धरान / लिम्बू जातिको पारम्परिक नाँच ‘धान नाच’ लोप होला कि भन्ने अध्येताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । मेला, उत्सव, विवाह, भोज, बजारमा नाचिदै आएको धान नाच (याराक्मा) उधौली–उभौलीमा मात्रै सीमित हुन थालेको छ ।
विगतमा यो नाच सात दिन सात रातसम्म नाच्ने प्रचलन थियो । केटा र केटीले हात समातेर पालम गाउँदै जुहारी खेल्छन् । त्यही समयमा एकअर्काबीच मन परापर भएमा विहेसम्म गरिन्छ । तर अहिलेको पुस्ताले यो कुरा बिर्सदै गएकोप्रति अग्रजहरू चिन्तित बनेका छन् ।
पछिल्लो पुस्तालाई धान नाचसम्बन्धी ज्ञान नभएकैले चासोक तङनाममा धान नाच नाचिने गरिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार गजेन्द्र इस्वो बताउँछन् । उनले भने, ‘अहिले जति पनि लिम्बूहरूले धान नाचिरहेका छन्, त्यो सबै अघिल्लो पुस्ताका लिम्बुहरू हुन्, अहिलेका नयाँ पुस्तालाई धान नाच्नै आउदैन, धान नाच के हो भन्ने नै थाहा छैन, यसले गर्दा लिम्बूहरूको सांस्कृतिक नाच धान नाचको संरक्षण गर्न कठिन भएको छ । ’
परापूर्व कालमा अर्थात् २ सय वर्ष पहिले धान पाकेको समयमा चार धपाउदा धान माडिने गरेको र त्यो बेला धान खाने चरालाई धपाउन ‘हा हा हा’ गरेर धपाइन्थ्यो, धान खाने चरालाई धपाउदा धपाउदै धान नाच शुरु भएको भनाइ रहेको इस्वो बताउँछन् ।
बसाइसराइ र वैदेशिक रोजगारीले युवा पुस्तामा धान नाचसम्बन्धी ज्ञान नभएको किरात याक्थुङ चुम्लुङकी केन्द्रीय सल्लाहकार दुर्गामाया वनेम लिम्बू बताउँछिन् । धरान–१५ का मिलन लिम्बूले आफ्नो जातिको पहिचानलाई जीवन्त राख्न लिम्बू भाषा, लिपि, संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताए ।
होलिल्याण्ड इन्टरनेशनल बोर्डिङ्ग स्कुलका शिक्षकसमेत रहेका लिम्बूले भने, ‘म लिम्बू हुँ, तर मलाई लिम्बु भाषा आउँदैन, लिम्बू भाषा नै नआएपछि संस्कृति बचाउन कठिन छ, अब युवा पुस्ताले यसतर्फ ध्यान दिनुपर्छ, हैन भने हाम्रा बाजेबाजेले अङ्गालेको संस्कृति पूर्णविराम लाग्न सक्छ ।’