धरान / आज मंसिरे पूर्णिमा आदिवासी जनजातिहरुले आजदेखि उद्यौली पर्व मनाउन शुरु गरेका छन् । उद्र्याैली पर्व अन्तर्गत लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, सान्केवा, किरात याख्खाहरुले चसुवा र किरात सुनुवारहरुले फोल स्यादर भनेर मनाउने गर्दछन् ।
यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उधौली उत्सवको रुपमा ‘चासोक तङ्नाम’को नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् । प्रत्येक बर्ष विविध कार्यक्रमको आयोजना गर्दै मनाउदै आएका उनीहरुले यस बर्ष पनि तीन दिनसम्म भव्य रुपमा मनाउने किरात याक्थुङ चुम्लुङका धरान नगर अध्यक्ष सुवास लिम्ब्ले बताए ।
चासोकको पहिलो दिन धरान–१४ स्थित विजयपुरमा रहेको हाङ्युक्ना दरबार परिक्रममा र पूजा गर्दै चासोक तङ्नामको विधिवत सुरुवात गरेका छन् । लिम्बुहरुको मुख्य पूजा सकिएसँगै आजै उनीहरुले धरान ८ स्थित रहेका े त्योअङ्सी सिरिजङ्गाको धरान ८ तिनकुनेमा रहेको शालिकमा माल्यापर्ण गरेका छन् ।
प्रकृति पुजक मानिएको लिम्बु जातिहरुको परम्परागत पूजासँगै हाक्पारे, पालाम, ख्याली, यालाङ, साम्लो गीतको प्रस्तुति गरिने किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहाकार दुर्गा वनेम लिम्बुले बताइन् । उनले पहाडमा खेतका बालीमा गाउँले सबै मिलेर मनाउने पर्व पछिल्लो समय हराउदै गए पछि यसलाई युवा पुस्तासम्म पु¥याउन धरानमा संस्थागत रुपमा मनाउन थालिएको बताइन ।
सामुहिक रुपमा मनाउन थालिएको चासोक तङनाममा पछिल्लो समय युवा पुस्ता पनि उत्साहित देखिन्छन् । उनीहरु आफ्नो भाषा, लिपी, संस्कृति हराउदै गएकोप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । धरान १५ का मिलन थुलुङ लिम्बुले लिम्बुहरुको साँस्कृतिक पर्व युवा पुस्ताले विर्सदै गएको गुनासो गरे । उनले आफ्नो भाषा, संस्कृति, लिपिलाई जगर्ना गर्न पनि आफूहरुको सहभागिता प्रत्येक बर्ष हुदै आएको बताए ।
पछिल्लो समय लिम्बुहरु धन आर्जनका लागि विदेश पलायन हुने, गाउँ घरबाट बसाई सराई गरेर सहर बजार आउने क्रमल तिब्रता पाएसँगै उनीहरुका संस्कृति हराउदै गएको लिम्बुहरुका अग्रज, युवा पुस्ता सबैलाई चिन्ताको विषय बनेका छ । यसैले गर्दा लिम्बुहरुको संस्कृतिलाई जीवन्तता राख्न ५ बर्ष अगाडि धरान १५ मा आफ्ना भवन निर्माण गरेका छन् । भवनसंगै उनीहरुले लिम्बुहरुको पहाडी परिवेशमा सुहाउने सानो फुसको घर, उनीहरुले प्रयोग गर्ने ढिकी, जातो समेत निर्माण गरेका छन् ।
यसले पुस्तौपुस्ता लिम्बुको संस्कृति जीवन्त रहने अपेक्षा लिम्बु जातिका अग्रज, युवा, युवती सबैले राखेका छन् ।