धरान/जिल्ला प्रशासन कार्यालय सुनसरीले गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गरेको भन्दै सुनसरीका दुई उद्योगलाई कारवाही भएको छ ।

गुणस्तरहिन उत्पादन बजारमा पठाएको आरोपसहित मुद्दा दायर भएका २२ उद्योग मध्ये दुई उद्योगको उत्पादनलाई गुणस्तरहिन ठहर गर्दै नगद जरिवानासहितको कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

कारबाहीमा पर्नेमा बालाजी विस्कुट उद्योग सोनापुर र दिब्येश्वरी जल उद्योग हाँसपोसा रहेका छन । बालाजीमाथि परेको दुई न्यून गुणस्तरको मुद्दामा ५–५ हजार रुपैयाँ र दिब्येश्वरी जललाई २ हजार रुपैयाँ नगद जरिवाना गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

न्यून गुणस्तरको उत्पादनको अभियोगमा मुद्दा दायर गरिएका २२ उद्योग मध्ये ६ वटा उद्योग पूर्ण रुपमा बन्द भएको प्रशासनले जनाएको छ । फैसला हुन बाँकी रहेका उद्योगहरुमा सत्य साई वाटरको ४ वटा मुद्धा रहेको छ ।

त्यसैगरी कामधेनु दुग्ध सहकारी तरहरा, क्वालिटी कन्फेक्सनरी दुहवी, खनाल फुड प्रोडक्ट इटहरी, पशुपति खाद्यतेल उद्योग सोनापुर, रोयल फुड प्रोडक्ट, एसियन कन्फेक्सरी दहवी, एसियन थाई फुड्स सोनापुर, पशुपति विस्कुट दुहवी र दिब्येश्वरी जल उद्योगलाई थप एक मुद्दा परेको छ ।

सबै उद्योग विरुद्ध उपभोग गर्न नमिल्ने तेल, विष्कुट, चकलेट, पानी, तयारी खाजाहरु उत्पादन गरेर बजारमा विक्री गर्न पठाएको अभियोग छ । खाद्य निरीक्षक रमेश दाहालले बजारबाट नमुन संकलन गरेर प्रयोगशालामा परिक्षण गर्ने काम आफूहरुले निरन्तर रुपमा गरिरहेको बताए ।