पथरी । मोरङ पथरीशनिशरे—१०, स्थीत भुटानी शरणार्थी शिविरमा बन्न लागेको संग्रहालयको नाम आदिबासी जनजाति संग्रहालय नै बन्नु पर्ने स्थानीयबासीहरुले एकमत सुझाव दिएका छन् ।

शनिबार १ नम्बर प्रदेश सरकारले गठन गरेको सांस्कृतिक ग्राम अवधारणा तयारी सम्बन्धी कार्यदलले गरेको सुझाव संकलनमा एकमत भएका हुन । पथरीशनिश्चरे बजारको पथरी बहुमुखी क्याम्पसको आयोजित सुझाव संकलन कार्यक्रममा सहभागिहरुले संग्रहालय नाम आदिवासी संग्राहलय रहनुपर्ने जोडजार माग राखेका थिए । कार्यदल समितिका संयोजक चण्डीप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा सरकारका सहसचिव तथा समितिका सचिव हरीप्रसाद दाहालले सुझाब लिएका थिए ।

प्रदेश तथा संसदीय निर्वाचनमा मोरङ—३ नम्बर क्षेत्रका उमेद्वार हालको संघीय कानून मन्त्री भानुभक्त ढकालले सो क्षेत्रमा आदिवासी जनजाति संग्रहालय बनाउने बताएका थिए । त्यहीबाट सुुरु भएको संग्रहालय प्रदेश सभाले प्रारम्भीक सर्वेक्षणको लागि ५० लाख छुटाएपछि प्रदेशका समाजिक मन्त्री जीवन घिमिरेले नक्कली पाथिभरा, वराहक्षेत्र र हलेसीसहितको तीन धाम बनाउने धारणा बताएपछि विवाद हुँदै आएको छ । सोही अनुसार कार्यदल सुझाब संकलनमा लागेका छन् । सुझाव संकलन समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक, सामाजिक क्षेत्रका सय भन्दा बढी स्थानीयबासी सहभागि रहेका थिए । सुझाव दिने अधिकांश बक्ताहरुले संग्रहालयको नाम आदिवासी जनजाति नै बन्नु पर्ने बताएका छन् ।

स्थानीय शिक्षक भगत थपलियाले कानुनमन्त्री भानुभक्त ढकालद्वारा प्रस्ताव गरिएको आदिवासी जनजाति संग्रहालय नै बन्नु पर्ने सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १ नम्बर प्रदेश समिति सदस्य युवाराज बास्कोटाले संस्कृतिक ग्राम मात्र राखेर आदिवासी जनजातिको भावना समेट्न नसक्ने तर्क प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्काले प्रदेश र स्थानीय सरकार जनतावीच द्वन्द्व मञ्चाउन उद्धत रहेको बताए । अवधारणा निर्माण समिति र प्रदेश सरकारले ध्यान नपु¥याए प्रस्तावित भूमिमा रक्तपात हुनसक्ने खतरा रहेकोले ध्यान पु¥याउन सुझाव दिएका छन् ।

पशुपति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्प चौहानले आफ्नो वन क्षेत्रको सट्टाभर्ना नभए संस्कृतिक ग्राम बन्न नसक्ने सुझाव दिएका छन् । नेकपाका स्थानीय कार्यकर्ता भीम राईले सो स्थानमा चुनावमा प्रस्ताव गरिएको आदिवासी जनजाति संग्रहालय नै बन्नुपर्ने बताए । कार्यक्रममा पूर्व वडा अध्यक्ष तथा नेकपाका स्थानीय नेता मानप्रसाद लिम्बूले चुनावमा बोलेको कुरालाई तोडमोड गर्न नहुने सुझाव राखेका छन् । लिम्बूले वर्तमान अवस्थामा जनता सचेत भएकाले जनभावना बुझेर संग्रहालयको नाम आदिवासी जनजाति नै राख्नु पर्ने बताए । कार्यक्रममा १ नम्बर वडा सदस्य धनप्रसाद लिम्बूले नगरले सो क्षेत्रमा आदिवासी जनजाति संग्रहालय बनाउन प्रदेशको समाजिक मन्त्रालयमा माग गर्ने बारे गरेको निर्णय वाचन गरेर सुनाएका थिए ।

धिमाल जाति विकास केन्द्रका नगर सचिव तारिलाल धिमालले अवधारणा निर्माण समितिमा धिमालको प्रतिनिधित्व समावेस गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का सुरेन्द्र चपााई, नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिका अध्यक्ष चन्द्र तामाङ, पूर्व अध्यक्ष हेमभक्त तमु, अमृत लिम्बू, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघा लिम्बू, स्थानीय जीवन खतिवडा, देवेन्द्र वनेम, गंगा साँबा, रमेश राई लगायतले सुझाव दिएका थिए । आदिवासी जनजाति सम्बद्ध संस्थाका प्रतिनिधिहरुले तीन धाम बनाउने कुरा कसैले माग नगरेको भन्दै जवरजस्ति गरिए भौतिक आन्दोलनमा उत्रिने र सो भूमिमा अन्य संरचना बन्नै नदिने चेतावनी दिएका छन् ।

कार्यक्रममा कलाकारसमेत रहेका निर्माण अवधारणा समितिका सदस्य विक्रम श्रीले त्यहा अरबौको लगानीमा प्रदेशकै भौगोलिक, सामाजिक सांस्कृतिक विषय समेटेर मिनी प्रदेश बनाउने परिकल्पना सुनाएका थिए । यद्यपि कला संस्कृति जस्तो बनाएपनि नाम आदिवासी जनजाति संग्रहालय बन्नु पर्ने सुझाव दिएका थिए ।

निर्माण समितिको १७ सदस्यमा एउटै समुदायबाट लिइएको र आयोजकको नाम संस्कृतिक ग्राम निर्माण सम्बन्धी सुझाव संकलन लेखिएकोले शुरुमै होहल्ला भएको थियो । गठन गर्दा जातीय सामुदायिक प्रतिनिधित्व नमिलाइएको र आदिवासी जनजाति संग्रहालयको सुझाव लिए मात्र औपचारिक सुझाव दिने बताएका थिए । संघीय कानुन मन्त्री भानुभक्त ढकाल, पथरीशनिश्चरे नगरपालिकाले आदिवासी जनजाति संग्रहालय नै बनाउने भन्दाभन्दै प्रदेश सरकारले बिषय मोडेर जवरजस्ति तीन धाम बनाइए कठोर प्रतिरोधहुने स्थानीयबासीले बताउदै आएका छन् ।