खड्काले आफूमाथि मेयर फागोले जे गर्न पनि सक्ने भन्दै धम्कीसमेत दिएको बताए । उनले के आधारमा मेरो नाम जोडिस् भन्दै आफूमाथि गालीगलौज गर्दै धम्की दिएको खड्काले बताए ।
ब्लाष्टकर्मीले यसअघि पनि पटक–पटक यसबारे समाचार प्रकाशित गरेका थिए । फुटबल मैदान बनाउने नाममा नर्सरी कटान गरेको विषयमा कारबाही नभएको भन्दै पछिल्लो पटक समाचार लेखेपछि उनलाई धम्की आएको हो ।
तर, यस विषयमा मेयर फागोले आफूले ‘तैंले यो के लेखेको, यसरी नै लेखिस् भने तेरो विश्वसनीयता घट्ला’ मात्र भनेको दाबी गरे । उनले भने, ‘गालीगलौज गरेको भए अदालतमा गएर मानहानिमा मुद्दा हालिदिए हुन्छ नि ।’ उनले स्थानीय जनतालाई रुख कटान गर्न दिने अधिकारी आफू नभएको बताए । ‘कटानको आदेश दिने अधिकार हुन्छ र ?’ उनले भने, ‘त्यही विषयमा मैले नचाहिँदो गरी बङ्ग्याएर सामाचार सम्प्रेषण किन गरिदिएको मात्र भनेको हुँ ।’
उनले ‘मैले काटेको देखिस् केटा, आएको देखिस्, नचाहिँदो समाचार लेखिस् भने तँ आफै सकिन्छस्’ मात्र भनेको बताए । उनले पत्रकारको आचार–संहिताभित्र रहेर समाचार लेख् भनेर आफूले पत्रकार खड्कासँग कुराकानी गरेको बताए ।