धरान/भरतपुर घटनाको विषयलाई निर्वाचन आयोगका पदाधिकारीबीच नै भाँडभैलो भएको खुलासा भएको छ । भरतपुरमा मतगणना अघि बढाउने कि १९ नम्बर वडामा पुनः चुनाव गर्ने भन्ने विषयमा प्रमुख निर्वाचन आयुक्त र सदस्यहरुबीच मतभेद देखिएको छ ।
आयोगका एक पदाधिकारीका अनुसार, प्रमुख आयुक्त अयोधीप्रसाद यादव पुनः चुनाव गर्नुपर्ने पक्षमा उभिएका छन् । चार जनामध्ये दुई जना आयुक्त गणनाको पक्षमा छन् भने दुई जना ढुलमुले देखिएका छन् ।
आयोगभित्रको भाँडभैलोकै कारण आयोग अझै निष्कर्षमा पुग्न सकेको छैन् । भरतपुर घटनाका विषयमा सहमहान्यायाधिक्ता गिताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछि बुधबार बसेको आयोगमा बैठकमा पदाधिकारीहरुबीच नै चरम मतभेद देखिएको थियो । साँझसम्म पनि मतगणना कि पुनः मतदान भन्ने निष्कर्ष हुन नसकेपछि आयोगले भरतपुर महानगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।
आयोगको बुधबार बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको उल्लेख गर्दै यस्तो निर्देशन दिएको बताएको छ । उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भए पनि के कति संख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको जनाइएको छ । “गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहवरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ” – आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा कति मत च्यातिए भन्ने पनि उल्लेख नहुने झनै हास्यास्पद देखिएको छ ।
नेकपा एमालेले मतगणनाको माग गर्दै संसद अबरुद्ध गरिसकेको छ । अन्यथा भए देशभर चुनाव नहुने र भरतपरका मेयरका उम्मेदवार ज्ञवालीलाई मेयर घोषणा गर्ने एमालेले चेतावनी दिइसकेको छ । काँग्रेस र माओवादी भने चुनाव गर्नुपर्ने पक्षमा देखिएका छन् ।दैनिकनेपालबाट