खलङ्गा । जुम्लामा आजदेखि ठुली भैली खेल्न सुरु गरिएको छ । भैली लेख्ने चलन हराउँदै गएपनि यहाँका महिलाले परम्परा बचाउनकै लागि भैली खेल्न शुरु गरेका छन् । 

पुसको तेस्रो साता प्रतिपदाका दिन देखि खेलिने ठुली भैली जुम्ला सहित कर्णालीका पाँचै जिल्लामा शुरु भएको छ । पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर ४/५ दिन खेलिने सो भैलीको महत्व विस्तारै घट्न थालेको जुम्लाका संस्कृत सम्बन्धि जानकार व्यक्ति रमान्द आर्चायले बताए । 

पर्वको रुपमा रहेको ठुली भैलीमा सबै साथीसंगी मिलेर नयाँ पहिरनमा सजिएर आफ्ना आफन्तजनका घर घरमा गएर भैलो खेल्ने चलन रहेको आर्चायले जानकारी गराउनुभयो । उनका अनुसार फुर्सदको समय बिताउन, रमाईलो तथा परम्परा जोगाउन खेलिने भैलो पछिल्लो समय हराउँदै गएको छ । 

बाह्रौ शताब्दी तिर जुम्लाका राजा बलिराजको पालादेखि शुरु भएको हिउँदे भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानिय स्तरको महत्वपूर्ण पर्वका रुपमा मानिन्थ्यो । 

महिला र पुरुषमा खस परम्परा अनुरुप छुट्टा छुट्टै भैलो खेल्ने चलन रहेको थियो । भैलोमा युवा, महिला, बालबालिका र बृद्धबृद्धासमेत पैतला मिलाएर भैली खेल्न जाने चलन छ । भैलो खेलेर सकिए पछि संयुक्त भोजको आयोजना गरि एक आपसमा रमाईलो साटासाट गर्ने चलन छ ।