पथरी / मोरङ पथरीशनिशरे—१०, स्थित भुटानी शरणार्थी शिविरमा बन्न लागेको संग्रहालयको नाम आदिबासी जनजाति संग्रहालय नै बन्नु पर्ने स्थानीयबासीहरुले सुझाव दिएका छन् ।
शनिबार १ नम्बर प्रदेश सरकारले गठन गरेको सांस्कृतिक ग्राम अवधारणा तयारी सम्बन्धी कार्यदलले गरेको सुझाव संकलनमा एकमत भएका हुन । पथरी शनिश्चरे बजारको पथरी बहुमुखी क्याम्पसको आयोजित सुझाव संकलन कार्यक्रममा सहभागिहरुले संग्रहालय नाम आदिवासी संग्राहलय रहनुपर्ने माग राखेका थिए । कार्यदल समितिका संयोजक चण्डीप्रसाद राईको सभापतित्वमा भएको कार्यक्रममा सरकारका सहसचिव तथा समितिका सचिव हरीप्रसाद दाहालले सुझाब लिएका थिए ।
प्रदेश तथा संसदीय निर्वाचनमा मोरङ—३ नम्बर क्षेत्रका उमेद्वार हालको संघीय कानून मन्त्री भानुभक्त ढकालले सो क्षेत्रमा आदिवासी जनजाति संग्रहालय बनाउने बताएका थिए । त्यहीबाट सुुरु भएको संग्रहालय प्रदेश सभाले प्रारम्भीक सर्वेक्षणको लागि ५० लाख छुटाए पछि प्रदेशका सामाजिक मन्त्री जीवन घिमिरेले ‘नक्कली पाथिभरा, वराहक्षेत्र र हलेसी’सहितको तीन धाम बनाउने धारणा बताए पछि विवाद हुँदै आएको थियो । सोही अनुसार कार्यदल सुझाब संकलनमा लागेका छन् । सुझाव संकलन समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक, सामाजिक क्षेत्रका सय भन्दा बढी स्थानीयबासी सहभागि रहेका थिए । सुझाव दिने अधिकांश बक्ताहरुले संग्रहालयको नाम आदिवासी जनजाति नै बन्नु पर्ने बताएका छन् ।
स्थानीय शिक्षक भगत थपलियाले कानुनमन्त्री भानुभक्त ढकालद्वारा प्रस्ताव गरिएको आदिवासी जनजाति संग्रहालय नै बन्नु पर्ने सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १ नम्बर प्रदेश समिति सदस्य युवाराज बाँस्कोटाले संस्कृतिक ग्राम मात्र राखेर आदिवासी जनजातिको भावना समेट्न नसक्ने तर्क प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश खड्काले प्रदेश र स्थानीय सरकार जनतावीच द्वन्द्व मञ्चाउन उद्धत रहेको बताए । अवधारणा निर्माण समिति र प्रदेश सरकारले ध्यान नपु¥याए प्रस्तावित भूमिमा रक्तपात हुनसक्ने खतरा रहेकोले ध्यान पु¥याउन सुझाव दिएका छन् ।
आदिवासी जनजाति सम्बद्ध संस्थाका प्रतिनिधिहरुले तीन धाम बनाउने कुरा कसैले माग नगरेको भन्दै जवरजस्ति गरिए भौतिक आन्दोलनमा उत्रिने र सो भूमिमा अन्य संरचना बन्नै नदिने चेतावनी दिएका छन् ।
कार्यक्रममा कलाकारसमेत रहेका निर्माण अवधारणा समितिका सदस्य विक्रमश्रीले त्यहाँ अरबौको लगानीमा प्रदेश कै भौगोलिक, सामाजिक सांस्कृतिक विषय समेटेर मिनी प्रदेश बनाउने परिकल्पना सुनाएका थिए । यद्यपी कला संस्कृति जस्तो बनाए पनि नाम आदिवासी जनजाति संग्रहालय बन्नु पर्ने सुझाव दिएका थिए ।
निर्माण समितिको १७ सदस्यमा एउटै समुदायबाट लिइएको र आयोजकको नाम सांस्कृतिक ग्राम निर्माण सम्बन्धी सुझाव संकलन लेखिएकोले शुरुमै विवाद भएको थियो । गठन गर्दा जातीय सामुदायिक प्रतिनिधित्व नमिलाइएको र आदिवासी जनजाति संग्रहालयको सुझाव लिए मात्र औपचारिक सुझाव दिने बताएका थिए । संघीय कानुन मन्त्री भानुभक्त ढकाल, पथरी शनिश्चरे नगरपालिकाले आदिवासी जनजाति संग्रहालय नै बनाउने भन्दा भन्दै प्रदेश सरकारले बिषय मोडेर जवरजस्ति तीन धाम बनाइए कठोर प्रतिरोध हुने स्थानीयबासीले बताउदै आएका छन् ।