युएई/ सरकारले खाडी मुलुकमा भिजिट भिसामा जान बुधबारबाट प्रतिबन्ध लगाएपछि यस्तो निर्णयको चौतर्फी विरोध देखिएको छ ।

खास गरी सम्बन्धित मुलुकमा बस्ने धेरै नेपालीले यस्तो निर्णयको विरोध गरेका हुन् । संविधानले समेत प्रत्याभूत गरेको अधिकारको उल्लघंन भएको भन्दै भिजिट भिसामा लगाइएको प्रतिबन्ध हटाउनु पर्ने माग उनीहरुको छ । यसअघि पनि अध्यागमनले कडाइ गर्ने बहानामा सेटिङ बिना अर्थात दलाल मार्फत सम्बन्धित निकायका अधीकारीलाई पैसा नदिँदासम्म सहज रुपमा अन्य देशको भिसा हातमा हुँदा हुँदै पनि रोक लगाइँदै आएको थियो । सेटिङ रहेछ र धेरथोर पैसा पाएकाहरुलाई विमानस्थल अध्यागमन पार गराउने र अरुलाई रोक्ने गरेको धेरैको गुनासो थियो । दलालहरुले विभिन्न प्रलोभन पारेर इम्प्लोमेन्ट भिसालाई पनि श्रम अनुमति नलिन नक्कली भिजिट भिसा बनाउँदै वा सम्बन्धित देशमा पुगेर काम लगाइदिने र त्यतिन्जेल सम्म खान बस्नको ब्यबस्था गर्ने भन्दै भिजिट भिसाको व्यापार गरिरहेका थिए ।

सम्बन्धित देशमा त्यसरी कामदार ल्याएर अलपत्र पार्ने मध्येको प्रमुख गन्तब्य मुलुक युएई हो । भिजिट भिसामा युएई आएका धेरै जसो विमानस्थल सेटिङबाटै आएका छन् । कामका लागि आउनेहरुलाई श्रम अनुमति लिनु पर्ने अवस्थाबाट पन्छीएर दलालहरुले सेटिङ गर्ने र मोटो रकम अशुलेर ठग्दै आएका थिए । यसरी ठगिने क्रम बढेपछि ठगिनेहरु सम्बन्धित देशका नेपालीमार्फत सहयोग जुटाएर नेपाल फर्कने वा सोही देशमा अवैधानिक भएर बस्ने गरेका छन् । यस कारण भिजिट भिसामा आउनेलाई रोक्नु हुँदैन भिजिट अर्थात घुम्न आउनेलाई विमानस्थलमा किन रोक्ने ? पैसा दिएर सेटिङ मिलाएकाले सोही बाटो छिर्न पाउने, पैसा नदिनेहरुलाई रोकेर अध्यागमनका अधिकारीहरुले गर्व गर्ने किन ? धेरैले अहिले यस्तै प्रश्न गरिरहेका छन् । भिजिट भिसामा दैनिक डेढ सय युवा युएईमा आउने गरेको अनुमानित तथ्यांक छ । त्यसमध्ये झन्डै १ सय २५ जना सेटिङ गरेरै आउनु पर्ने बाध्यतामा छन् ।युएईले सजिलै भिजिट भिसा उपलब्ध गराउँछ । ‘सम्बन्धित देशले यात्रा अनुमति दिएपछि नेपालले ती देश नजाउ भनेर भन्ने आधार के हो ?  कि ती देशमा रोजगारी गरिरहेका नेपालीहरुलाई पनि फर्काउ होइन भने घुम्न आउन खोज्नेलाई प्रतिबन्ध नलगाउ’ नेपाली समाज युएईका महासचिव मणी भुर्तेलले भन्नुभयो, ‘भिजिट भिसा मात्र होइन सरकार कामदार भिसा पनि बन्द गराएर ८० हजार नेपाली नेपाल फर्कदा तिम्रो ३ तिहाइको मत प्राप्त गरि ५ वर्षे सरकार पक्का बनाउ ।’

