धरान/ लिम्बु जातिको मौलिक लोक धर्म (युमा साम्यो) को आचारसंहिता तयार पार्ने उद्देश्यले धरानमा अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । धरान–१९ हरियाली सामुदायिक भवनमा बिहीबारबाट शुरु भएको विश्व सम्मेलन शनिबारसम्म चल्ने छ ।

सम्मेलन शुरु हुनुभन्दा अगाडि बिहीबार नेपाल र भारतमा बसोबास गर्न लिम्बू जातिहरूले विभिन्न लिम्बू जातिका सांस्कृतिक बाजागाजा, धर्म संस्कृतिसँग सम्बन्धित पहिरनसहितको र्याली प्रदर्शनसहित धरान बजार परिक्रमा गरेको थियो । झाँकीसहितको र्याली धरान–१९ हरियालीमा पुगेर उद्घाटन गरिएको थियो ।

लिम्बू भाषा, संस्कृतिका ज्ञाता डा. चैतन्य सुब्बाले तीनदिने सम्मेलनको उद्घाटन गरेका छन् । लिम्बू जातिको वास्तविक धर्मको प्रचार गरी यसको आचारसंहिता तयार पार्न युमा साम्योका अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार वनेमले बताए ।

सम्मेलनका संयोजकसमेत रहेका वनेमले विश्व सामू छरिएर रहेका लिम्बूहरू युमा साम्यो धर्ममा आस्था राख्नेलाई समेटेर धर्मका विषयमा एकरुपता ल्याउनु नै यसको प्रमुख उद्देश्य रहेको बताए ।

केही समय अगाडि सफलता पूर्वक पहिलो सम्मेलन सम्पन्न गरेको आयोजकले यस वर्षको सम्मेलनले भने युमा धर्म, मुन्धुम र दर्शनका विषयमा विद्वान र अग्रजहरुसँग छलफल गरेर साझा धारणा सार्वजनिक गर्ने भएकाले पनि यो महत्वपूर्ण हुने अध्यक्ष एवम् संयोजक वनेमले बताए ।

सम्मेलनमा डा. चैतन्य सुब्बालगायत सिक्क्मिबाट एसआर खजुम, जेठा सुब्बाका साथै नेपाल तथा भारतमा बसोबास गर्ने लिम्बू जातिहशको उल्लेख्य उपस्थित रहेको छ ।