उखानै छ ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ । बुढापाकाले यो उखान त्यसै भनेका होइन रहेछन् भन्ने पुष्टि विस्तारै हुँदै गएको छ ।
झण्डै ६८ प्रतिशत कृषीले ओगटेको हाम्रो मुलुकमा हाइब्रीड बीउले स्थान लिदै छ । कृषिले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३४ प्रतिशत योगदान दिने गरेको छ । तर, हरेक कृषकको घरमा अहिले रैथाने बीउको सट्टा हाइब्रीड बीउले स्थान लिँदै गएको छ । यो हाम्रा लागि शुभसङ्केत पक्कै होइन ।
उत्पादनका हिसाबले सोचेभन्दा बढी दिएपछि त्यसप्रति कृषकहरु आकर्षित हुनु नौलो होइन् । धानमा मात्रै हैन, हरेक अन्नबालीको हाइब्रीड बीउप्रति किशानको लगाब बढ्दै छ । हाइब्रीड बीउमा कृषक लोभिएका लोभिएकै छन् ।
यता रैथाने बीउ ‘अनिकालमा बीउ जोगाउनु’ उखान झैं बन्ने अवस्था सिर्जना हुँदै छ । कृषकको ध्यान यसतर्फ अहिले गएको देखिदैन । किनकी कृषकलाई उत्पादन चाहिएको छ । उत्पादनले मात्रै उनीहरु सन्तुष्ट हुन सक्छन् । बालबच्चा तथा परिवार पाल्न सक्छन् ।
हाइब्रीड बीउका कारण हिजोभन्दा आज उत्पादन बढेको छ । कृषक त्यसैमा खुसी छन् । तर, स्थानीय तथा रैथाने बीउ नभई हाइब्रीड बीउ उत्पादन हुन सक्दैन भन्ने हेक्का कृषकलाई छैन । भविश्यमा लोप हुने खतरा उस्तै गरी बढेको छ ।
कुनै समय थियो । धेरै उत्पादनका नाममा कृषकहरुले रसायनिक मललाई प्रश्रय दिन्थे । उत्पादन पनि बढ्यो । तर, माटोको उर्वराशक्ति विस्तारै ह्रास ल्याउदै गयो । त्यसले अन्तत उत्पादनसँगै मानिसमा विभिन्न खालका रोगले सङ्क्रमण गर्न थाल्यो ।
बढी विषादीयुक्त खानाका कारण मानिसमा अनेक खाल्का दीर्घ रोगले च्याप्दै लगेको छ । यतिसम्मकी खानाकै कारण अहिले मानिसमा क्यान्सरको जोखिम बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले रसायनिक तथा विषादीका कारण अनेकन रोग लाग्न थालेको तथ्यहरु सार्वजनिक गरिरहेको छ ।
मानिस अहिले फेरि खानपानमा पुरानै दशकतिर फर्कन चाहादैछ । अर्थात् अर्गानिक फलफूल, सागसब्जी तथा अन्नपातमा मानिसको लगाब बढेको छ ।
अर्गानिक मात्रै स्वास्थ्यका लागि एकमात्रै अचुक औषधि रहेछ भन्ने बुझ्न थालेका छन् । जसले गर्दा मानिसमा चेतना बढ्दै गएको छ । भोली हाइब्रीड बीउले बजार ढाक्दा फेरि पनि रैथाने बीउतर्फ मानिसको लगाब बढ्न सक्छ ।
पुरानै अवस्थामा फर्किन सक्छ । साइकल चक्रझैं फेरि उही अवस्थामा फर्किनुपर्ने अवस्था सिर्जना भयो भने त्यो बेला पक्कै पनि रैथाने बीउको माग बढ्ला अनी के गर्ने ? प्रश्न गम्भीर छ ।
तर, सरकारले केही प्रयास भने नगरेको हैन ।
सरकारले ११ हजारभन्दा बढी रैथाने बीउलाई कम्तीमा सताब्दीसम्म जोगाउने प्रयत्नमा लागेको त छ । तर, त्यो प्रभावकारी होला/नहोला प्रश्न उब्जिने ठाउँ भने पर्याप्त छ । सरकारले ललितपुरको खुमलटारमा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क) स्थापना गर्दै कृषि वैज्ञानिकहरुले गाउँ–गाउँबाट रैथाने बीउ संरक्षण गरिरहेका छन् ।
कृषि र जैविक विविधताका दृष्टिले नेपाल विश्वको ३१ औं धनी देशमा पर्छ । जहाँ धानका मात्रै ३ हजारभन्दा बढी रैथाने बीउ छन् । यसमा प्रभावकारिताको मात्रै खाँचो छ । राज्य यही तवरबाट लाग्यो भने पक्कै पनि शताब्दीसम्म हाम्रा रैथाने बीउ जोगिएलान् ।
तर, त्यसपछिका शताब्दीहरुमा हामी कसरी अगाडि बढ्छौं भन्ने प्रश्न उस्तै गरी तेर्सिएको छ ।
रैथाने बीउ जोगाउन कृषकभन्दा राज्य बढी गम्भीर हुनुपर्छ । तर, कृषक पनि त्यति नै संवेदनशील हुनुपर्छ । किनकी कृषकले आफ्नो वातावरण अनुकुलनका लागि पनि हाइब्रीडभन्दा रैथाने बीउ नै बढी प्रभावकारी हुन्छ भन्नेतर्फ सदैव ध्यान रहनुपर्छ ।
पर्यावरणीय हिसाबले पनि राज्य र नागरिक उत्तिकै गम्भीर हुनुपर्छ ।