफ गर्ने आदेश दिए, सायद निभेको बत्तीले भनिरहेको थियो, मिशन पूरा भयो।
बीबिसी