उदयपुर/एकातिर साँझ परिसकेको थियो, अर्कोतिर चिसो बढीरहेको थियो, हजारौंको संख्यामा दर्शकहरुको खचाखच थिए । कार्यक्रम संचालक नरेश मोहन तामाङले आदर्णिय दर्शक महानुभावहरु प्रथम नेपाल आईडल बुद्ध लामा तपाईहरु माँझ आउनै लागी रहेका छन् भनी रहँदा कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले आफ्नो धारणा राखी रहेका थिए ।
उवेला दर्शकहरुलाई लागी रहेको थियो कतिखेर देखा पर्लान बुद्ध लामा, अनि नेताको भाषण कतिखेर सकिएला भनिरहेका थिए । करिब ४ घण्टा, ५ बज्न लाग्दा लामो पर्खाई पछि बल्ल उदाए बुद्ध लामा स्टेजमा ।
यो दृश्य थियो, नेपाल तामाङ घेदुङ उदयपुर र तामाङ पत्रकार संघ उदयपुरको सयुक्त आयोजनामा विहिवार उदयपुरको गाईघाट स्थित् पिपल चोकमा सम्पन्न २८५५ सोनाम ल्होछार फाग् ल्हो (नयाँ वर्ष) को अवसरमा आयोजित तेश्रो ल्होछार महोत्सव तथा विशेष सांगितिक कार्यक्रमको ।
लामो पार्खाइ पछि सांगितिक कार्यक्रममा चर्चित गायक बुद्ध लामा उपस्थित् भएपछि हजारौं दर्शकले गडगडाहट ताली बजाएका थिए । भन्दै थिए सबैले बुद्ध लामा हाई-हाई, बुद्धले पनि भने नमस्ते उदयपुर । यसरी शुरु भएको प्रथम नेपाल आईडलका प्रथम उइनर लामाले कार्यक्रमको शुरुमा आधुनिक मेलोडी गीतबाट आफ्नो साँगितिक कोसेली पस्किएका थिए ।
चर्चित गायक लामाले कार्यक्रमको शुरुमा तिमि साथ भएपछि कोही पनि साथ चाहिन्दैन, होई झुमा–होई झुमा, जिन्दगी हाम्रो वगेको खोला, फेरी भेट होलाकी नहोला, सानी नानी नरिसाउन, रातो टिका निधारमा, हाम्रो मुलको पानी राम्रो, ओ ग्यानम कान्छीलाई फकाउँ नै गाह्रो भो लगायतको डेडदर्जन भन्दा बढी गित गाएर गाईघाटका हजारौं दर्शकलाई पसिना चुनेगरी माघको चिसोमा नचाएका थिए ।
जब बुद्धले गीत गाउन थालेपछि उनका हजारौ फ्यानले साथ दिएका थिए । अधिकांश टिनएजरले उनको सांगितिक कार्यक्रमलाई साथ दिएको देखिन्थे भने उनीसंग सेल्फी खिच्नेको पनि उत्तिकै भिड लागेको देखिन्थ्यो । बयस्क भन्दा पनि टिनएजरलाई बुद्ध लामा प्रति आकर्षण बढेको सहजै अनमान गर्न सकिन्थ्यो ।
करिब ५ बजे देखी गाउँ थालेका बुद्धले ७ बजेसम्म हजारौं दर्शकलाई आफ्नो डेडदर्जन सांगितिक कोसेली पस्केर झमझमी नचाएका थिए ।
तेश्रो सोनाम ल्होछार महोत्सवमा सहभागी हुन उदयपुर जिल्लाको कटारी नगरपालिका, वेलाका नगरपालिका, रौता गाउँपालिका, चौदन्डी नगरपालिका वेल्टार, फत्तेपुर, सुन्दरपुर, वगाहा, नेपालटार, मुर्कुची, धौरी, त्रियुगा नगरपालिकाको विभिन्न तामाङ गाउँ वस्तीहरुवाट हजारौंको सख्यामा दर्शकहरुको सहभागिता रहेको थियो ।
बुद्धलाई बास बसेको होटल देखी कार्यक्रम स्थलसम्म ल्याउन सुरक्षाकर्मीहरुलाई निक्कै धौ धौ परेको थियो । बुद्ध लामासँग सेल्फी खिच्ने र रमाउन खोज्नेहरुले गर्दा सुरक्षाकर्मीहरुलाई बुद्ध लामा जोगाएर कार्यक्रम स्थलसम्म ल्याउन धौ धौ परेको थियो ।