धरान । धरानमा सातौं यःमरी सांस्कृतिक तथा पर्यटन उत्सव लगाउने भएको छ ।

नेवाः देय दवूः नगर समितिले पौष १३ र १४ गते धरानको छाताचोकमा उत्सव लगाउने भएको हो । मंसिर ७ गते यःमरी पून्ही अर्थात् यःमरी पूर्णिमा रहेको थियो । काठमाडौंमा ज्यापू दिवसको रूपमासमेत यःमरी पून्ही मनाउने चलन छ ।

यसअघि ल्याम्ह पुचःले यःमरी उत्सव लगाउदै आएको थियो । पुचका अध्यक्ष दीपेश शाक्यको यसैवर्ष दिवङ्गत भएकाले दवूले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । त्यसक्रममा बहुजातीय फेशन शो, र्याम वर्क गरिने भएको छ । त्यस्तै ३ सय वर्ष इतिहास बोकेको चर्या नृत्यसमेत देखाइने भएको छ । चर्या नृत्य लिच्छवीकालीन समयमा देखाउने गरिन्थ्यो ।

धरानमा ५ किसिमको मात्रै चर्या नृत्य देखाइन्छ । नेवार बाहुल्य क्षेत्र काठमाडौं, भक्तपुर र ललितपुरमा भने झण्डै १७ किसिमको चर्या नृत्य देखाइने प्रचलन छ । उत्सवमा नेवारी परिकारसाथै बहुजातीय परिकारहरू रहने छन् । जहा २० देखि २५ वटा स्टल रहने आयोजकका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए ।

यःमरीको अर्थ मिठो रोटी भन्ने लाग्दछ । चालमको पीठोमा चाकु, सख्खर, तीललगायतका परिकार हालेर बनाइन्छ । जुन खादा जाडो भाग्ने विश्वास पनि रहिआएको छ । प्रकृतिपूजक नेवार जातिले अन्नबाली भित्र्याएपछि उक्त अन्नबालीको पीठो बनाएर यःमरी बनाउदै पूर्णिमा मान्ने प्रचलन छ । उत्सवमा यःमरीको प्रतिमासमेत राखिने भएको अध्यक्ष शाक्यले बताए ।

उत्सवमा नेवारी मौलिक नृत्यसहित धिमाल, ब्राम्हण क्षेत्रीको हुड्केली नाच, कौडा नाच, राईको साकेला, उराँवको मौलिक नाच पनि प्रस्तुत गरिने भएको छ । यसक्रममा दीपेश शाक्य स्मृति साँझसमेत आयोजना गरिने भएकाे छ ।