पाँचथर/ तेह्रथुम आठराइ–२, खाम्लालुङकी लीलाकुमारी हुक्पा चोङबाङ तमोर तरेर फिदिम आउँनुको मूख्य उदेश्य थियो– यात्लाङ् अर्थात् धान नाँच्नु । पहिले आठराइदेखि पाँचथरतिरका मेलाहाटमा धान नाँच्न आउनु पूरै एक दिन लाथ्यो ।

अहिले गाडि चल्छ । दुई घन्टामै फिदिम आइपुगिन् लीला । भनिन्– ‘मेला आयोजकको निम्तो मान्न आएका हौं, धान नाँचको खलामा उभिंदा उहिलेको सम्झना आयो ।’

फिदिम–४, स्थित ऐतिहासिक सुम्हात्लुङ मन्दिर क्षेत्रमा जारी चासोक मेलामा टोली सहित धान नाँच्न आएकी मोरङकी जसमाया लिम्बू पनि पालामी सवाल–जवाफ चल्दै गर्दा आफ्नो वैंश सम्झेर भाबुक बनिन् ।

उनले सुनाइन्– ‘उहिले हरेक मेलाहाटमा यसरी नै धान नाँचिन्थ्यो, अहिले त धान नाँच नै हरायो, के भन्नु र ?’ पछिल्लो समय धान नाँच लोप हुँदै गएपछि चोसोक मेलाको अवशरमा केःलाङ साँस्कृतिक समाजको संयोजनमा पाँचथर सहित विभिन्न जिल्लाबाट निमन्त्रणा गरेरै धान नचाइएको हो ।

धान नाँचको लागि निमन्त्रणा गरेकालाई यातायात खर्च र खाने–बस्ने सम्मको व्यवस्था गरिएको समाजका अध्यक्ष मनकुमार केरुङले बताए ।

‘धान नाँच र पालाम् लिम्बू जातिको सबैभन्दा लोकप्रिय नाँच र गोकलय (गीत) हो’ उनले भने ‘तर अहिले आएर धान नाँच र पालाम् दुबै लोप भएर जान लागेपछि यसको संरक्षणका लागि पालाम् जान्नेहरुलाई निम्तो गरी धान नचाइएको हो ।’

धान नाँचबारे अनभिज्ञ तन्नेरी पुस्ताले पनि केही सिकोस भनेर मेलामा धान नाँच्न आएको पाँचथर कुम्मायकका पदम सम्बाहाम्फेले बताए ।

लिम्बू समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा सम्बन्ध नलाग्ने युवा–युवतीले एकापसमा हात समाई गोलो घेरा बनाएर धान नाँच्दै पालाम् गाउँने परम्परा छ । धान नाँचमा पालाम् गाउनु अनिबार्य मानिन्छ ।

केटा पक्ष र केटी पक्षबीच सवाल–जबाफमा गाइने पालाम्मा सृष्टिको उत्पति, मानव सभ्यताको बिकासक्रमदेखि लिएर माया पीरतिसम्मका कुरा हुन्छन् ।

पछिल्लो समय भर्खरका युवा–युवतीले धान नाँच र पालाम् दुबै नजान्ने भएकाले जान्नेलाई बोलाएर नाँच्न लगाइएको चासोक मेला आयोजक समितिका सचिव उपेन्द्र लाओतीले बताए । ‘यसबाट नयाँ पुस्ताले पनि धान नाँच सिकोस भन्ने हो’ उनले भने ।

मुन्धुम अनुसार तागेरानिङ्वाभुमाङले अन्नको बिउँ दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरे । तर फलाएको अन्न सबै चराहरुले खाइदिन थाले । त्यसपछि धा जम्मा गर्ने खलामा भेला भई एकापसमा हात समाई धान कुल्चदै, माड्दै छुई हा हा हा भन्न थाले । चराहरु पर–पर भागे । यहीं यात्लाक् (धान कुल्चनु) बाट बिकसित भई यात्लाङ् (धान नाँच) भएको र चरा धपाउन प्रयोग गरिएको छुई हा हा हा बाट पालाम्को बिकास भएको लिम्बू संस्कृतिका विज्ञहरु बताउछन् ।

पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै युवा पुस्ताले धान नाँच बिर्सदै गएका छन् । पछिल्लो समय धान नाँच भिडियो र स्टेजमा मात्र सिमित हुँदै गएको प्रति चिन्त व्यक्त गर्छन् लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय सचिव बुद्धराज लिम्बू ।

धान नाँच युवा पुस्तालाई हस्तान्तरण गर्न यस्ता कार्यक्रमहरु प्रशस्त गरिनुपर्ने लिम्बूको भनाई छ ।