धनकुटा । धनकुटाका तामाङहरुले यस वर्षको सोनाम ल्होछार २८५५ को अवसरमा तामाङ मौलिक सांस्कृतिक झाँकीसहित जिल्ला स्तरीय मौलिक डम्फु सेलो गायन प्रतियोगिताको आयोजना गरेर मंगलबार मनाएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाले र धनकुटा नगरपालिकाको सहयोगमा २८५५ सोनाम ल्होछार फाग् ल्हो नयाँ वर्षको पहिलो दिन मौलिक डम्फु सेलो गायन प्रतियोगिता आयोजना गरेर मनाएको हो । जिल्लास्तरीय मौलिक डम्फु सेलो प्रतियोगितामा पाख्रिबास नगरपालिका–९ उत्तरपानी चुङ्गबाङ्गका ताम्वा डम्फुरेहरू दिलवहादुर घिसिङको टोली प्रथम भएको छ । प्रथम हुने टोलीले नगद ५ हजारसहित प्रमाण–पत्र पाएका छन् । त्यसैगरी द्वितीय हुने धनकुटा र हिलेका डम्फुरे गङ्गाबहादुर तितुङ र जिन्लाव दोर्जे मोक्तानको टोलीले नगद ३ हजार सहित प्रमाण–पत्र हात पारेको छ । तृतीय हुने म्हानिपा घेदुङ धर्मशाला लिसिम्बु धनकुटाको महिला डम्फुरे टोलीले नगद २ हजारसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा सान्तवना पुरस्कार नगद १ हजारसहित प्रमाण–पत्र पाउनेहरूमा टोल सुधार समिति उत्तरपानी धनकुटा, बलबहादुर घिसिङको टोली चुङ्गवाङ्ग धनकुटा र मणिराज तामाङको टोली उत्तरपानी धनकुटा रहेका छन् । प्रतियोगितामा विजयी ताम्वा डम्फुरेहरूलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, घेदुङका केन्द्रीय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, तामाङ घेदुङ प्रदेश समितिका सचिव निरेन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राईले पुरस्कार वितरण गरे ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले परापुर्वकाल देखी तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होछारको आफ्नै महत्व रहेको बताए । उनले तामाङ समुदायमा ल्हो परम्पराले छुट्टै महत्व राख्ने बताए । ल्हो परम्पराले तामाङ जीवन र ताम्वा दर्शनमा प्रतक्ष वा अप्रतक्ष रुपमा प्रभाव पार्ने गरेको वताए । त्यसैगरी नेपाल तामाङ घेदुङका प्रदेश सचिव निरेन तामाङले तामाङ समाजमा डम्फुरे ताम्वाहरुको आफ्नै महत्व रहेको बताए । ताम्वा संस्कृति वच्यो भने मात्र तामाङ पहिचान बच्ने बताए ।

साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाको सिधुवा, नाम्जाङ, सान्ने, पाख्रीवास, चुङवाङ, उत्तरपानी, धनकुटा वजार, भिरगाउँ लगायतवाट ल्होछार प्रेमीहरु हजारौंको संख्यामा सहभागी भएका थिए । प्रतियोगिता आयोजना हुनु पुर्व हिले वजारमा मौलिक साँस्कृतिक ¥याली आयोजना गरिएको थियो । ¥यालीमा हजारौंको संख्यामा स्थानिय हिलेवासीको पनि सहभागिता रहेको थियो । सो अवसरमा हिलेमा रहेका एकल जातिय संस्थाहरुको तर्फवाट आ–आफ्नो मौलिक झाँकी सेमत प्रश्तुत् गरिएको थियो ।

नेपाल तामाङ जिल्ला कार्य समिति, धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान एवं डम्फु सेलो गायन प्रतियोगितामा आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष शुन्दरवावु श्रेष्ठ, नगर र गाउँपालिका घेदुङको तर्फवाट पाख्रिवास घेदुङका अध्यक्ष जयन्द्र घिसिङ तामाङ, एकल जातिय संस्थाहरुको तर्फवाट गणेश पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य जिल्ला घेदुङ धनकुटाका सचिव सन्तवीर लामाले राखेका थिए भने कार्यक्रम संचालन तामाङ पत्रकार संघका केन्द्रिय सदस्य एवं संचारकर्मी मानवी मोक्तान तामाङले गरेका थिए ।