त्यस्तै युएईमै कार्यरत रुन्चे गायक प्रकाश पौडेलले यो भन्दा मूर्ख सरकार देख्नु नपरोस् भन्दै भिजिट भिसामा सेटिङ गर्ने कर्मचारीलाई कारबाही गर्नुको सट्टा जनतालाई सास्ति दिएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । युएईमा आउने नेपालका सरकारी प्रतिनिधि मुलक टोलीलाई नेपालीहरुले भिजिट भिसामा हुने सेटिङ बारे गुनासो सुनाउँदै आएका थिए । तर अहिलेसम्म त्यसरी सेटिङ गरेर मानव तस्कर गर्नेलाई कारबाही गर्नुको सट्टा सरकारले उल्टै त्यस्तै काम गर्नेलाई बढुवा दिन भिजिट भिसामा प्रतिबन्ध लगाएकोमा धेरैले बिरोध गरेका हुन । ‘हामीले त यहाँ झोलामा ट्राभल सन्चालन गर्दै आएकाहरुले गर्ने झोले भिसाहरुले गर्दा समस्या भयो, सेटिङले समस्या ल्यायो भनेर भनेका हौँ, तर बुझ्नेले खै के बुझेछन्, टाउको दुखेको उपचार घाटी काटेर गर्नु भने जस्तै भयो’ दुबईमा फिस्टेल ट्राभल सन्चालन गर्दै आएकी मोती राईले भने।

भिजिट भिसामा आएर काम खोज्नेहरुले दुःख पाएका हुन । घुम्न आउनेले दुःख पाएका छैनन् । भिजिट भिसा काम खोज्नलाई हैन, घुम्नलाई हो भन्ने जानकारी यो दुनियाँमा कसलाई थाहा नहोला र रु त्यसैले भिजिट भिसा बन्द गरिनु हुँदैन । भिजिट भिसालाई ब्यवस्थित गर्ने हो, बन्द गर्ने होइन । भिजिट भिसा बन्द गर्दा समस्या समाधान हुन्छ भन्ने पनि छैन । भिजिट भिसालाई जुत्तामा लुकाउन भनेर नक्कली इम्प्लोमेन्ट भिसा देखाएर सेटिङ गर्ने र कारोबार गर्नेहरुलाई सहज हुन्छ । अहिले पनि भिजिट भिसा खुल्ला छैन । खुल्ला नभएर नै सेटिङ मार्फत आएका हुन । कोही युएईमा काम गर्छ, आफ्नो श्रीमती, छोराछोरी, भाइ बहिनी, आमाबुवालाई दुबई घुमाउन चाहन्छ र त्यसका लागि आफूले सामथ्र्य राख्छ भने सरकारले प्रतिबन्ध गर्न पाउँछ रु भिजिट भिसाको ब्यापार गर्नेलाई सरकारले कानुनी कारबाही गर्न किन सक्दैन रु सेटिङ गरेको प्रमाण हुँदा पनि कारबाही गर्न कसले रोक्यो ? युएईका विभिन्न शहर जस्तो सारजाह, अजमान र दुबईमा भिजिट भिसामा ल्याएर अलपत्र पार्नेहरुको नालीवेली सम्बन्धित निकायमा छ तर कारबाही भएकै छैन । भिजिटमा आउनेको हवाई टिकट, इमिग्रेसनको स्टाम्प र भिसाको प्रतिलिपी उपलब्ध गराउँदा समेत सरकारले ती भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने हिम्मत राख्दैन । अनि रोकिन्छ सेटिङ रु यस्तै बिषय अहिले सामाजिक सन्जालमा भाईरल भएका छन् ।

‘प्रहरीले समेत यौनजन्य गतिविधि गरौँ भनेर घुस माग्न थालेछ, भिजिट भिसामा जानेलाई प्रतिबन्ध होइन ब्यवस्थित गर्न तर्फ सरकारले पहल गर्नुपर्छ, कमिसनको चक्करमा पर्नेहरुले अरु कमिसन बढ्ने लोभमा यो निर्णयको स्वागत गर्नु स्वभाविक भएकाले अन्यथा लिन जरुरी छैन’ नेपाल पत्रकार महासघं युएई शाखाका सचिव मेघराज सापकोटाले भने । परीपत्र आएको छैन – दूतावास नेपाली दूतावास आबुधावीले भने अधिकारीक कुनै निर्णय नआएको जानकारी दिएको छ । दुतावासले यसअघि नाता प्रमाणित ब्यक्ति जसलाई बैधानिक हिसाबले ल्याउन पाईन्छ उहाँहरुको सीफारिस गर्ने काम दूतावासले नरोकेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिए । भिजिट भिसामा यात्रा गर्न लगाएको प्रतिबन्ध गरेको सम्बन्धमा बिभिन्न संचारमाध्यममा आएको बिषयको अधिकारिकताका लागि दूतावासले परराष्ट्रमा पत्राचार गरिसकेको अर्यालले बताए। आफूहरुले अहिलेसम्म कानुनत प्रत्याभूत भएका बिषयमा अध्यागमनलाई सिफारिस गर्ने काम नरोकेको दूतावासका कार्यबाहक राजदूत नेत्रबहादुर टन्डनले जानकारी दिए ।